BAGAICHA.COM

Home » General » Currently Reading:

भतावुङ्गे राजाको लथालिङ्गे दरवार (विजयपुर दरवार)

Aug 17, 2010 General No Comments

दिल पालुङवा लिम्बू “नेपाल कुस्सा”

यो शिर्षक गैह्र लिम्बू इतिहासकारहरूले राखेका हुन् । विजयपुर दरवार लिम्बूराजाको दरवार भनेर लेख्न सकेका छैनन् । यसलाई अति पूर्वाग्रहपूर्व कार्य मान्न सकिन्छ । यो दरवारको वारेमा नेपालका कमैलाई मात्र थाहा होला अधिकांश यसको वारेमा अनविज्ञ छन् । तसर्थ यसवारे केही चर्चा गर्न आवश्यक ठानी यो लेख तयार पारिएको हो । शिर्षकले पनि केही अर्याज्उछ कि राजा पनि भतावुङ्गे दरवार पनि लथालिङ्गे भनेर । यो स्थिती ल्याईपुर्याउने नेपाल सरकारनै हो । केन्द्रिकृत सरकारनै हो । किनकी यो दरवारको संरक्षणमा सरकारको ध्यान नगएकै हो । कारण राजा लिम्बू भएकोले हो । राजा भन्नाले शाह मात्र हुन् र अरु राजाको जानकारी गराउनु हुँदैन लिम्बूहरूलाई पनि राजा थिए भन्दा उनीहरू पनि राजा हुने हैसियत राख्दछन्, लिम्बूवानको माग गर्छन भनेर केन्द्रियवादी शासकहरूले यसलाई साँगुरो दायराभित्र राखे । यो कुराले पनि विजयपुर धेरै हदसम्म विलुप्त भएर रह्यो । तर लिम्बूहरूले संकलन गरेको तथा मौखिक इतिहासको आधारमा अहिले विजयपुर दरवार र राजाको वारेमा व्यापक उल्लेख भईरहेको छ । यो ठाउँ कहा पर्छ भन्ने सवालमा जाऔं । यो प्रख्यात शहर धरानमा पर्दछ । धरान शहर मैदानमा पर्दछ । यो चुरे पहाडको फेदबाट मैदान फैलिएर जान्छ । त्यही ठाउँमा सिरानी जस्तो एउटा सानो लमतन्न परेको डाँडा छ । त्यो डाँडा क्षेत्रलाई विजयपुर भनिन्छ । यो डाँडाको शुरुतिर पिण्डेश्वर मन्दिर तथा संस्कृत क्याम्पस पर्दछ । त्यसको छेउबाट सेवती खोला वग्दछ । केही मास्तिर दन्तकाली मन्दिर क्षेत्र पर्दछ । त्यसमास्तिर वुढासुव्वा मन्दिर छ । यहाँ टुप्पा नभएको बाँस पाईन्छ । त्यसमाथि पन्चकन्या मन्दिर छ । त्यसको छेवैमा विजयपुर दरवारको भग्नावशेस छ । यो नै भतावुङ्गे राजाको लथालिङ्गे दरवार हो । त्यसपछि भेडेटारतिरको पहाड आईपुग्छ । तर भेडेटारतिरको अग्लो पहाड र यो दरवारक्षेत्रको थुम्को जोडिदैन त्यहाँ विचमा घाँटी रहेको छ । यो दरवार अति सुन्दर ठाउँमा अवस्थित छ । यहाँ सालको रुखहरू छन् । पुराना ठूला आकारका ईटाहरूको गारो देखिन्छ । पहिले पहिले यो दरवारको कुनै संरक्षण थिएन । लथालिङ्ग थियो । पछिल्लो अवधिमा फलामे तारले वारवेर गरिएको छ । खोई किन हो यो दरवारलाई धरान नगरपालिकाले पनि सौताको व्यवहार गरिरहेकोछ ।यतापटि्ट ध्यान पुरयाउन सकेको छैन । यो दरवार कस्तो थियो कसैले भन्न सकेका छैनन् । यद्दपी यही दरवारमा वि.