BAGAICHA.COM

Home » General » Currently Reading:

परमानेन्ट आइ.डि. होल्डरको डिपोर्टेशन (हङकङ निकाला)

Mar 14, 2012 General No Comments

देश सुब्बा

म एक सामान्य मान्छे । फुर्सतको बेला मान्छेसँग अभिन्न रूपमा गाासिएको समय र गति, अनुभव र व्यवहार लेख्ने गर्छु । कसैको लागि फूलजस्तै लाग्ने सत्य, कसैको लागि बिजाउने काँडा बन्छ । काँडा र फूल दुवै सँगसँगै जन्मेका हुन्छन्, जन्म र मृत्यु जस्तै । हामीले आफूले बुझेको, ठानेको सत्य नै बोल्ने, लेख्ने गर्छौ । न यसमा कसैलाई खुशी पार्नु हुन्छ, न कसैलाई दुःखी नै । यो हामीले भोगेको समयको परिभाषा मात्रै हो, जसले हामीलाई सुम्सुमाउँदै, धपधपाउँदै, चिमोट्दै अगाडि बढिरहन्छ । शरीरको कुनै दागजस्तै हाम्रो जीवन र मृत्युको लामो रेखामा कतै कोरिएको हुन्छ ।

अहिले म लामो समयको चौकीदारीबाट ‘मेसी एण्ड क्लेमेन्ट’ सोलिसिएटरको कार्यालयमा कार्यालय क्लार्कको रूपमा कार्यरत छु । यो एउटा यस्तो पेशा रहेछ मजस्तो स्वतन्त्र उड्न खोज्ने, बोल्न खोज्ने र बुझाउन खोज्ने मान्छेलाई पेशाको डोरीले बाँधेर कैदी बनाउने । म अहिले पेशाको डोरीले बाँधेर ‘बन्धक’ भएको छु । मैले धेरै बोल्न नमिल्दो रहेछ, गर्न नमिल्दोरहेछ । मप्रति केही आँखा सोझिन्दोरहेछ, केही चोर औंला ठडिन्दोरहेछ । तर अर्को पक्षमा म मान्छे हुँ, मेरा केही स्वतन्त्रता छन्, केही विचार, केही भावना, केही व्यवहार । यी सबै कर्तव्य बनेर आउने कदमलाई म बाँधेर राख्न सक्दिनँ । दुई पक्षको घमासान युद्ध भइरहेको विरोधाभाषे कुरुक्षेत्रमा पो म उभेको रहेछु । मनमा उकुसमुकुसिएका कुण्ठाले जलेर म छटपटिरहेको छु । दिनदिनै समस्याले जेलिएका मान्छेसित भेट हुन्छ । नयाँ नयाँ पर्दा खोलिन्दै जान्छन् । यसले दायित्वमा मुक्का हान्छ र कर्तव्य जगाइदिन्छ । म अहिले यस्तै यस्तै साङ्लीले बाँधिन्दै जाँदैछु ।

यो मेरो नयाँ पेशाले मेरा साहित्यकर्मी, आम पाठकको मनमा अविस्वासको पहाड खडा गर्न सक्छ, जिज्ञासाको ओइरो लाग्न सक्छ । यो कानुनी पेशा हो । कानुनी पेशामा मेरो न्वारनदेखिको जन्मकुण्डली हेरिन सक्छ । आधारभूमि नभेटाएपछि चारैतिरबाट शंकाको चोर औंला उठाइन सक्छ । किनभने यो मानवले आदिमकालदेखि देखाउँदै आएको आदिम चरित्र हो ।

