BAGAICHA.COM

Home » General » Currently Reading:

लिम्बूहरुको महान चाड चासोक तङनाम

Nov 30, 2011 General No Comments

दिल पालुङवा लिम्बू ‘नेपाल कुश्शा’

पृष्ठमूमि

चासोक तङनाम लिम्बूहरुको माहान चाड हो । चासोक तङनामको शाब्दिक अर्थ नेपालीमा चासोक भनेको न्वांगी र तङनाम भनेको चाड हो । यो चाड विषेश गरेर अन्नवाली पाकेपछि शुरु हुन्छ । अर्थात विषेश गरेर असोज कार्तिक मंसिर महिनाहरु हुन् । यो वेला धान र कोदोहरु पाक्ने गर्दछन् । यो पाकेको अन्नलाई यूमा माङलाई सवभन्दा पहिला पूजा गरि चढाएर खाईन्छ । यसवेला हतियारले नकाटी कोदो भए नङले काटी र धान भए हातले माडी नङैले या हातले माडेर या लोहोरा (ढुंगा) ले माडी चामल निकाली खान योग्य बनाई धान भए भात पकाएर र कोदो भए जांड बनाएर फेदाङमा बोलाई युमामाङको पूजा आरधाना गरी सर्वप्रथम युमा तपाईले दिएको अन्न तपाईलाई दिएर मात्र हामी ग्रहण गर्नेछौं भनेर खाने गरिन्छ । कतिपय अवस्थामा कांचै पनि जांडको प्रतिकको रुपमा कोदोको गेडालाई पूजा गर्न तयार पारेको तङवामा हालिन्छ भने चामल भए युमाथानमा राखिन्छ । लिम्बू जातिमा यूमाको महिमा सवभन्दा ठूलो छ । युमा सर्वेसर्वा हुन भन्ने विश्वास छ । उनलई सृष्टीकर्ता, संरक्षणकर्ता, शक्तिकर्ता, दौलतकर्ता आदि सवै सवै मानिन्छ । उनलाई तागेरानिङवाफुमाङ पनि भनिन्छ ।

यसरी न्वांगी चाड विषेश समय अनुसार माथि उल्लेखित समयमा लिम्बूहरुले मनाउने गर्दछन् । तर मंसिर पूर्णे पूजाको लागि सवभन्दा राम्रो दिन मानिन्छ । त्यसैले यो दिनमा आजभोलि चुम्लुङ लगायतले सामुहिक रुपमा पनि मनाउने गर्दछन्। अव चासोक तङनाम वारे किम्वदन्ती तिर जाऔं । सृष्टीको उषाकालमा मानिसहरुले अन्न खान जानेका थिएनन् । खानेकुराहरु जस्तो कन्दमूल, मासु आदि कांचै खान्थे । समय क्रमानुसार उक्त कांचो खानाले मानिसहरु धेरै विरामी परे । कति मरे । हैजाले तहसनहस वनायो । त्यसैले उनीहरु तागेरानिङवाफुमाङलाई विन्ती गर्न थाले । तागेरानिङवाफुमाङले अन्नको परिचय गराईदिईन । अनी अन्नपात उमार्ने वढाउने कुरा सिकाईन । सोही वमोजिम याक्थुङहरुले भस्मे फांडे, डढेलो लगाए, पानी वोलाए, अन्नपात लगाए, जंगली जनावार पंक्षीहरुबाट जोगाए, स्याहार संहार गरे । अनी पाकेपछि खुसी भएर युमालाई चढाएर मात्र खाने विचार गरी युमाको पूजा आरधना गरे । आगोले पोलेर /पकाएर खाए । त्यसरी खांदा मानिसहरु पहिलेभन्दा राम्रो भए । उनीहरु खुसी भए । अनी उनीहरुले युमाप्रति ऋणी भई युमालाई पूजा आराधाना गरेर उनलाई सर्वप्रथम चढाएर खाने चलन चलाए । यो वेला प्रकृतिले पनि साथ दिएकिले गर्दा प्रकृतिलाई पुज्ने चलन पनि चलाए । यो चलन सर्वप्रथम सावा येत्हाङहरुले चलाए भनिन्छ । यो चलन हालसम्म पनि लिम्बूजातिमा पाईन्छ ।

