BAGAICHA.COM

Home » General » Currently Reading:

कति कठिन छ विदेशको बसाई

May 18, 2010 General No Comments

कोरङ्गी प्रेम

बिषय प्रबेश:

       तपाई जीवनलाई कसरी सोच्नु हुन्छ ? कसरी बुझ्नु हुन्छ ? जीवन एक संघर्ष हो तसर्थ संघर्षमय जीवन जीउन कठिन छ भनेर या यो एक स्वभाविक प्रकृया हो त्यसैले सरल र सहज छ भनेर । अतः तपाईले भोगेको वा बाँचेको जीवन कस्तो छ भन्ने कुरा तपाईको आफ्नो जीवन प्रतिको सोचाई र बुझाईले निर्धारण गर्दछ । समग्रमा तपाई हामीले बाँचेको वा भोगेको जीवन त्यति सहज र सरल छैन । धेरे नै कठिन र चुनौतिपूर्ण छ । त्यसमा पनि हामी जस्ता अल्पविकसित मुलुकका नागरिकहरूका निम्ति विदेशको बसाई यहाँको सूचना र प्रविधीमा भएको क्रान्तिले गर्दा “फलामको चिउरा चपाउनु” भन्दा पनि कठिन छ । यसका पछाडि के कारणहरू हुन सक्छन संक्षेपमा चर्चा गरौं ।

 

भाषाको समस्या:

       भाषा नै एउटा यस्तो माध्ययम हो जसको कारणले जो सुकैसँग सम्पर्क गर्न सकिन्छ, । सम्बन्ध स्थापित गर्न सकिन्छ । यदि तपाईले कसैसँग उसैको भाषामा कुरा गर्नु भो भने उ सँग तपाईको सम्बन्ध नजिकको  हुनेछ । परिणाम तपाईको काम चाँडै बन्नेछ । यदि नहुने काम रहेछ भने पनि बन्नेछ । बैंक, हुलाक, सरकारी कार्यालय, अस्पताल र काम खोज्ने सवालमा तपाईंलाई कुनै समस्या पर्दैन । तपाईले चाहेका सुविधाहरू सजिलै प्राप्त गर्नु हुनेछ । त्यसको ठिक विपरीत तपाईमा भाषाको समस्या भएमा हरेक क्षेत्रमा समस्या पर्ने छ । भाषाकै कारणले तपाईसँग योग्यता र क्षमता हुँदाहुँदै पनि राम्रो अवसरहरूबाट बञ्चित हुनु पर्नेछ । हामी सोच्दथ्यौं अंग्रेजी भाषा बोल्यो भने कंहि कतै गाह्रो पर्दैन । किनकी यो एउटा अन्तराष्ट्रिय भाषा हो । सबैले बोल्दछ । सबैले जान्दछ । तर विदेशको सन्दर्भमा परिस्थिती फरक हुंदो रहेछ । विकसित मुलुकहरूमा त आफ्नै भाषा बोलिंदो रहेछ । उदाहरणको लागि जापान, जर्मन, फ्रान्स, रसिया, कोरिया, हङकङ आदि मुलुकहरूमा आफ्नै भाषा बोलिन्छ । अंग्रेजी चांहि आवश्यक परेको खण्डमा मात्र बोलिन्छ । हङकङ कै सवालमा पनि आफ्नै क्यान्टोनिज भाषा बोलिन्छ । प्रश्न उठ्न सक्छ । के उनीहरूले अंग्रेजी जान्दैनन् ? बुझ्दैनन् ? जान्दछन्, बुझ्दछन् तर बोल्दैनन् । त्यो उनीहरूको आफ्नो भाषा, सँस्कृती प्रतिको माया मोह हो । तर हामी चांहि २-४ वाक्य अंग्रेजी जान्यौ भने, बोल्यौ भने हाम्रो शान अर्कै हुन्छ, फूर्ति अर्कै हुन्छ । आफुलाई उपल्लो दर्जाको मानिस ठान्दछौं । तर आफ्नो भाषा, सँस्कृती प्रति तिरस्कार गरेको चांहि बिर्सन्छौं । विकशित मुलुकहरूमा आफ्नै देशमा रोजगार, औषधी उपचार, मनोरञ्जन, शिक्षा आदि छ तसर्थ त्यहाँका नागरिकहरू कुनै पनि कुराको निम्ति भौतारिंदै हिंड्नु पर्ने आवश्यकता छैन । तर अल्पविकसित मुलुकका नागरिकहरू रोजगारीको निम्ति अन्यत्र जानु पर्ने भएकोले उनिहरूले त्यस देशको भाषा बोल्नु पर्ने बाध्यात्मक परिस्थिती हुन्छ । अर्काको भाषा बोल्न जान्नु त्यति सजिलो छैन । तसर्थ यी तमाम समस्याहरूका बावजुद पनि विदेशी भूमिमा जीउनु नै छ । अतः सहजै अनुमान लगाउन सकिन्छ कि कति कठिन छ होला विदेशको बसाई ?

