BAGAICHA.COM

Home » General » Currently Reading:

नेपालमा दोस्रो जहानीयां शासन र धिपधिपे पन

Sep 15, 2011 General No Comments

दिल पालुङवा लिम्बु (नेपाल कुश्सा)

चरम क्रान्तिकारी पार्टी माओवादीलाई पनि अलमल्याएर थचार्न सफल कांग्रेस र एमाले अहिले एउटै ड्याङमा लामबद्ध लागिरहेका छन् ।उही कोही सप्रेको कोही कम सप्रेको मात्र फरक हो । संविधान निर्माण गर्न जनताहरूले खुसीसाथ पठाएकाहरू अहिले संघीयता, शासनको स्वरुप, निर्वाचन प्रक्रिया आदिमा नराम्ररी अल्झेर बसेका छन् । यसमा ठूलो भूमिका बाहुनवादले खेलेको छ । नेपालमा विभिन्न आदिवासी जनजातिहरू छन् । उनीहरू पृथ्वीनारायण शाहको पालादेखिनै पाखा पारिँदै ल्याईएको थियो । यो क्रम अझै जारी छ । राणा कालमा आदिवासी जनजातिहरूलाई पढ्न दिईएन । जंग बहादुर राणाले जहानिया शासनको फाईदा राम्ररी लिए । त्यसैको क्रेडिट स्वरुप अहिलेसम्मै राणाहरू बाँचिरहेकाछन् । वि.स. २००७ साल पछि वि.सं. २०१७ सम्म जननिर्वाचित सरकारले अधिकार पाएतापनि उप्रान्त महेन्द्रको निरंकुश पञ्चायती व्यवस्थाले एउटै भाषा, एउटै भेषको निती ल्याएर आदिवासी जनजातिहरूलाई अंध्यारोमा थुनेर राखे । वि.सं. २००७ सालका प्रजातान्त्रिक आन्दोलनका हस्तीहरू आदिवासी मूलकै थिए । जस्तै जि.बि. याक्थुङवा, बि.बि. चेम्जोङ लगायत धेरै लिम्बुहरू थिए । उनीहरू सबै भारतमा पढेलेखेका शिक्षित थिए । त्यस्तै नारदमुनी थुलुङ, राम प्रसाद राई आदिहरू राई समुहका थिए । त्यस्तै पश्चिम पट्टीका गुरुङ, मगर, थारु आदि थिए । वि.सं. २००७ को क्रान्ति लिम्बुवानमा व्यापक भएको थियो । तसर्थ कांग्रेसले लिम्बुवानबाट राणाहरूको शासन ध्वस्त पारेर लिम्बुवान प्रान्तिय सरकार गठन गर्न वाध्य भएको थियो । कांग्रेसमा लाग्ने लिम्बुहरू बाहेक कतिपय लिम्बुवानवादीहरू आफ्नै लिम्बुवानवादी संगठन खोलेर लिम्बुवान स्टेटको माग गर्दै लड्नेहरू पनि थिए । त्यसमध्ये उल्लेखनीय रुपमा विजय बहादुर लिम्बुको नाम आउँछ । उहाँको एक समुह तेह्रथुम पाँचथरको सरकारी प्रहरी पोस्टहरू ध्वस्त बनाउँदै ईलाम हान्ने क्रममा मंगलबारे भन्ने ठाँउमा राणा कांग्रेसको फौजसँग लड्दा एकै ठाँउमा १३ जनाजति हताहत भएका थिए । त्यहाँदेखि लिम्बुवान स्टेटको अभियान क्रमश निस्तेज भयो । यद्दपी लिम्बुवानमा कांग्रेस ल्याउँन लिम्बुहरूले ठूलो योगदान गरेका थिए । तर उनीहरूले मान्दै ल्याएका नेता वि.पी. ले राज्य रजौटा उन्मूलन ऐन ल्याएर लिम्बुहरूलाई लोप्पा ख्वाए । उनीहरू कांग्रेससँग विमुख भए । अनी महेन्द्रको पालामा महेन्द्रले केही गर्ने आश देखाउँदै लिम्बुहरूलाई शाहवंशद्वारा दिएको लालमोहरको निरन्तरता गर्दै वि.सं. २०१७ मा नविकरण गरे । लिम्बु आदिवासीहरू अति खुसी भए । तर वि.सं. २०२१ मा भूमिसुधार भन्दै लिम्बुहरूको किपट उडाई दिए । राजनिती रुपमा लिम्बुहरू अति कमजोर बनाईए । यही क्रम अन्य आदिवासी जनजातिहरूमा भयो । यद्दपी फकाउँनको लागि महेन्द्रले सानातिना हैसियत रहेको मन्त्री बनाए । तर एक भाषा भेष र धर्मको कारण आदिवासी जनजातिहरू अझ पछि पर्दै गए । किनकी भाषा र धार्मिक समस्याले उनीहरू अगाडि बढ्न सकेनन् ।

