BAGAICHA.COM

Home » General » Currently Reading:

याक्थुङ साम्लो प्रथम कार्यक्रमवारे

Mar 21, 2012 General No Comments

दिल पालुङवा लिम्बू “नेपाल कुश्शा”

२५ फेव्रुअरी २०१२ मा हङकङमा पहिलो पटक याक्थुङ भाषामा मात्र सञ्चालित तथा प्रस्तुती भएको कार्यक्रम याक्थुङ साम्लो प्रथम सम्पन्न भएको थियो । यो कार्यक्रम वास्तवमा हतारहतार रुपमा भएको थियो । विषेश गरेर नेपालबाट भिजिटको लागि  जनवरी अन्तिमतिर याक्थुङ गायक धनवीर सांवा आउनुभएको थियो । उहाँ आएको अवसरमा यो कार्यक्रम गरिएको थियो ।  उहाँ आउनुनै  कार्यक्रम वन्नु होईन । पहिले देखिनै साईवरपोर्ट टनलमा काम गर्ने हङकङका याक्थुङ कलाकार टिका माखिमले मलाई  वारम्वार हङकङमा  याक्थुङमय कार्यक्रम गरौं । तपाईहरूको संस्थाले गर्नुहोस । तपाईहरूको संस्थाले गराउनुहोस, चुम्लुङको कार्यक्रम पनि कहिल्यै याक्थुङमय भएन भन्नुहुन्थ्यो । यसपालीको चुम्लुङको स्वणिर्म सांझ २ पनि सोचेजस्तो भएन । नेपालबाट आएका कलाकारहरूले केही वाहेक सवैले नेपाली गीतनै गाए । पहिलो स्वर्णिम सांझ सन् २००५ को जस्तो प्रभाव पार्न सकेन । ललित आङवोहाङ पनि भन्दैहुनुहुन्थ्यो पहिलो जस्तो भएन । त्यस्तै टिका माखिम भन्नुहुन्थ्यो चासोक तङनाममा पनि नेपाली हिन्दी गीतहरूको हावी हुन्छ ।  हामीले हङकङमा वर्षमा एक दिन पनि याक्थुङमय कार्यक्रम गर्न सकेनौं । चुम्लुङले गरेको जति त ताप्लेजुङ, पानथर तेह्रथुम समाजले गर्दैछ । मैले गमे, हो, चुम्लुङ जतिको त यी संस्थाहरूले गर्दैछन् । तर मानिसहरूको चाहना लिम्बूमय कार्यक्रममा माग गर्दै नेपाली हिन्दी गीतमा नाच्नेहरू पनि हुन्छन । के उनीहरूलाई विचार नगर्ने त ? प्रतिप्रश्न गर्दा माखिमले भने सवैलाई जानकारी गराउदै आजको एक दिन चाही लिम्बूमय कार्यक्रम गरिने भनेर सवैलाई जानकारी गराउने । त्यसरी जानकारी गराईसकेपछि आउनेहरू त्यही सोचमा आउछन् । हाम्रो कार्यक्रमा एकजना ग्रैह्र लिम्बू आएर हामीलाई नेपाली हिन्दी ईङलीश गीत चाहियो भने उसकै कुरा मानेर १०० मा ९९ जनालाई विर्सेर उक्त काम हुने गर्छ । मलाई माखिमको तर्क सही लाग्यो । ठिकै छ, नेपालका याक्थुङ कलाकार धनवीर सावा हङकङ भिजिटमा आउदैहुनुहुन्छ । उहाँसंग सल्लाह गरेर मान्नुभो भने प्रयोगको रुपमा भएपनि कार्यक्रम गरौं । यही कुरा फर्साईलो स्वभावका वरधोज ओख्रावुलाई पनि भनियो, उहाँ हाम्रै टनलमा लोगो कुदाउने गर्नुहुन्थ्यो । उहाँले पनि गरौं न त भन्नुभो । स्वीकृती आयो । सवैबाट याक्थुङ साम्लोको संरक्षण सम्वर्द्धन र विकासमा यस्ता याकथुङमय कार्यक्रम गर्नैपर्छ भन्दै कार्यक्रम जसरी भएपनि गर्ने सल्लाह भयो । नभन्दै धनवीरजी जनवरी २०१२ अन्त्यतिर आउनुभयो । उहाँ लिरामोको उपाध्यक्ष पनि भएकोले उहाँको आगमनमा वैठक वसियो । वैठकमा याक्थुङमय कार्यक्रमको प्रस्ताव  प्रस्तुत गरिएपछि याक्थुङ साम्लो गर्ने निर्णय गरियो । कार्यक्रम लिरामो सांस्कृतिक विभाग र याक्थुङ साक्थिमिवा सयङलाई गर्न जिम्मेवार दिईयो । यसको संयोजक डि.वी पालुङवालाई राखियो । लिरामोमा आवद्ध नभएका याक्थुङ कलाकारहरूको समुह याक्थुङ साक्थिमिवा सयङमा रहेका थिए । कार्यक्रममा उठेको रकम जेजती भएपनि नेपालबाट आएका कलाकार धनवीरजीलाई दिने निर्णय गरियो । घाटा भएमा लिरामोले जिम्मेवारी लिने निर्णय गरी अघि वढीएको थियो । जनवरी १८ तारिकमा गर्ने निर्णय वमोजिम याक एण्ड यतिमा गर्ने निर्णय गरिएतापनि हल नपाएर २५ तारिक गर्ने निर्णय गर्दै हल खोजियो । ईण्डिया क्लव, पाकिस्तानी क्लव पनि पाईएन । अन्त्यमा भर्खरै खोलिएको दोहोरी सांझ भनेर युनिभर्सल साईवर वाहिर टांसिएको पोस्टरको याद आएर त्यही पोस्टर पून गई  हेरेर त्यहाको फोन हेरी सम्पर्क गर्दा नाथान रोडको पल्लो पटि्ट रहेछ । यसो गएर हेरेको १०० जना जति अट्न सक्ने पाईएकोले त्यही कार्यक्रम गर्ने निर्णय गरियो । टिकट पोस्टर केही तयारी थिएन । किनकी हल पनि नपाईएको र धनवीर जीको भिसा पनि थप्नुपर्ने थियो । ईमिग्रेशनले भिसा दिदैनकी भन्ने आशंका उतिकै थियो । किनकी अहिले भिसा त्यती दिईरहेको छैन । अनी भिसाको प्रवन्ध मिलाएपछि मात्र टिकट पोस्टर वनाई अघि वढियो । यसको लागि चुम्लुङ अध्यक्ष कृष्ण लावतीले सहयोग गर्नुभयो । करिव २ हप्ताको समयमा साथीभाई सवैलाई सम्पर्क गरी हातहातमा टिकट पुरयाई कसैलाई त्यही आउने निमन्त्रणा गरियो । टिकट विक्री तथा सम्पर्कमा असली वनेम र स्वयं धनवीरजीले व्यापक पहल गर्नुभएको थियो । सम्पर्क गर्न सकेको जति सवैले राम्रो रेस्पोन्स गरेका थिए । १८ तारिकमा कार्यक्रम गर्ने निर्णयमा स्थानीय कलाकारहरूमा राजु आङदेम्वे, साक्थिम योङया (भूपेन), असली वनेम, टिका माखिम तय गरिएका थिए । उद्घोषणमा वरधोज ओख्रावु र गीता पालुङवालाई जिम्मेवारी दिईएको थियो । 