 

अनुभव कमि या शिप:

       व्यापार व्यवसाय वा सरकारी कामकाजको सिलसिलामा विदेशमा बस्ने नेपालीहरूको संख्या अत्यन्तै न्यून छ । त्यसको अलवा सबै मजदुरी गर्नेहरू नै छौं । ती मध्ये थोरैसँग मात्र शिप र अनुभव छ । अधिकांशसँग छैन । तसर्थ शिप र अनुभव बिना राम्रो कामको त कल्पना नै नगरौ, काम पाउँन पनि गाह्रो हुन्छ । बिना अनुभव र शिपकै कारणले कामको शिलसिलामा धेरैले अनाहकमा ज्यान गुमाएका छन् । अतः विदेश जानुपूर्व त्यस देशको बारेमा सामान्य जानकारी राख्नु जरुरी छ । जस्तै त्यो देशको भाषा, कामको किसिम, हावा पानी आदि । अल्पविकसित देशका नागरिकहरू विदेश जान पाउँनु नै अहोभाग्य ठान्दछन् । एउटा गाउँमा खेती किसानीमा रमाईरहेको मान्छे एकै चोटी सूचना र प्रविधीसँग पौंठेजोरी खेल्दै कसरी आफुलाई समायोजन गर्दछ होला विदेशमा ? आजको यूग कम्प्यूटरको यूग हो । त्यसैले यसको बारेमा जो कोहिलाई ज्ञान हुन आवश्यक छ । अहिलेको युवा पुस्ता बाहेक अघिल्लो पुस्तामा यसको ज्ञान सायदै होला । तसर्थ आजको सूचना र प्रबिधीले सुसज्जीत मुलुकमा काम गर्न कति जोखिमपूर्ण होला जो कोहिले अनुमान लगाउन सक्छन् ।

 

मानसिक विभेद:

       जो मानिस आत्मविश्वासको धनी छ ऊ आफ्नो लक्ष्यमा अवश्य पुग्छ । जब उसलाई मानसिक रुपमा कम्जोर बनाईन्छ स्वतः उसको हातमा असफलताहरू हात लाग्न थाल्दछन् । विदेशमा हामी जस्ता अल्पसंख्यकहरूलाई हरेक ढंगले भेद्भाव गरिन्छ र मानसिक रुपमा कमजोर बनाउने प्रयास गरिन्छ यहाँका रैथानेहरूद्वारा । एक त हामी अधिकांश मजदुरी गर्ने भएको कारणले पनि हामीलाई हेलाको दृष्टिले हेर्दछन् । नेपालीहरूलाई गोर्खे “भाडाको सिपाही”, फिलिपिनीहरू र ईण्डोनेसियनहरूलाई घरमा काम गर्ने “नोकर चाकर” हरू भन्दछन् भने पाकिस्तानी र अरवियनहरूलाई “आतंककारी” जस्ता नीच शव्दहरू प्रयोग गर्दछन् र उनिहरूप्रति तल्लो स्तरको व्यवहार गर्दछन् । एकताका एउटा चाईनिज अखवारले फिलिपिन भन्ने मुलुक ‘नोकरचाकरहरूको देश’ हो भनेर समेत लेख्यो । त्यति मात्र होइन गत मार्च १७ तारीख २००९ मा नेपाली नागरिक दिल बहादुर लिम्बुलाई हङकङ प्रहरीद्वारा गोली हानी मारियो । दक्षिण कोरियामा हाम्रा दाजुभाईहरूलाई कम्पनिमा काम गरे बापत कम्पनिबाट पाउने सुबिधाहरू माग्दा उल्टै कम्पनिले पुलिस बोलाएर नाङ्गेझार बनाएर नेपाल फर्काई दिएको समाचार पढेका छौं, देखेका छौं । यो हामी अल्पसांख्यकहरू प्रतिको हेपाहा प्रवृती हो । त्यस्तो घटना र समाचारले एउटा स्वाभिमानी नेपालीको छाति कति दुख्छ ? उसलाई कति पिंडा हुन्छ होला ? यी यावत समस्याहरूका बावजुद ज्यानको बाजी थापेर विदेशी भूमिमा जीउँन कति जोखिम होला ? जो कोहिले सहजै अनुमान लगाउन सक्छन् ।

