BAGAICHA.COM

Home » General » Currently Reading:

किराँत धर्म के हो र किन मान्ने ?

Aug 22, 2011 General No Comments

ललित आङवुहाङ्ग (लिम्बू)

किराँतीहरू सर्वप्रथम आगो, हावा, पानी, माटो, आकाश मान्ने भएकाले प्रकृतिक पुजक हुन्‌ । किराँती समाजमा येहाङले किराँती रक्षाको लागि दिएको धर्म दर्शनलाई पुर्णता दिने कार्य महिगुम अंसिमामाङ फाल्गुनन्द लिङदेनज्यूले आफ्नो जीवन भर गर्नुभयो । जति पनि लोप भएका जीवन र जगतको विषयमा विश्लेषणात्मक सोचाई राख्ने प्रमुख आधारमध्ये अध्यात्मिक माध्यम एक प्रमुख हो । हुनत आजको २१औँ शताव्दीमा आएर धर्म भनेको केवल आस्था र विश्वाश हो । हामीले (किराँत भाषामा) तागेरानिंवाभुमाङ वा माङ भन्छौ भने कसैले ईश्वर, भगवान, गड, अल्लाह, आदि भन्ने गर्दछ्न्‌ । उनै सृष्टिकर्त्ताले समयको अन्तरालमा सृष्टिको कान्छो सन्तान (मानव)को रूपमा, कसैको छोराको रूपमा, कसैको बाबुको रूपमा, कसैको पतिकोरूपमा कोही ब्रम्हचारी त कोही संसारीक जीवन भएर दिएर गए । तापनि उहाँहरूले बोलेका कुराहरू जिवित नै छ्न्‌ ।

संसारको कुनैपनि भागमा जव अज्ञानता र पापहरूले भरिन्छ तव सो ठाउँमा बसोबास गर्नै मानव जातिको कुल वंशमा माङ स्वयं ज्ञानको ज्योति लिएर आज यस संसारमा पाप संधार गर्न मानव खोक्रोमा ज्ञानी, बिर पराक्रमी मानिस भई जन्म लिएर आएको पाईन्छ । जस्तै, राम, कृष्ण, यशु, सावायेहाङ, लेप्मुहाङ, कान्देडहाङ, मावोहाङ, श्रीजङ्गा, फाल्गुनन्द र वर्तमान अङसिमाङ आत्मानन्द लिङदेन । वास्तविक कर्त्तामा हेर्ने हो भने व्यक्ति, परिवार, जाति, संम्प्रदायमा टुङगिने गर्दछ । तसर्थ कुनै पनि धर्मले विश्वशान्ति तथा मानबताको विस्तृत ब्याख्या गर्ने क्रममा मौलिक पहिचानलाई सर्वोपरि ठानेको हुन्छ । र त्यही मौलिकतालाई उजागर गर्ने क्रममा त्यो धर्मको दर्शन निमार्ण भएको हुन्छ । जहाँ त्यस जातीएवं सम्प्रदायलाई चिनाउने संस्कार संस्कृति, भाषा, लिपि, मात्र जिवित नभई सिगोमानवता नै बाँचेको हुन्छ । यदि सवैले सत्य स्वीकार्ने हो भने ईश्वर (माङ) एक छन्‌ । ईश्वरको लागि कुनै भेदभाव छैन, कुनै साँधसिमाना छैन, कुनै जातभात छैन । धर्म त सधैं सत्य, पवित्रछ, न्यायप्रिय छ । तर मानिसले धर्मको आडमा आफ्नो इच्छा, लोभ, वास्ना, अहंकार, स्वार्थको परिपुर्ति गर्न शुरु गरेको देखिन्छ । मान्छेले जन्माएको सामाजिक विकृतीहरूलाई अन्त्य गर्न चाहने क्रान्तिकारी छ । धर्मले अन्याय, अत्याचारको विरोध गर्ने न्यायकारी मान्छेको जन्मदि एकोछ । यसमा कोही धनि, गरिव, सानो, ठुलो, जातपातको भेदभावलाई हटाउने समानताको पक्षपाती छ । सधै साँचो सत्य सहि कुरालाई मान्यता प्रदान गर्ने वैज्ञानिक छ । सत्य भन्नुनै विज्ञान हो किनकी विज्ञान भन्नुनै जाँचेर, निरिक्षण गरेर प्रयोग गरेर सत्यता सावित गर्नु हो । विज्ञान र धर्म एक अर्कामा परिपुरक हुन्‌ । त्यसैले हामी भन्ने गर्छौ ध्यान विना ज्ञान र ज्ञान विनाको विज्ञान हुन सम्भव छैन।