चासोक तङनाम लिम्बू वाहेक किराती अन्य समुदाय राई, याख्खा र सुनुवारहरुले पनि आआफ्नै नाममा धुमधाम मनाउदछन् । प्राचिन कालमा लिम्बू, राई, याक्खा, सुनुवार एउटै वंशका हुन् । वसोवासक्षेत्र, स्थानीय वातावरणले मात्र छुट्टै वंश र भाषा हुन पुगेको हो । जिरेल, सुरेल, हायु, दनुवार र चेपाङहरु पनि नजिककोवंश मानिन्छ भने गुरुङ, मगर, तामाङ,थारु, सेर्पा भोटीया, लेप्चाहरु अलिक अगाडि वंश छुटेका हुन् – हरुले पनि चासोकलाई आफ्नै भाषाको नाम वा न्वांगीको रुपमा मनाउदछन् । तर यो चाडको व्यापकता धुमधामकोसाथ नभएको मात्र हो ।

 

चासोकलाई वृहत मनाउन चुम्लुङले पहल गर्नुपर्छ:

चासोक तङनाम पहिले किरात साम्रज्य या याक्थुङ राज्य हुंदा व्यापक रुपमा मनाईन्थ्यो । तर आफ्नो राज्य हरण पछाडि यो चाड त्यति भव्य रुपमा मनाईएको थिएन । यो चाडभन्दा वृहत दशैं मनाईन्थ्यो । दशैंमा नयां लुगा लगाउने, परिवारजन भेला भएर मीठो मसिनो खाने गरिन्थ्यो । मावली, ससुराली गईन्थ्यो । हर्ष वढांई गर्ने, मौलो गर्ने, टिका लगाउने आदि कार्यहरु हुन्थे । तर वि.सं.२०४६ सालको वहुलीय प्रजातान्त्रिक व्यवस्था आएपछि जनजाति नेताहरुले दशै आदिवासी जनजातिहरुको चाड होईन भनेर भनेपछि दशैं क्रमश मान्न छोडे । यद्दपी आफन्त भेटघाट कार्यक्रम सामान्य रुपमा भैरहेको छ । किनकी यसको विकल्पमा अर्को चाडले स्थान लिएको छैन । त्यसैले अझैपनि लिम्बूहरु समस्यामानै छन् । तसर्थ दशैको पूर्ण विकल्प दिन चासोक तङनाम उपयुक्त पनि छ । त्यसको लागि कागजी प्रचारवाजी तथा सामुहिक भेटघाटले मात्र हुँदैन । व्यावहारिकता प्रदान गर्न समुदायनै परिचालित हुनु पर्दछ । समाजनै चाड मनाउन तत्पर हुनुपर्दछ । अब देखि दशैमा गरिदै आएको सम्पूर्ण कार्यहरु चासोक तङनामको अवसरमा गर्न थाल्नु पर्दछ । यसको लागि व्यक्तिगत कार्यले प्रभावकारिता कम हुने हुंदा संस्थागत निर्णय उत्तम हुनेछ । तसर्थ यस्तो निर्णय तथा कार्य चुम्लुङले गर्नु पर्दछ । सर्वप्रथम नेपाल चुम्लुङले गर्नु पर्दछ । त्यसपछि हङकङ चुम्लुङ या विदेशमा अवस्थित चुम्लुङले गर्नुपर्दछ तव समाजमा व्यापकता आउनेछ । जव समाजमा यसको छाप पर्छ यो संस्कृतिको दिर्घता रहनेछ ।

 

कसरी चासोकको व्यापकता ल्याउने ?

सर्वप्रथम चासोक तङनामवारे याक्थुङ विज्ञहरुको विचमा कार्यपत्र तयार गरी छलफल गर्ने । यसबाट चासोक के हो र कसरी मनाउने वारेमा ठोस निर्णय निस्कनेछ । त्यसपछि संस्थागत निर्णय गर्ने र समाजमा लागु गर्ने । दशैंलाई नमनाउन थालेकोले माथि भनेझैं दशैमा गरिने सवै कार्य चासोकमा गर्ने । घरबाट वाहिर गएकाहरुको जमघट गर्ने । मिठो मसिनो खाने । राम्रो लगाउने । घर सफा वनाउने । मनोरञ्जन गर्ने । मावली, ससुराली जाने । मेला वजारको व्यवस्था गर्ने । सरकारबाट सार्वजनिक विदा ३ देखि ५ दिनसम्म कायम गराउने । आन्तरिक रुपमा १५ दिनसम्म भेटघाट गरिरहन सक्ने व्यवस्था गर्ने । चासोक चाडको वारेमा स्कुल कलेजको पाठयक्रममा राख्न लगाउने । यसो गर्न सकिएमा मात्र चासोकको व्यापकता र गरिमा वढेर जानेछ ।

सेवारो ।

Search This Site:

Comment on this Article:







Related Articles