BAGAICHA.COM

Home » General » Currently Reading:

लिम्बूवानवारे वुझ्नै पर्ने कुरा

Apr 20, 2012 General No Comments

दिल पालुङवा लिम्बू, हङकङ

विषय प्रवेश

वर्तमान घडिमा राज्यपूनर्संरचनाको वहस चलिरहेको  समयमा लिम्बूवानमा  लिम्बूवानवारे व्यापक चर्चा परिचर्चाहरू भैरहेकाछन् । त्यहा साना ठूला आन्दोलनहरू पनि भैरहेका छन् । मागकर्ता सवैले अरुणपूर्व ९ जिल्लाहरू लिम्बूवान भनिरहेका छन् । तर लिम्बूवानवारे केन्द्र तथा ठुला पत्रिकाहरूमा त्यती वहस हुन पाएका छैनन् । लेखनीको सवालमा यसको विषयमा लेख्नेहरू कम भएर हो या पूर्वाग्रह हो त्यो वुझ्न सकिएको छैन । जतिपनि लेखहरूमा लिम्बूवान सम्वन्धी प्रसंगहरू आउछन् अस्पस्ट र पूर्वाग्रहपूर्वक रुपमा आएका पाईन्छन् । ती लेखहरू पढ्दा लिम्बूवान सम्वन्धी अध्ययन नगरेको र केटाकेटीपनको प्रतित हुन्छ । इतिहासकारहरूलाई व्यंग गरेको आभाष पाईन्छ । कुनै पनि लिम्बूवान सम्वन्धी ज्ञाताहरूको कलम पत्रिकामा नचलेको देखिन्छ । त्यसैलाई मध्यनजर गरेर मैले पनि वुझेसम्मको लिम्बूवान सम्वन्धी केही यथार्थ कुराहरू सवैसमक्ष राख्न यो लेख तयार पारेको अवगत गराउन चाहान्छु । सम्वन्धितहरूलाई लिम्बूवान सम्वन्धि पुस्तकहरू पढ्न पनि आग्रह गर्दछु ।

कुन ठाउँलाई लिम्बूवान भनिन्छ ?

नेपालको सुदुर पूर्वको ठाउँलाई लिम्बूवान भनिन्छ । अर्थात मेची अञ्चलको ४ जिल्लाहरू ताप्लेजुङ, पानथर, ईलाम, झापा र कोशी अञ्चलको संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ जिल्लाहरू लिम्बूवान अन्तर्गत पर्दछन् । त्यस्तै सिमानागत रुपमा मेची नदी पश्चिम, संखुवासभाको सिस्वा खोला, संखुवाखोला र अरुण अनी सप्तकोशी पूर्व, तिव्वत दक्षिण र भारत उत्तर पर्दछन् । खोलाले पूर्व  पश्चिमको, हिमालले उत्तरको र भारतले दक्षिणको सिमाना स्पष्ट रुपमा छुट्याएको छ ।

लिम्बूवान जातिय नाम कि क्षेत्रीय ?

लिम्बूवान जातिय नाम नभई क्षेत्रीय नाम हो । मेची अञ्चल नदीको नामबाट भएको मेची क्षेत्रको नामझैं लिम्बूवान पनि तत्कालिन लिम्बूवान देशको नाम हो । यो लिम्बूजातिबाट वनाईएको अहिलेको नयां ताजा नाम होईन । तर हाल केहीले लिम्बू जातिको जातीय नाम हो र यो जातिय नाम राख्नु हुँदैन भनेको पाईन्छ । यो एउटा क्षेत्रको नामलाई जातिय नाम दिएर भांजो हाल्न मात्र खोजेका हुन् भन्ने प्रतित हुन्छ ।

लिम्बूवान देश  कहिले थियो ?

किरात इतिहासकार ईमानसिं चेम्जोङ लगायत इतिहासकारहरूको अनुसार लिम्बूवान देशको स्थापना छैटौं शताव्दीमा भएको हो । तत्कालिन समयमा उक्त क्षेत्रमा ८ जना लिम्बू राजाहरूले संघीय प्रणाली मुताविक राज्य गर्दथे । समयक्रममा उनीहरूले जनताहरूलाई अन्याय गर्न थाले । तसर्थ जनताहरू आन्दोलित भएर धनुकांड युद्ध लडे । विद्रोहीले सत्ता कव्जा गरे । उनीहरूले ८ क्षेत्रको लिम्बूवानलाई १० क्षेत्रमा विभाजन गरेर राज्य गरे  । यो क्षेत्रलाई थुम भनियो । लिम्बू भाषामा धनुकांडलाई “ली” भनिने हुंदा आफुले जितेको भूमिलाई लिम्बूवान र त्यहाँको जनतालाई लिम्बू भने । जस्तै पहिला नेपाल भयो । त्यसपछि नेपाली । त्यसैले तत्कालिन याक्थुङवाहरू लिम्बू भनिन थाले । त्यो वेलाको लिम्बूवानको सिमाना माथि उल्लेखित सिमाना सहित हालको नेपाल वाहिरसम्म पर्दथ्यो । त्यही वेलादेखि लिम्बूवान भनिदै आएको हो । त्यो भन्दा अगाडि यो क्षेत्रलाई याक्थुङ लाजे भनिन्थ्यो । त्यसैले यो वुझ्न जरुरी छ कि लिम्बूवान राज्य पूनसंरचनाको लागि मात्र अहिले उठाईएको विषय होईन । यो लिम्बूवानको ऐतिहासिक नामको कारण निरन्तरता खोजिएको हो ।