इतिहासमा यसरी गुज्रदै आएपछि अहिलेसम्म उही परिपाटी चलिरहेको छ । देश अहिले बाहुन जातिय एकाधिकारमा नराम्ररी फसेको छ । आदिवासी जनजातिहरू पनि आफ्नो हितको लागि संघर्षरत छन् । उनीहरू पनि कहिले समानुपातिक भन्दै कहिले समाबेसी भन्दै अहिले आएर संघीय शासनको वकालत गरिरहेका छन् ।

आदिवासी जनजातिहरू अहिलेसम्म सत्तामा नभएकोले मागकर्ताको रुपमा रहेका छन् । सत्तामा बाहुनक्षेत्रीहरू रहेका छन् । तर एउटा यथार्थ चाँही के रहेको छ भने संघीय राज्यमा अहिलेजस्तो हाली मुहाली उनीहरूले गर्न पाउँदैनन् । उनीहरू उच्च पदमा पुगे तापनि संविधान संमत काम गर्नुपर्ने हुँदा  बाहुनवादीयता उन्मुख हुँदैन । तसर्थ सत्ताको स्वाद चाखेका यी जातिहरू सँधैभरी सत्ता आफ्नो मुठ्ठीमा राख्न चाहन्छन् । संघीय शासन व्यवस्थामा आफ्नो जातिय एकाधिकार नहुने हुनाले उनीहरू अहिलेनै धेरै  प्रधानमन्त्री हुन चाहिरहेका छन् । पालैपालो प्रधानमन्त्री भएर धेरै बाहुनहरू प्रधानमन्त्री या सत्ता चलाएको इतिहास बनाउँन चाहन्छन् । त्यस्तै धेरैजना सरकारी उच्च ओहोदाको कर्मचारी हुन चाहन्छन् । सत्ताको बागडोर, सरकारी ढुकुटीबाट पुस्तौपुस्ता पुग्ने सम्पत्ति आर्जन गर्नु उनीहरूको उद्धेश्य रहेको छ । यसमा उनीहरू  केही  हद सम्म सफल हुनेछन् तर अती हुन थालेपछि जनताले उनीहरूलाई वढार्नेछन् । तबमात्र खाँटी प्रजातन्त्र, समाजवाद नेपालमा आउँनेछ । जुन समयले आफै ल्याउँनेछ ।

नेपालमा भएको बाहुनवादको जरो दह्रो छ । पहिला यही बाहुनवादले राजतन्त्र टिकाएको थियो । राजतन्त्रलाई यही बाहुनवादलेनै ढाल बनाएका थिए । जनजातिहरूसँग सामिप्य राख्न चाहने राजतन्त्रलाई उनीहरूको एकलो पेवा बनाएर खस भाषा, हिन्दू धर्म संस्कार संस्कृति आदिवासी जनजातिहरूमा लादे । वाहुनवादी राणाहरूको पालामा बाहुनले पढ्न हुने आदिवासी जनजातिहरूले पढ्न नहुने बनाए । पढेमा जिब्रो थुतिदिने हात काटिदिने यीनै हुन् । अन्धकारमा बस्न वाध्य आदिवासी जनजातिहरू थिए । बाहुनवादीहरूलाई स्वर्ण युग थियो । आदिवासीहरूको भाषा, लिपी धर्म संस्कारलाई आर्यघाटमा यीनैले पुर्‍याए । आफ्नो भाषा बोल्न देओ, आफ्नो कर्म गर्न देओ, आफ्नो धर्म संस्कार मान्न देओ भन्दा कति आदिवासीहरूलाई झुन्डयाएर मारियो, कतिलाई काटेर मारियो । कतिलाई गोली हानेर मारियो । कतिलाई विदेश भाग्न वाध्य बनाईयो ।

वि.सं १८३१/३२ तिर लिम्वुवान र गोर्खाको सहमति सहन नसकेर विद्रोह गर्ने लिम्बुहरूलाई खोजीखोजी यातना दिन तथा मार्न थालिएपछि ३२ हजार जति लिम्बुहरू लिम्बुवान छोडेर वाह्य मुलुक गएको कुरा लिम्बुवानमा व्याप्त छ । त्यस्तै बिचबिचमा लिम्बुहरूको अधिकारको लागि आवाज उठाउँनेहरूलाई विभिन्न अमानवीय तवरले यातना दिईएको छ, मारिएको छ । विदेश पलायन हुनु परेको छ । खम्बुवान, तमुवान, मगरात, ताम्वासालिङतिर पनि यो प्रपञ्च भएको थियो ।