किराँत धर्मलाई विगत दिनहरूमा नयाँ धर्मको रूपमा बूझिन्थ्यो, बूझाइन्थ्यो तर शताब्दीयौं देखि जतिबेला आज जस्तो लिम्वु, राई, मगर, गुरुङ, सुनुवार, धिमाल इत्यादि भने झै वेगल जात र वेगल थर थिएन त्यस वेला नै अस्तित्वमा रहेको यो धर्मको नामाकरण (न्वारान) भने महिगुम अङसिमाङ फाल्गुनन्द लिङदेनज्यूले भविष्य वाणी गर्नु भए झैँ वर्तमान धर्मगुरू आत्मानन्द लिङदेनज्यूद्वारा नामाकरण हुन पुगेको हो । किराँत धर्म (किराँती हो) भनेर दावी गर्ने सम्पूर्ण जातको परिवेशमा हुर्केको यो किराँत धर्म कुनै जाति विशेष, पन्थ विशेषमा मात्र आवद्ध छैन किनकी यो आफैमा विविध संस्कार, सस्कृति, भाषा, लिपी, भएको एक छुट्टै दर्शन भएको धर्म हो । हुनसक्ला यसमा कुनै जाती बिशेषको जस्को विविध पक्षमा बाहुल्यता होला तर त्यो नैसर्वोपरि र पूर्णता ठान्नु हुँदैन ।

ओततागेरा निङवाभमाङ (ईश्वर) लाई पुज्ने, मनाउने, भावना पोख्ने एवं माग राख्ने इत्यादि क्रममा किराँतीहरूको जातिय भिन्नता अनुसार देश, काल, परिस्थिती अनुसार मौलिकता ठानी संस्कार, संस्कृती, एवंभाषा, लिपीलाई मुख्य नजर राख्दै जे जसरी सेवा गरेपनि त्यो किराँत धर्म नै हो । कर्म काण्डमा विविध कारणले परिबर्तन आउन सक्छ । तर दर्शन अपरिर्वतनिय रुपमा रहिरहेको हुन्छ । त्यसैले बर्तमान किराँत धर्मले अगाडि ल्याउन चाहेको वास्तविक पक्ष के हो ? सत्य पक्ष के हो ? के कुरालाई अगाडि ल्याउन खोजिएको छ । के को लागि जुटाउन खोजिए को हो ? यस धर्म भित्रको साक्षात पक्षहरू के हुन्‌ आदि इत्यादि खोतल्न गहिरिएर लाग्नु पर्ने दिनआई सकेको छ । वर्तमान अवस्थामा किराँत धर्म भित्रका कर्म काण्डिय पक्षमा वाद विवाद गर्नु, तर्क वितर्क गर्नुभन्दा किराँत धर्म दर्शन वारे चिन्तन मनन गर्नु, यसलाई युग युगान्तरसम्म बचाउदै सर्वत्र मानव उपयोगी कार्यमा लाग्नु आजको आवश्यकता हो । सायद यसैमा किराँतहरूको भलाई हुनेछ अस्तित्व बाँचिरहने छ । र बुद्धिमानी पनि ठहर्नेछ । साथै किराँत भएर किराँती हुनुमा गर्व गर्न सकिनेछ ।

   कुनै पनि धर्मको जड भनेको दर्शन पक्ष नै मूल पक्ष हो । धर्म र दर्शन विच कटु सत्य सम्वन्ध रहिरहेको हुन्छ । अर्को तर्फ विर्सनै नहुने सवल पक्ष भनेको दर्शनदाता अर्को अभिन्न पक्ष हो । किराँत धर्म भित्र पनि दार्शनिक पक्ष भनु या त दर्शनदाता । उहाँहरूको विषयमा कलम चलाउदा केवल सुरु मात्र हुन्छ अन्त्य हुन गाह्रो वा धेरै समय लाग्छ अत: सेकेन्ड, मिनेट, घण्टा, संक्षेपमा कुरालाई पुरा गर्न मात्र होइन पारदर्शक बनाउन दर्शनदाताहरूको उल्लेख गर्नु पर्ने हुन्छ।