लिम्बूवान कसरी नेपाल भयो ?

छैटौं शताव्दीदेखि लिम्बूवान निरन्तर रुपमा लिम्बूवानको नामबाट चिनिदै आयो । १० स्वायत्त राज्यहरूमा १) ताम्वायक-तमरखोला, २)मेवा-मेवाखोला, ३) याङवरक-याङरुप, ४) फेदेन-हाल पाँचथर, ५) फाकफोक-ईलाम, ६) चेनलुङ-चैनपुर संखुवासभा, ७) पोमाजुङ-आठराई ८) फेदाप-तेह्रथुम, ९) सुदाप-छथर, १०) चाविसा-चौविस धनकुटा थिए ।

फाकफोक-ईलामले वंगलादेशसम्म र चाविसा-चौविसको सिमाना जलालगढ-भारतको हाल पूणिर्मासम्म पर्दथ्यो ।

यद्दपी यो दश थूमीय राज्यहरू पछिल्लो समयमा धेरै उपराज्यहरूमा सञ्चालित हुँदै आए । त्यसै क्रममा पन्ध्रौं शताव्दीमा  साङलाईङ नामक लिम्बू राजाले हाङफुक्ला-हालको धरानको विजयपुरमा एउटा राज्य स्थापना गरे । पछि राजा र उनको मन्त्री विचको खटपटको कारण मकवानपुरको सेनहरूलाई मन्त्री समुहले साङलाईङ वंशलाई हटाएर राजा बनाए । तव लिम्बूवानको विजयपुरमा सेन वंशी राजा भए । वंशावली अनुसार लिम्बूहरूले सेनहरूलाई पनि लिम्बूकै वंश मानेको पाईन्छ । पछाडि यो सेन वंशले लिम्बूवान भरी आफ्नो प्रभाव जमायो । साङलाईङको सन्तानहरू हाल लिम्बू सावादेन थरी र तेह्रथुमका फेदापे लिम्बूको रुपमा रहेका छन् । सेन लिम्बूहरू पनि याङरुपका लिम्बूका रुपमा रहेका छन् । यो सेन वंश र उनीहरूको खेवा मन्त्री-वंशाणुगत प्रधानमन्त्री वुद्धिकर्ण विच वैमनष्यता शुरु भयो । खेवा मन्त्रीले सेन राजा कामदत्तको हत्या गरी विजयपुरको राजा वि.सं. १८२८ मा भए भनि ईमानसिं चेम्जोङ भन्नुहुन्छ । खेवाहरू छथरे लिम्बूहरू हुन् । हाल उनीहरू छथरको सुदाप, धनकुटाको हात्तिखर्कमा वसोवास गर्दछन् । यही वंशका हरि खेवा हाल नेपालको अर्थ राज्यमन्त्री भएका छन् ।

विजयपुरले सवैथुमहरूमा केन्द्रीय सत्ताको रुपमा काम गरेपनि सानातिना धेरै रजौटाहरू लिम्बूवानमा थिए । उनीहरू आफ्नै ढंगले चल्दथे । वि.सं.१८३१ तिर उक्त लिम्बूवान क्षेत्रमा गोर्खाले आक्रमण गर्‌यो । इतिहास अनुसार १७ पटक आक्रमण हुंदा पनि गोर्खाले लिम्बूवानलाई जित्न सकेन । लिम्बूवानको वीर सेनापती कांसोरे लगायत वीर योद्धाहरूले विरतापूर्वक लडेर लिम्बूवानलाई रक्षा गरेका थिए । त्यसैले गोर्खाका राजा पृथ्वी नारायण शाहले कुटनितिक अपनाई लिम्बूवानलाई सवै अधिकार दिएर स्वायत्त राज्यको रुपमा वसि दिन आग्रह गर्‌यो । पहिला सेनवंशको पालामा पनि वसेकोले गोर्खाको अण्डरमा वि.सं.१८३१ साउन २२ गते स्वायत्त राज्यको रुपमा वस्ने सन्धी गरे । उक्त सन्धी पत्रको लालमोहर अझै पाईन्छ । यही वेलादेखि लिम्बूवान गोर्खाको मातहतमा स्वायत्त राज्यको रुपमा रह्यो । यही गोर्खा पछि नेपाल भनिएकोले लिम्बूवान पनि नेपाल भनिन थालियो ।

लिम्बूवान स्वायत्त शासन कहिलेसम्म रहयो ?

