BAGAICHA.COM

Home » General » Currently Reading:

तीजले दिएको सन्देश

Sep 21, 2010 General No Comments

भूपेन्द्र चेम्जोङ

हिन्दू  नेपाली नारीहरूको चाड तीज हालै मात्र समाप्त भएकोछ । तीज पर्व नेपाली हिन्दू नारीहरूको एकमात्र महान् चाड हो । तीजपर्वलाई नेपालका  विग हाउस भनिने मिडियाहरूले अत्यन्तै चर्चामा ल्याए । देशमा समतामूलक वहुसंस्कृतिक तथा वहुभाषिक तथा भौगोलिक विविधतालाई सम्वोधन गर्दै धर्म निरपेक्ष संविधान वनाउने तरखरमा नेपालको संविधानसभा रहेको अवस्थामा आफूलाई विग हाउस भन्ने तर जहिले एकीकृत नेपाल राज्य र जातीय स्वयत्ताको विरोधी आवाजहरूको नेतृत्व गर्दै आएका मिडिया तथा सरकारी संचार माध्यमहरूले तीजलाई अतिरंजित ढंगले प्रचार प्रसार गरे । सानातीना तीजका कार्यक्रमहरूमा समेत मंत्री महोदयहरू उपस्थिति भएर तीजको महिमा गाए । सम्पूर्ण नेपाली महिलाहरूको एकमात्र तीज भने। यस्ता क्रियाकलापले नेपालका सत्ताधारीहरू पुनः धर्म सापेक्ष राज्यको लागि जनमत जुटाउन लागेकाछन् भन्ने अनुमान हामी गर्न सक्छौ । सत्ताच्युत भएका पूर्वराजा ज्ञानेन्द्र आफू हिन्दू धर्ममार्फत सत्तामा छिर्ने प्रयास गरिरहँदा नेपाल सरकारले तीजलाई प्राथमिकताकासाथ सवै नेपाली नारीहरूको नाममा मनाइरहनु कागताली मात्र नहुन सक्छ । तीज वा दशैं जस्तै ल्होछार, चासोक तङनाम, भिन्तुना वा अन्य चाडहरूलाई नेपालीहरूको महान् चाड भनेर यी विग मिडियाहरूले वा नेपालका मंत्रीहरूले अवश्य भन्ने छैनन् । उनीहरूले किरातीहरूको चाड चासोक तङनाम, वौद्ध मार्गीहरूको चाड ल्होछार वा गुरुङ वा तामाङको ल्होछार भनेर अवश्य अगाडि विशेषण झुण्डिनेछन् । तसर्थ हामीसंग दुईवटा नेपाली चाडहरू हुने भए एक थरी चाडहरू नेपालीका अर्का थरीका चाडहरू जातीय चाडहरू जसलाई नेपाली चाड भन्न हिच्किचाइन्छ । यसले एक किसिमको विभेद सृजनागर्नेछ । देश भित्र रहेको चाडपर्वहरूको विभेद जसलाई हिन्दू संस्कृतिको दवदवा भन्न सकिन्छ । भाषाको कुरामा पनि त्यही कुरा लागु गर्न खोजिएको छ । खस नेपाली भाषालाई नेपाली राष्ट्रिय भाषा र अन्य जातजातिका भाषाहरूलाई राष्ट्रभाषा । यसरी भाषिक रुपमा समेत विभेद सृजना गरिदै आएको छ । जुनकुरा आजको समानुपातिक तथा समावेसी समाजमा अस्वीकार्य हुन्छ ।

नेपाल वाहिर जाने हो भने पनि आज त्यही कुराको झल्को पाउँछौ । आफूलाई विग मीडिया भन्नेहरूले आफ्ना वेवसाईटका टाउकामा ठूलाठूला अक्षरले तीज चाडको प्रचार प्रसार गरे । तीज पर्व अति उत्साह, भव्य र धुमधामका साथ मनाइयो भनेर जोड दिएका पाइयो । यसबाट के वुझ्न सकिन्छ भने विदेशी मुलुकमा नेपाली संस्कृति भनेर चिन्नलाई हिन्दू सास्कृतिलाई अगाडि ल्याउने प्रयत्न भइरहेको  भन्ने स्पष्ट वुझ्न सकिन्छ ।विडम्वनाको कुरो आफूलाई जनजाति आदिवासी हुँ भन्नेहरूद्वारा नै तीजको विषयलाई लिएर सर्वसाधारणलाई अल्मल्याउने प्रयत्न गरिंदैछ । हङकङका आदिवासी जनजाति भनिने केही लेखकहरू समेतले तीजपर्वलाई नेपाली चाडको रुपमा स्थापित गर्न र हिन्दू धर्म नेपाली आदिवासी नारीहरूमा स्लोप्वइजनको रुपमा भित्र्याउन लागिपरेकाछन् । कतिले वुझेर वा कतिले नवुझेर ।