टनलभित्र कामदार ओसारपसार गर्ने म्यानकार हुन्छ । त्यसमा आईरहेको वेला कमानधोज लावतीलाई कार्यक्रममा आईदिन भने । छेउमै वसेको टिकाजीले हाक्पारेमा साथ दिदा पनि भयोनी कमानधोजले भन्नुभयो । मलाई आश्चर्य लाग्यो र सोधे, होईन ! तपाईलाई पनि हाक्पारे आउछ । टिकाले थपिहाले यो दुलो (टनल) भरी उहाँको हाक्पारे र पालाम गुन्जिरहन्छ भन्नुभयो । टनल गुन्जाउने र नाच्न सिकिरहने टिका माखिमको वानी त थाहा थियो । अन्यथा नहोला – उहाँको उपनाम त गीताङगेनै भन्छन् टनलमा । तर कमानधोज वारे संगसंगै काम नपरेर थाहा थिएन । हाक्पारे पालाममा अर्जुन पाहिमले तेह्रथुमको कार्यक्रम २६ तारिक भएकोमा नभ्याउने जानकारी गराएकोमा हामीलाई हाक्पारे पालाममा असलीको जोडी नभएकोमा चिन्ता थियो । सोही समस्यालाई विचार गरी कमानधोजलाई हाक्पारे पालाममा कलाकारको भुमिका निभाई दिन आग्रह गरे । उहाँ स्टेजमा कहिले पनि नगएकोले पहिले हिच्किचाउनु भयो । तर उहाँलाई टिकाजी र मैले ढाडस दिदै तपाई सक्नुहुन्छ नडराउनुहोस भनेपछि उहाँ तयारी हुनुभो । त्यसपछि कलाकारको लिस्टमा उहाँ पनि पर्नुभो । त्यस्तै स्टेज सानो भएकोले धाननाचको लागि धाननाचमा माहिर काजीमान मास्वा र धाननाचकी मोडल सावित्रा ईङनामलाई भन्यौ । असली, सावित्रा तथा कमानधोज, काजीमानको जोडी धान नाचमा तय गरियो । कलाकारहरू सवै सक्षम थिए । त्यसैले रिहर्सलको त्यती जरुरत परेन । नाचगानको लागि धेरै टिम नभएकोले असली वहिनीको छोरा आयुसलाई धनवीरजी र स्वयं असली वहिनीले कम्पोज गराएर धनवीरजीको र्र्याप स्टायलको गीतमा पर्फेक्ट वनाए ।