संसारमा केही योग्यताको आधार हुन्छन, केही अनुभव र व्यवहारको । मसित केही अनुभवको र केही व्यवहारको सर्टिफिकेट भने हुन सक्छ । यही अनुभव र व्यवहारको ज्ञानले कहिले लेखक भएँ हुँला, कहिले पत्रकार । मैले जहाँ गएपनि प्रयोग गर्ने ‘कार्ड’ यही हो । अहिले पनि मसित यही ‘कार्ड’ छ । केही अनुभव र व्यवहारको भयवाद, रेखा कविता र केही साहित्य गर्दै आएको मान्छे अप्रत्याशित रूपमा कानुनी र्फममा, त्यसमा पनि बेलायत र हङकङ दुवैको ‘न्यायधिश’ हुने क्षमता राख्ने कानुन विद्ले चलाएको प्रतिष्ठित र्फममा काम गर्न थाल्नु आम पाठकको निमित्त जिज्ञासाको विषय बन्नु स्वभाविक छ । यसमा सबैका आ-आफ्नै संरचनाले निर्माण भएको शंका, भ्रम, उत्सुकता, विश्वास, अविश्वास हुन सक्छ । सबैका सत्यहरू आ-आफ्नो लागि सत्य पनि हुन सक्छन् । न म अल्बर्ट कामूको ‘आउड साइडर’ विसँगति मान्छे हुँ, न जाँल पाल सात्रेका अस्तित्ववादी मान्छे । असत्यहरूको ईटाले निर्माण भएको मान्छे हुँ । त्यसैले मेरो पृष्ठभूमि फेरिन्छ, पेशा फेरिन्छ र जीवनको रंग । कानुनी भाषामा अति प्रचलनमा आउने एउटा शब्द छ ‘ग्राउण्ड’ । कानुनी बजारमा बिक्री गर्न राखिएको व्यवहार, इमान, नियमितता, शिक्षा, अनुशासन, झूठ, ठगी सबैमा  मेरो ‘ग्राउण्ड’ नपुग्न सक्छ । पछाडि हुन सक्छु । किनभने त्यो पृष्ठभूमिबाट म यस बजारमा प्रवेश गरिनँ । मसित जुन ‘कार्ड’ थियो जीवनको यात्रामा बनेको, वस् त्यही एउटा पुरानो ‘कार्ड’ छ । खलिल जिब्रानको ‘परफेट’ पुस्तकमा व्याख्या गरेको ‘मुस्ताफा’ पात्र जस्तो बाहिरी संसारबाट आएँ र त्यसरी नै एकदिन बिलाउन सक्छु ।

काम गर्ने सिलसिलामा मसित केही अप्ठयारा मुद्दाहरूको अनुभव छ, जो मैले मेरो लागि र आफ्नो मान्छेको लागि लडेको थिएँ । तपाईहरूसित पनि त्यस्ता आफन्त छन्, अन्यायमा परेका छन् भने हामी मिलेर पीडा बाँड्न सक्छौँ । अन्यायको विरुद्धमा उसको अधिकार दिलाउन सक्छौँ । अरूलाई खाने बाघले राम्रोनराम्रो, बौद्धिक अबौद्धिक सबैलाई खान सक्छ । हङकङ यस्तो ठाउँ हो जहाँको नागरिक संसारकै स्वतन्त्र नागरिक हुन् । उसले आफ्नो अधिकार खोज्न सक्छ, लड्न सक्छ र उपभोग गर्न सक्छ । उसलाई आफूबारे, आफ्नो अन्याय, न्याय, मुद्दाबारे जान्ने, सुन्ने, बुझ्ने पूरा अधिकार छ । तर हामी यस्तो मुलुकबाट आयौँ, परिचयको मुद्दामा भरखरै नेपाल आएकी विश्व प्रसिद्ध विचारक गायत्री स्पिवाक्ले “हाम्रोबारे अरूले बोलिदिनुपर्छ ।” भनेझैँ आफ्नो अधिकार अरूले दिलाइदिनुपर्छ, आफ्नो समस्या अरूले बोलिदिनुपर्छ ।

म जुन मुद्दामा प्रवेश गर्न लागेको छु, त्यो सबैलाई रुचिकर नहुन सक्छ । किनभने यस्ता समस्या सबैका हुँदैनन्, तर नेपाली समस्या हुँदै आएका छन् । नेपाली मुकुण्डोमा रहने अनेपालीको नहुन सक्छ । त्यसैले यो जो जससँग सम्बन्धित छ उसलाई मात्र ।