इतिहासको पानामा सुनौलो अक्षरले अंकित भएको किराँत सभ्यता, किराँतशाशन, किराँतराज्य, किराँतभूमि, १६ सय वर्ष भन्दा बढि शाशन गरि वर्तमानमा छिन्नभिन्न अवस्थामा रहेको किराँतीहरूको किराँत धर्ममा नवश्रृष्टीको शुरुवातसँगै शाशन र शाशकको थिचाई, मिचाई र किचाईमा परेतापनि ‘सत्य कहिल्यै मर्दैन’ भने झै आजको घडिसम्म सत्यलाई बचाउने क्रममा हाम्रो किराँत मुन्धुममा दर्शनदाताहरू क्रमशः सावायेहाङ, सोधुगेनलेप्मुहाङ, कान्देनहाङ, मावोहाङ, श्रीजङ्गा, फाल्गुनन्द र र्वतमानमा आङसिमाङ आत्मनन्द लिङदेन हुनुहुन्छ ।

संसारको विषयमा हर्नै हो भने विभिन्न धर्महरूको हस्तिहरूले, मानवहरूले धर्मलाई खाई पचाई आफ्नो कुरा सवै संरक्षित गरि अरुलाई लोभ्याउदै छन्‌ । पृथ्वी हैन चन्द्रमामा बस्ती बसालौँ भन्दैछन्‌ । २१ सयौं वर्ष अगाडि क्राइस्ट जन्मेको, २५ सयौं बर्ष अगाडि वुद्ध जन्मेको त्यस्तै गरि मोहम्मद, राम, कृष्णहरू यस संसारमा जन्मेर मरेर गए तर आज उहाँहरूको वाणिलाई सन्चित वा जिउँदो राख्न लाखौ, करोडौ पर्ने चर्च, गुम्वा, मस्जितहरू असंख्यामा वनाइएकोछ, किन बनाइयो होला ? किन रात दिन भक्तजनहरू पूजा, आर्चना गरि सेवा गरेका छन्‌ । आफ्नो जयजेथाले भ्याएसम्म खुलेर आर्थिक सहयोग पनि गरेका प्रसस्तै सुन्न, पढन पाएकाछौं । तर आफ्नो धर्मको निम्ति छेपारोको कथा झै पानी पर्दा मात्रै घर चाहिने अन्य वेला चाही कागतालीमा हिड्‌ने हामी किराँतीहरू आफ्नो धर्म, भाषा, लिपि, संस्कार, सस्कृतिको कुनै प्रवाह नराखी यो वा त्यो भन्दै आफुले आफैलाई नचिनी, इतिहास मेट्न खोज्दैछौं । आफुलाई आधुनिक विचारवादी, विज्ञानवादी भन्नेहरू खोज, अध्यन, अनुसन्धान नै नगरी किराँतीहरू अरे र भरेको भरमा अन्धविश्वासमा हिडेको देखिन्छ । मृगले मर्ने बेलामा आफ्नो विनामा थुतुनो परेझै हामी किराँतीहरू पनि मरेपछि कता छ पुजारी कता छ वेद क ता छ संस्कार भन्दै दिउँसै वत्ती बालेर खोज्ने वेला आएको छ । जस्तो ज्वलन्त उदाहरण यहाँहरूले देखिसक्नु भएकोछ । त्यसर्थ अरे र भरेको पछि नलागी यथार्थ के हो मुल्याङकन, परिक्षण, खोज, अनुसन्धान, अध्यन गरि विज्ञानवादी वनि आउँदो दिनहरूमा लागौँ भन्ने मेरो अनुरोध गर्दै माङसेबाट टक्राउदछु ।

सेवारो ।

Search This Site:

Comment on this Article:







Related Articles