यसरी तयारी गरेपछि कार्यक्रम उद्घाटन याक्थुङ वरिष्ठ गायक भगत सुव्वा र अर्का नेपाली संगीतकार दिनेस सुव्वाको वाहुलीबाट  गरेर ऐतिहासिक वनाउने सोच रह्यो । तर समयभावको कारण भगत सुव्वा उपस्थित हुननसक्ने जानकारी आयो । कार्यक्रममा चुम्लुङ अध्यक्षलाई प्रमुख अथिती वनाइएको थियो । त्यस्तै अन्य अथितीहरूमा दिनेस सुव्वा, लिरामोको अध्यक्ष दिल पालुङवा, महासचिव अविचन्द्र ईङनाम थिए । कार्यक्रम उद्घाटनमा प्रमुख अतिथीको लिम्बूवान सम्वन्धीत आफ्नै कार्यक्रम र दिनेस सुव्वाको पनि अर्को कार्यक्रममा जानुपर्ने हुदां केही ढिलो भएकोले लिरामो अध्यक्ष दिल पालुङवा लिम्बूले व्यानर उद्घाटन र अविचन्द्र ईङनाम र जनजाति पत्रकार महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले दियो प्रज्वलन गरेर उद्घाटन गरेका थिए । साथै स्वागत मन्तव्य अविचन्द्र ईङनामले गरेका थिए ।

सांस्कृतिक कार्यक्रमलाई गीता पालुङवा “ईक्शा” र वरधोज (यात्रा)ले वेजोड ढंगले लिम्बू भाषामा सञ्चालन गरेका थिए । उनीहरूको ख्याली गर्दै गर्ने प्रस्तुतीले कार्यक्रमलाई व्यापक रौनकता प्रदान गरेको थियो ।

कार्यक्रमको शुरुवात यालाङबाट भएको थियो । यालाङको प्रस्तुती अति विशिष्टको रह्यो । यसका कलाकारहरू असली वनेम, सावित्रा ईङनाम र काजीमान मास्वा, कमानधोज लावती थिए । टिका माखिम, राज कुमार आङदेम्वे, साक्थिम योङया (भूपेन)ले लिम्बूभाषाको गीत प्रस्तुत जमेरै गरेका थिए । एक मात्र नृत्य आयुश लिम्बूले आकर्षण ढंगमा प्रस्तुत गरेका थिए ।

कार्यक्रमको वीचमा हाक्पारे प्रस्तुत गरिएको थियो । हाक्पारेलाई याक्थुङ लाजेकोझैं जिवन्त वनाउन राडी विछ्याउने काम, तोङवा र अचार राख्ने काम प्रस्तुतीको समयमा गरिएको थियो । यसमा असली वनेम, नाम्लिङ ओख्रावु, रुवी लिम्बू र कमानधोज लावती, टिका माखिम थिए । हाक्पारेको प्रस्तुती साह्रै वेजोड रहेको थियो । कमानधोज र असलीको स्वरहरूले हललाई गुञ्जायमन वनाएको थियो । सवैबाट ओरिलोको आवाज आएकोले वातावरण रोमाञ्चक भएको थियो ।

धनवीर सावांले आधा दर्जन जती गीत गाएर सवैलाई मन्त्रमुग्ध वनाएका थिए । कतिपय नाच्न मिल्ने गीतहरूमा दर्शकहरू रमाउदै नाचेका पनि थिए । उनी आधुनिक याक्थुङ गीतका हस्ती रहेछन् । उनले याक्थुङ भाषामा पप, र्र्यापहरूको पनि प्रवेश गराएका रहेछन् । अव यस्ता गीतहरूमा नाच्न तथा रमाउन चाहनेहरूलाई लिम्बूगीतले पनि परिपूर्ती गर्ने कुरालाई नकार्न मिल्दैन । असली वनेम र धनवीर सावाले युगल गीत गाएर पनि दर्शकलाई नचाएका थिए । डिजेको भूमिका सुरेस पालुङवाले गरेका थिए । पर्फेक्ट डिजे भएकोले साउण्ड सिस्टम सम्वन्धी समस्या देखा नपरेकोले सुनमा सुगन्ध भएजस्तो भयो ।