यसरी नेपाल एकल बाहुनवादी राज्यशासन व्यवस्थामा हुर्केर आएको दृष्टान्त छ । बाहुन क्षेत्रीहरू सत्ताको बागडोर थाम्ने हुँदा आदिवासी जनजातिहरूभन्दा दौडको हिसाबमा १ सय मीटरमा ९५ मीटर अगाडि छन् । त्यसैले यो दौडमा तत्काल आदिवासी जनजातिहरूले जित्छु भनेर हुँदैन । यो दौडलाई संघीय शासन व्यवस्थाले मात्र प्रतिस्पर्धामा ल्याउँन सक्छ । यस व्यवस्थामा पनि तुरुन्तै प्रतिस्पर्धा हुन सक्दैन । केही  समय लाग्छ । तर यी बाहुनवादीहरू एकात्मकवादी पनि हुन-उनीहरू संघीय प्रणाली चाहदैनन् । आफ्नो खाई पाई लाई आएको कुरा अरुसँग बाँड्न चाहँदैनन् । समाजवाद, समानतावाद उनीहरूमा छैन ।  आदिवासी जनजातिहरू मिलेर बाँडेर खाऔं भन्दछन् । उनीहरू आफ्नो किन दिन्छन् र ? यो मानवीय स्वभाव पनि हो । तर सदा सर्वदा संगै वसेर अघि वढ्ने हुँदा सवैले मिलेर काम गर्नु पर्दछ । यो क्रमको शुरुवात पनि हाम्रो देशमा हुन थालेको छ । जो बाहुन क्षेत्री हाल नयाँ पुस्ताका छन् । उनीहरू बाहुनवादलाई आत्मासाथ नगरेर समानतावादमा विश्वास राख्ने छन् । बाहुनवादको विरोध गर्दछन् । बाहुनवाद भनेको बाहुन क्षेत्रीलाई जातिविषेमा भनिएको होईन । यो भनेको मै खाऔं, मै लाऔं, मै मात्र मोज गरौं अरुलाई जे सुकै होस भन्ने विचार सिद्धान्तनै बाहुनवाद हो । यस्तो बाहुनवाद हिन्दूवादवाट पथ प्रदर्शित भएको हो । यही वादको कारण माओवादी जस्तो क्रान्तिकारी पार्टी पनि एमाले र कांग्रेसले बोकेको बाहुनवादमा फसिरहेको छ । प्रचण्ड र बाबुराममा हल्का बाहुनवाद छ । यो बाहुनवादलाई मलजल पुग्ने हो भने त्यो उनीहरूमा मज्जाले हुर्किहाल्नेछ । अनी बाहुनवादको जोडमा जोड हुनेछ ।

तर आदिवासी जनजातिहरूको चरम जुझारु कार्यको कारण अब बाहुनवादको आयु लामो छैन । त्यसैलाई बुझेर अहिले सबै पार्टीहरू एकापसमा संविधान बनाउँन छोडेर धेरै बाहुनहरू पालैपालो प्रधानमन्त्री भैरहेका छन्, हुन खोजिरहेका छन् , बनाउँन खोजिरहेका छन् । संविधान बनाउँन छोडेर सत्तामा मात्र लिप्त भएका छन् । उनीहरूले जे गरे पनि हुन्छ । किनकी सबै डाडु पन्यू, भण्डार, चाबी उनीहरूकै हातमा छ । तर यो नै उनीहरूको अन्तिम स्वर्ण समयको अन्त्य हो । यो तेल सकिएको धिपधिपे बत्तिको संकेत हो । बत्ति मरे पछि नयाँ तेल हालेर बत्ति बालेझैं अब आदिवासीहरूले बत्ति बाल्नेछन् । यो समाजको क्रमविकास पनि हो । अहिलेको नेपालको समाज सामन्तवादबाट पूंजिवादमा प्रवेश गरिरहेकोले यो संक्रमणकालिन अवस्थाबाट चाँडैनै आधुनिक समाजमा रुपान्तरण हुनेछ ।  यसको लागि समयलेनै आफै छिनोफानो गर्नेछ । त्यसबेलाको समाज समाजवादी तथा समानतावादी हुनेछ । सेवारो ।

Search This Site:

Comment on this Article:







Related Articles