 

अन्त्यमा:

     स्वदेशमा बस्दा सोच्दथ्यौं सुनै सुन फल्छ होला विदेशमा, रुखको पत्ता टिपे झैं पैसा टिप्न पाईन्छ होला विदेशमा । अनि ऐस आराम र सुख सयलको जिन्दगी बाँच्न पाईन्छ होला विदेशमा यस्तै यस्तै….। त्यसैले त हाम्रा सन्तानहरूको असिमित मागहरू हुन्छन् हामी प्रति । जस्तै पैसा, सुन, लत्ताकपडा, घडी, मोवाईल आदि । तर ती सबै मिथ्या रहेछ वास्तविकतामा । यहाँ एक दिन काममा गईएन भने मुखमा माड लाग्न गाह्रो हुन्छ । भोक तिर्खा, सञ्चो विसञ्चोको कुनै लेखा जोखा हुँदैन । आफन्त, नाता गोता र चाडपर्वहरू कसरी आउँछन्, कसरी जान्छन् अत्तोपत्तो हुँदैन । १२ घण्टा, १४ घण्टा रातदिन नभनी टाउको जोत्नु हाम्रो नियती बनेको छ यहाँ । आफ्नो जहान परिवार स्वदेशमा कसरी बाँचीरहेकाछन् ? के गरिरहेछन् ? सुमार्गमा हिडिरहेका छन् कि, कुमार्गमा  लागेर जिन्दगी बर्बाद गरिरहेका छन् ? जस्ता जीवनसँग अति नै सरोकार राख्ने विषयहरू प्रति अनविज्ञ भएर बाँच्नु पर्दाको जिन्दगी कस्तो होला ? कहिलेकांहि आफ्नो जहान परिवार सिकिस्त विरामी पर्दा समेत भेट्न सक्दैनौं । उसको आखिरी घडीमा एक वचन “कस्तो छ ?”  भनेर समेत बोलाउन पाउंदैनौ । आखिर कस्का निम्ति यतिका दुःख ? के का लागि ? तिनै सन्तान र परिवारका लागि । यस्ता संवेदनशिल पक्षहरूसँग सम्झौता गरेर बाँच्नु पर्दाको जिन्दगी कस्तो होला ? जो कोहिले चाहेर पनि बाँच्न सक्दैन । यी यावत पक्षहरूको कारकतत्व भनेको राजनैतिक अस्थिरता हो । जसको कारण मुलुकमा अशान्ती, अमन चयन, भ्रष्टाचार, नातावाद र कृपावाद अति नै मौलाएको खेती बनेको छ । ती कुराहरू माथि निराकरण हुन जरुरी छ । यदि मुलुकमा राजनैतिक स्थिरता कायम हुने हो भने नेपाली जनताले विदेशीनु पर्ने स्थितीको अन्त्य हुनेछ । होइन भने संधै विदेशीको गुलामी बनेर बाँच्नु पर्दाको जिन्दगी कस्तो होला त्यो त भुक्तभोगीहरूलाई मात्र थाहा हुन्छ । यी तमाम विषयहरू प्रति गम्भिर भएर सोच्ने हो भने विदेशको जीवन अत्यन्तै जोखिमपूर्ण छ, नारकीय छ र कहाली लाग्दो छ ।

मावादिन-१, बाघा संखुवासभा

Search This Site:

Comment on this Article:







Related Articles