वि.सं. १८३१ देखि शुरु भएको स्वायत्त शासन वि.सं.२०२१ मा राजा महेन्द्रको किपट प्रथा उन्मूलनसम्म कानुनी रुपमा रहेको थियो भने व्यवहारिक रुपमा मूख्य गरेर अन्तिम नापी वि.सं.२०४५ सम्म कायम भएको थियो र अन्तिम अवषेश लिम्बूवानको संखुवासभामा मालपोतले कार्य नगरुन्ज्याल वि.सं.२०५२ सम्म रहेको थियो । स्वायत्त अधिकार भूअधिकारको साथै प्रशासनिक अधिकार पनि रहेको थियो । लिम्बू जातिले मात्र लिम्बूवानको भूमि भोग चलन गर्न पाउने चलन थियो । त्यसलाई किपट प्रथा भनिन्थ्यो । हुन त तत्कालिन समयमा लिम्बू जाति मात्र लिम्बूवानमा वसोवास गर्दथे । वोर्डर क्षेत्रमा लिम्बूले लिम्बूनै भनिने अन्य जातिहरूमा याक्खा, आठपहरे, लोहरूङ, मेवाहाङ, याम्फु आदि पनि वस्दथे । त्यस्तै लेप्चा, कोचे मेचे र धिमालहरू पनि वस्दथे । आआफ्नो क्षेत्र ईलकामा सुव्वाको रुपमा शासक हुन्थे । अमाली पनि हुन्थे । यीनै सुव्वाहरूले अन्य जातिहरू लिम्बूवानमा केन्द्रीय राजाको निती अनुसार जनता या रैती वनाएर राखेका थिए ।

यो प्रथाको सरकारी अनुमोदन वि.सं २०१७ सम्म गरिएको थियो । विसं.१८३१ मा यो प्रथा सिस्वा संखुवाखोला अरुण हुँदै सप्तकोशी पूर्वमा कायम थियो भने केन्द्रले तराईलाई आफ्नो मातहतमा राख्दै विसं २००८ मा त्रिभूवनले माल र लाख कायम गर्द सिमाना भुंढे सिमल हरैचासम्म मात्र राखे । सोही वमोजिम सुव्वाहरूले उक्त ईलाकासम्म आफ्नो स्वायत्त अधिकार उपभोग गरेका थिए ।

किपट प्रथाको उन्मूलनको शुरुवातमा अर्थात वि.सं. २०२२-२०२५ तिर ठूला ठूला किपट थमौतिका आन्दोलनहरू भए । तर केन्द्रीय पञ्चायती सरकारको धरपकडले आन्दोलन दवाईयो । केन्द्र सरकारले एकतर्फी रुपमा लिम्बूवानमा जग्गा नापी गर्ने कार्य गर्दै मालपोत खडा गर्न थाल्यो । सुव्वाहरूले आफै तिरो उठाउँने काम मालपोतले गर्न थाल्यो ।कानुनी प्रशासनिक कामहरू अलदालत र सिडियो कार्यालयलहरूले गर्न थाल्यो । यो सुव्वा प्रथा  विं.सं.२०५२ सम्म रहेको थियो । अर्थात आजभन्दा १५ वर्ष अघिसम्म रहेको थियो ।

 लिम्बूवानको, सेन्टीमेन्ट के हो त ?

परापूर्वक कालदेखिनै लिम्बूवानको निरन्तरता हुदै आएकोले लिम्बूहरू आफ्नो भूमि या क्षेत्रको नाम लिम्बूवान भएको चाहन्छन् । लिम्बूवानलाई उनीहरू आफ्नो प्राण जतिकै सम्झन्छन् । तसर्थ लिम्बूवान वेगरको नाम उनीहरूलाई असह्य हुन्छ । आफ्नो संस्कार परम्परा इतिहास आदिको कारण लिम्बूवान स्वायत्तताको कुरा उनीहरूको व्लडमा रहिरहन्छ । तसर्थ लिम्बूवानको आवाज कहिल्यै मेटिदैन । लिम्बूवानमा वसोवास गर्ने अन्य जातिहरू पनि लिम्बूवानप्रति सदासयता प्रकट गर्दछन् । किनकी उनीहरू साह्रै मिलेर वसेका छन् । त्यस्तै लिम्बूवान क्षेत्रको नाम भएकोले पनि लिम्बूवानबाट लिम्बूवानको विरोध नभएको हो । तर दलहरूले जातिय कुराहरूलाई विछट्टै उरालेर लिम्बूवान पनि जातिय नाम हो भनेर अफवाह फैलाई रहेकाछन् । यो एकदम गल्ती गरिरहेका छन् । लिम्बूवानको सेन्टीमेण्ट वुझ्न सकिरहेका छैनन् ।