हामीले सुन्दै आएका छौँ, “फलाना नेपालीलाई डिपोर्टेशन गर्‍यो रे । फलाना नेपालीलाई डिपोर्टेशन गर्‍यो रे । ” डिपोर्टेशनको अर्थ सधैँको निमित्त हङकङबाट निष्काशन गरिनु हो । तपाई हामीले सुनेका छौँ, त्यस्ता धेरै घटनाहरू । हामीले सोधेका पनि हौला केही नजिकका जान्ने साथीभाइ, आफन्त, कानुनी व्यवशायीलाई । मेरो पनि परमानेन्ट आइ. डि. बोकेर हिँड्ने आफ्नो मान्छेको डिपोर्टेशन भयो । म साधारण अकानुनी मान्छेले साधारण दिमाग लगाएर सोचेँ, परमानेन्ट आइ. डि. होल्डरको डिपोर्टेशन नहुनु पर्ने हो । तपाईहरूजस्तै मैले पनि चिनेका, जानेका, बुद्धिजीवी आफन्त, साथीभाइ, कानुनी व्यवशायीलाई सोधेँ । उनीहरूले आफ्नै सामाजिक र कानुनी हुकुमी भाषामा भने, “यस्तो फटाहा मान्छेलाई यहाँ राख्नुभन्दा नेपाल पठाइदिए राम्रो । यस्तोले समाज बिगार्छ ।” यी भनाइले मेरो दार्शनिक दिमाग हिर्कायो र सोचेँ, “बौद्धिक फटाहा खतरानाक कि सामान्य फटाहा । हङकङको नेपाली समाज बौद्धिक फटाहाले बिगारेको छ कि सामान्य फटाहाले ।” मैले निचोड निकाले, “हङकङमा नेपाली प्रतिष्ठा, इज्जत सामान्य फटाहाले भन्दा बौद्धिक फटाहाले बिगारेका छन् । सामान्य फटाहाले आत्महत्या गर्न सक्छ, बौद्धिक फटाहाले आमहत्या ।” फेरि सामान्य फटाहालाई लगाइने इम्मिग्रेशनको डिपोर्टेशन धाराले जो कोही “परमानेन्ट आइ. डि. होल्डर हुँ” भन्ने नेपालीलाई पनि लाग्न सक्छ । डिपोर्टेशनको यो कानुन वर्गिकृत रूपमा लागू हुन्छ भन्ने मलाई लाग्दैन । जो कोही मान्छेप्रति मेरो सहानुभूति हुने गर्छ-चाहे फटाहा होस या राम्रो । आफन्तलाई पनि भयो । त्यसैले सहानुभूति र अधिकारको अन्तिम बिन्दूसम्म मुद्दा लडियो ।

डिपोर्टेशनको यो समस्या आफ्नै समस्या थियो । यतिखेरसम्म मेरो मान्छे जेल पनि परिसकेको थियो । ऊसित पैसा पनि थिएन । मैले उसको श्रीमति र बाबुसित कुरा गरेँ । उनीहरूले पनि उसलाई नेपाल पठाइदिए हुन्छ भने । मैले उनीहरूलाई विस्वाश दिलाउँदै भने, “हङकङमै बसेर मुद्दा लड्न पाउनु उसको अवसर हो । नेपाल गएपछि यो पनि पाउँदैन । ऊ अहिले फटाहा छ । ऊ सुध्रिन सक्छ । सुध्रिएको बेला गरिखाने बाटो राखिदिनुपर्छ ।” मैले उनीहरूलाई विस्वाश दिलाइपछि मुद्दा लड्यौँ । ३ वर्ष मुद्दा लडेपछि जित्यौँ पनि । यो मुद्दा मजिस्टे्रड कोर्टमा सोलिसिएटर क्लेमेन्टले लडेका थिए । मैले क्लेमेन्टलाई सन् १९९९ सालबाट मुद्दाको सिलसिलामा चिनेको हुँ ।

कानुनको धेरै तरीकाले व्याख्या हुन सक्छ । सबै मुद्दामा जितिन्छ भन्ने हुँदैन र हारिन्छ भन्ने पनि हुँदैन । त्यस्तै डिपोर्टेशन भएका सबै मुद्दा जितिन्छ भन्ने हुँदैन र हारिन्छ भन्ने पनि हुँदैन । त्यस्तै हुन्छ अरू मुद्दा पनि । को कति अनुभवी छ, कति शक्तिशाली छ, कति तार्किक छ, कतिको प्रभावकारी बोल्न सक्छ, त्यसमा हार र जित निर्भर गर्छ । यस्तो डिपोर्टेशन जसको भएपनि उसको अधिकार दिलाइदिने तपाई हामी सबैको कर्तव्य हो भने उसको लड्ने अधिकार । सबैले हङकङको कानुनले दिएको अधिकारको प्रयोग गरुन् भन्ने मात्र मेरो चाहना हो । त्यसैको लागि सानो कुण्ठ फुकाएँ र अलि हल्का भएँ ।

Search This Site:

Comment on this Article:







Related Articles