सं. १८३१ मा लिम्बू मन्त्रीहरू सुन राय, कुम राय, सृजङ राय लिम्बूहरू र गोर्खाहरूसँग नुनपानीको सम्झौता भै गोर्खाले लालमोहर प्रस्तुत गरेको थियो । त्यो बेलाको राजा वुद्धिकर्ण खेवा लिम्बू थिए । उहाँलाई वुद्धिकर्ण राय पनि भनिन्थ्यो । उनी सहयोग जुटाउन तिव्वत गएका वेलामा सम्झौता गर्न वाध्य भएकोले गरिएको थियो । उनलाई केही वर्ष पछि गोर्खाहरूले हत्या गरे । यो विजयपुरमा यीनै वुद्धिकर्णले अन्तिम समयतिर राज्य गरेका थिए । यो विजयपुर राजधानी हो । यो देशको नाम मोरङपनि भनिन्थ्यो । यसको सिमाना उत्तरमा भेडेटार, दक्षिणमा जलालगढ, पूर्वमा टिस्टा र पश्चिम चतरा सप्तकोशी थियो । विजयपुर लिम्बूवानको केन्द्रीय राज्यको रुपमा रहेको थियो । अन्य थुमहरू स्वायत्त राज्यको रुपमा रहेका थिए । वुद्धिकर्णलाई अमानवीय तरिकाले पीटेर गोर्खाहरूले हत्या गरेका थिए । उनको स्वास जान चार पाँच दिन लागेको थियो । उनको समाधी उनलाई हत्या गरेको ठाउँमा गरिएको थियो । गोर्खाको शक्तिको वावजुद लिम्बूहरूले शुरुमा उनको सम्झना गर्न मात्र थाले । हुँदाहुँदै उनी भगवानको रुपमा स्थापित भए । उनलाई विजयपुरका वुढा सुव्वा भनिन्छ । उनको नाममा पुजा गर्दा फल प्राप्त हुने आम विश्वास छ । उनी धरानका सवैभन्दा बढी पुजिने भगवान हुन् । यो विजयपुर क्षेत्रमा पहिला साङलाईङ वंशी लिम्बूले राज्य गर्दथे । यो वंशले हिन्दूमत लिएकोले एउटा प्रख्यात राजाले विजयनारायण नाम राखेका थिए । उनैको नामबाट त्यो क्षेत्रको राज्यको नाम विजयपुर रहन गएको हो । त्यसपछि त्यहाँ सेनवंशीहरूले पनि राज्य गरे । वुद्धिकर्णको पूर्खा लगायत वुद्धिकर्णले पनि राज्य गरे । त्यस्तै अथिङहाङ लिम्बू भन्ने मावोहाङ वंशीले पनि राज्य गरे । यद्यपी वि.सं.१८३१ तिर वुद्धिकर्ण राजा थिए । वुद्धिकर्ण छ थरका खेवावंशी लिम्बू हुन् । यसरी लिम्बू राजा हुनु र उनको दरवार हुनु नै यसको गतिमति लथालिङ्ग हुनु रहेको स्पष्ट छ । पहिले पहिले वुढासुव्वाको महिमा त्यति हुँदैनथ्यो । तर समय क्रममा धरानमा लाहुरे बसोबास भयो । लिम्बूहरूको घनत्व वढ्यो । तव वुढा सुव्वाको महिमा वढेर गएको हो । यसरी मृतक वुढा सुव्वाको महिमा वढोत्तरी भएको अवस्थामा उहाँको दरवारमा कसैको आँखा परेको छैन । त्यसैले यतापटि्ट पनि सवैको ध्यान जान आवश्यक छ । यो दरवार भनेको धरानको सम्पत्ति हो । लिम्बूवानको सम्पत्ति हो । नेपालको सम्पत्ति हो । त्यसैले यसको संरक्षण र सम्बर्द्धन गरिनु पर्दछ । वुद्धिकर्णको मुर्ति त्यहाँ वनाईनुपर्छ, दरवार क्षेत्रमा पर्खाल लगाईनुपर्छ, स्मारिका वनाईनुपर्छ त्यसो भएमा यसको आफ्नै महत्व रहन्थ्यो । सर्वप्रथम स्थानीय लिम्बूहरू सक्रीय हुनुपर्यो, धरान नगरपालिका पनि । अनी सरकारलाई पनि दवाव दिनुपर्यो । धरानवासीहरूले पनि ध्यान केन्द्रीत गर्नुपर्यो । घण्टाघर वनाउन सक्ने हङकङवासी धरानेहरूले पनि त्यो क्षेत्रको विकास गर्न सक्दछन् । त्यस्तै लिम्बूवान स्वायत्त स्थापना गर्न चाहनेहरूले पनि यो दरवारको संरक्षण र संवर्द्धनमा ध्यान दिनुपर्ने देखिन्छ । कामना गरौं यो कार्य चाँडै हुनेछ । सेवारो ।

Search This Site:

Comment on this Article:







Related Articles