हल दर्शकहरूले खचाखच भरिएको थियो । अधिकांशले लिम्बू पहिरन दौरा सुरुवाल टोपी गाम्चा लगाएका थिए । महिलाहरूले गुन्यु चोली, शिरवन्दी लगायत गरगहना लगाएका थिए ।

कार्यक्रमको अन्त्यमा लिरामोको तर्फबाट सवै कलाकारहरू तथा डिजेलाई आआफ्नो प्रस्तुती विद्याको आधारमा प्रशंसापत्र प्रदान गरिएको थियो । प्रशंसा पत्र लिरामो अध्यक्ष दिल पालुङवा लिम्बू, महासचिव अविचन्द्र ईङनाम, जनजाती पत्रकार महासंघ अध्यक्ष भुपेन्द्र चेम्जोङको वाहुलीबाट प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रम र प्रशंसा पत्र वितरण कार्यक्रम लिरामो केन्द्रीय कमीटी सदस्य र सोही कार्यक्रमको संयोजक  डि.वी पालुङवाले गरेका थिए । उनको प्रस्तुती पनि सानदार रुपमा रहेको थियो ।

उपस्थित मध्येबाट कार्यक्रमको समिक्षा गर्दै माओवादी हङकङ कमीटी सचिव तथा न्यू होराईजनका कन्सल्टयाण्ट अधिवक्ता जे.वी. ओख्रावुले कार्यक्रम अति राम्रो, शतप्रतिशत सफल वताए । हङकङ एमालेका अध्यक्ष ओमराज सम्वाहाम्फेले पनि यो कार्यक्रमको खुलेरै प्रशंसा गरे । लिम्बूवान व्लकका टंक सम्वाहाम्फेले कार्यक्रम सटिक र सान्दर्भिक भएको विचार व्यक्त गरे । कार्यक्रम सोचेभन्दा राम्रो र नाम अनुसारकै याक्थुङमय भएको टिप्पणी गरे । जनजाती पत्रकार महासंघ अध्यक्ष भुपेृन्द्र चेम्जोङले कार्यक्रममा कुनै खोट नरहेको वताए । शुरुवातदेखि अन्त्यसम्म सवै राम्रो रहेको वताए । भयवादका प्रवर्तक देश सुव्वाले फोन गरेर वधाई दिदैं यो कार्यक्रमले लिम्बूवानको पहिचान र आन्दोलनलाई प्रभाव पार्ने वताए । यस्ता कार्यक्रमहरूलेनै याक्थुङवा हुनुको गर्व र आदिवासी भूमिपुत्रको पहिचान राख्दछ । कलाकार धनवीर सावाले शुरुमा हङकङ जस्तो ठाउँमा कार्यक्रम सफल नहोला भन्ने लागेको थियो । तर ऐतिहासिक रुपमा सफल भएकोमा अति खुसी भएको कुरा व्यक्त गरे । अव नेपालमा पनि याक्थुङमय कार्यक्रम गर्ने आंट आएको वताए । अधिकांश सहभागीहरूले हाक्पारेको वेजोड प्रस्तुतीको खुलेरै प्रशंसा गरे । हाक्पारे विद्यामा असली वनेम र कामानधोजलाई लिरामोले सम्मान गरेकोमा वधाईको ओईरो पनि लाग्यो । टिका माखिम पनि आफ्नो चाहाना वमोजिमको कार्यक्रम याक्थुङमय रुपमा सफल भएकोमा प्रफुल्लित भए । उनले ढाडस दिदै याक्थुङमय कार्यक्रम गर्न सकिदोरहेछ भनेर आगामी दिनमा ठुलै हलमा गर्ने विचार व्यक्त गरे । सवै कलाकार तथा उद्घोषकहरूले पनि कार्यक्रम सन्तोषजनक रुपमा सम्पन्न भएको विचार व्यक्त गरे । आगामी दिनहरूमा सवै भएर कार्यक्रम गर्नुपर्ने ईच्छा व्यक्त गरे ।

यसरी कार्यक्रम हतार हतारमा गरिएको थियो । दर्शकहरू खचाखच भरिएको तथा प्रस्तुतीमा वेजोडपन आएकोले सवैबाट प्रशंसा पाईएको थियो । कसैले पनि कार्यक्रमको नेगेटिभ कुरा गरेको पाईएन । जे जसरी कार्यक्रम गरियो सही र सान्दर्भिक भएकोमा लिरामो पनि दंग परेको छ । हङकङमा एउटा ऐतिहासिक कार्यक्रम गर्न पाईएकोमा खुसी लाग्नु पनि सान्दर्भिकनै हो । सरोकारवालाहरूले यस्तै कार्यक्रमहरू  दिदै गएमा याक्थुङ भाषा संस्कार संस्कृतिको विकास अवश्य हुने कुरालाई नकार्न मिल्दैन । सेवारो ।

Search This Site:

Comment on this Article:







Related Articles