नमोवुद्ध आमा समूहले तीज पर्वको आयोजना गरेको पाइयो  र सो संस्थाका अध्यक्ष तीजमेलामा प्रमुख अतिथि भए । त्यस्तै यसवर्षको आदिवासी चेली घोषित व्यक्तिले तीजपर्वमा संचालकको भूमिका निभाइन् ।नेपाली आदवासी जनजाति महासंघका उपाध्यक्ष वाग्लुङगे तीजे मेलामा प्रमुख अतिथि ।नमोवुद्ध आमा समूह नामैले वौद्ध धर्म अन्तरगतको संस्था हो । यसको वौद्ध गुम्वामा वुद्धको पूजा आजा हुन्छ । यस संस्थाको उद्देश्य वुद्ध धर्मलाई परिस्कृत गर्नु र गौतम वुद्धको सन्देश विश्वभरि फैलाउनु नै हो तर हिन्दू धर्मको प्रचार प्रसार गर्नु र आदिवासी महिलाहरूमा हिन्दू धर्म प्रचार गर्नु पक्कै होइन । त्यसैले नमोवुद्ध आमासमूहको कृयाकलापले नेपाली समुदायमा सन्देश के दिन सक्ला एकचोटि गम्भिर भएर सोच्नु पर्ला कि ? त्यस्तै नेपाली आदिवासीहरू चेलीहरूलाई दिइने सर्वोच्च सम्मान नेपाली आदिवासी चेली हो हङकङको परिवेशमा ।आदिवासी चेलीले आदिवासीहरूको चाडलाई वढाउनको सट्टा हिन्दू नारीहरूको चाडलाई नेपाली सवै नारीहरूको चाड भन्दै आदिवासी चेलीहरूमा हिन्दू धर्मको मोह फैलाउने सहयोग गर्न हुन्छ कि हुन्न ? नेपाली आदिवासी जनजाति महासंघद्वारा सम्मान गरिएका आदिवासी चेलीहरूले महासंघको कुनै अनुसाशनको पालना गर्नु नपर्ने हो र ? हङकङमा हुने गरेका मिस नेपाल हङकङ, मिस पर्ल, ट्यालेन्ट हन्ट जस्ता विजेताहरूले त सामान्य रुपमा एक वर्षसम्म केही न केही नियम पालन गर्नुपर्ने हुन्छ । कुनै त्यस्ता विवादास्पद कार्यक्रमहरूको उपस्थितिमा सम्वन्धित संस्थाको अनुमति लिनुपर्ने हुन्छ । हाम्रा आदिवासी चेली कल्पना तुम्व्रोकले आदिवासी जनजाति महासंघबाट अनुमति लिइन कि लिइनन् ?

आज आफूलाई स्वतन्त्र भन्ने संस्था मोना, फियोना तथा वाग्लुङ समाज जस्ता आदिवासी जनजातिहरूको वाहुल्य भएको संस्थाहरूले तीज पर्ववलाई सम्पूर्ण नेपाली नारीहरूको पर्वको रुपमा स्थापित गर्नु खोज्नु कतै आफ्नो पहिचान आफै गुमाउन सहयोग गर्नु त होइन ? फेरि ती संस्थाहरूले तीज तथा दशै तिहार वाहेक अन्य आदिवासी जन्य नेपाली पर्वहरूको वास्ता गरेको पनि देखिएको छैन । त्यसो भए अव ती संस्थाहरूलाई हामीले कसरी वुझ्ने ? आज नेपाल राज्यले समेत जात जाति तथा धर्मका चाडपर्वहरूलाई मान्यता दिदै धमाधम ती जाति या धर्मावलम्वीहरूलाई ती दिनहरूमा राष्ट्रिय विदा घोषणा गर्न लागेको अवस्थामा विदेशमा चाहि के नेपाली संस्कृति भन्नाले हिन्दू संस्कृति वाहेक अरु संस्कृति स्थापना गर्ने संभावना कतै देखिएको छैन ? त्यसमा ९८ प्रतिशत नेपाली आदिवासी वसोवास गर्ने हङकङमा हिन्दू चाड वाहेक अन्य नेपाली चाड हङकङमा  स्थापित हुन सक्दैन ? यी यावत प्रश्नहरू जन्मन वाध्य भएकाछन् हाम्रा क्रियाकलापले ।

आदिवासी नारीहरू परपूर्वदेखि स्तन्त्रछन् । उनीहरूमा वेहुला खोज्ने संस्कार कहिले छैन । वरु वेहुलाले दुलही खोज्दछ । आदिवासी वुहारीले सासु ससुरा वा श्रीमान्संग चित्त नवुझेको कुरा तुरुन्तै जवाफ दिन मिल्ने हुनाले विलौना पोख्नको लागि तीज पर्खन पर्दैन । उनीहरूमा रातो सारी, चुरा, टीका वा पोते अनिवार्य हुँदैन । तर तीजमा देखा सिखी गर्दै रातो साडी अनि चुरा पोते र सिन्दूरको चलनले भविष्यम त्यही संस्कृति स्थापित भएर उनीहरूको वास्तविक संस्कृति धरासायी हुने धेरै सम्भावना वढेर गएकेा छ ।  पृथ्वीनारायणकै सोचाईमा हिन्दू चाडहरूलाई विदेशमा स्थापित गर्न खोजिदैछ । एकताको छाला ओडेर हिन्दू संस्कृति नेपाली संस्कृतिको नाममा उभाइनु खोजिदैछ  । यो अत्यन्दै दुखदायी र जातीय हैकमको चरम सीमा हो । 

तसर्थ चाड पर्व आयोजना हुँदा आफ्नो पहिचान खोज्नु जरुरी छ । तीज पर्व, दशैं तिहार, इद, उधौली, चासोक, ल्होछार वा माघे संक्रान्ति वा छट पर्व सवै नेपालीका चाडहरू हुन् सवैले स्वेच्छाले मनाउन पाउनु पर्दछ र रमाउनु पाउनु पर्दछ तर कुन चाड कुन जाति वा विशेष धर्मको पहिचान हो भन्ने कुरालाई भुल्न हुन्न किनभने नेपाली भन्ने राष्ट्रियता एक सिंगो एक जाति होइन । यहाँका संघसंस्थाहरूले चाडपर्ववहरू मनाउँदा समानुपातिक तथा समतामूलकताको सिद्धान्त अपनाउनुपर्दछ ।

Search This Site:

Comment on this Article:







Related Articles