 लिम्बूवानलाई मधेस कोचिला मान्य हुदैन

लिम्बूवानको आफ्नो भूमि भित्रको झापा, मोरङ र सुनसरीलाई कतिपय राजनिती पार्टीले मधेस कोचिला भनेका छन् । कसैले पुर्वी थारुवान भनेका छन् । तर लिम्बूवानको इतिहास अनुसार उल्लेखित भूमि लिम्बूवान हो । उहिल्यै लिम्बू राजा कोचुहाङले यी क्षेत्र लगायत हाल भारतमा पर्ने छिमेकी भूभागहरूमा राज्य गरेका थिए । उनको राजधानी क्षेत्रलाई चापा-झापा भनिन्थ्यो । उनका सन्तान कोचे मेचे भए । कतिपय यीनै कोच घरानाका लिम्बूहरू हाल लिम्बूवानको तेह्रथुमतिर वसिरहेका छन् । कतिपय मेचे र राजवंशी पनि भए भनिन्छ । त्यसैले हाल पनि यीनीहरूले लिम्बूहरूसंग दाजुभाई भएको कुरा गर्ने गरेको सुन्न पाईन्छ । त्यस्तै तराईका धिमाल र लिम्बूहरू पनि दाजुभाई मानिन्छन् ।

सातौं शताव्दीमा एकजना प्रख्यात लिम्बू राजा मावरोङहाङले रंगेलीमा राजधानी वनाई मोरङ राज्यको रुपमा राज्य गरेको पनि इतिहास छ ।

लिम्बूवानको एक राजा पर्वतक-पर्वतेले चन्द्रगुप्तलाई नन्द राजाको विरुद्धमा लड्न सघाएका थिए । विजय पश्चात पूणिर्मा क्षेत्रको ठुलो क्षेत्र चन्द्रगुप्तले उनलाई राज्यगर्न दिएका थिए । मुन्धुम अनुसार  लिम्बूवानको राज्य गंगा नदिसम्म फैलिएको पाईन्छ । मुन्धुमले दक्षिणी सिमाना तेमेन वरक-समुद्रसम्म भएको उल्लेख गरेकोले श्रीलंकासम्म पनि लिम्बूवानको सम्वन्ध रहेको वुझ्न कठिनाई हुदैन । मुन्धुममा श्रीलंकालई सिंगपलाजे भनिन्छ ।

वि.सं. १८३०-३१ मा लिम्बूवान गोर्खा युद्धमा लिम्बू फौजहरूमात्र लडेका थिए । तराईमा पनि लिम्बूवाहेक अन्य राजा तथा राज्यको अस्तित्व रहेको देखिदैन । वरु सिक्किमले लिम्बूवानलाई सघाएको पाईन्छ ।

 लिम्बूवान र नेपालको सम्वन्ध

लिम्बूवानको सम्वन्ध तत्कालिन नेपाल-हाल काठमाण्डौ)संग परापूर्वककालदेखि रहिआएको छ । लिम्बूवानतिरवाटै लिम्बू राजा यलम्वरहाङले काठमाण्डौमा राज्यस्थापना गरेका हुन् । काठमाण्डौलाई लिम्बूभाषामा नेवाला तेम्वे-समथर स्थान भनिन्छ । त्यसैले उक्त देशको नाम नेवाला हुदै नेपाल रहन गएको हो भन्ने लिम्बू लोकोक्ती तथा इतिहास पाईन्छ । काठमाण्डौमा थाङकोत, वुङमती, चावेल, पाटन, सुम्लाङ आदि धेरै लिम्बू भाषाबाट राखिएका नामहरू अद्यापी छन् । पशुपति उनीहरूकै मन्दिर मान्दछन् । लिम्बूवानसंग नाम मिल्ने पश्चिम नेपालको लिवाङ, तनहुं, सेङजा, सेराथुम, सेगुम्वा  आदि धेरै ठाउँहरू रहेकाछन् । यी विविध कारण पनि लिम्बूवान काठमाण्डौ वा नेपालसंग कदापी अलग हुन चाहदैन ।

 निष्कर्ष

वर्तमान घडिमा लिम्बूवान भनेको  जातिय नाम भएको र लिम्बूजातिले मात्र जातिय नाममा राज्य गर्ने भन्ने जुन लेखहरू छन् । वहसहरू भईरहेका छन । नेताहरूले जातिय लेपन मात्रै लगाएका छन् । अवश्य त्यस्तो नभई यो एउटा क्षेत्रको नाम भन्ने वुझिनु पर्दछ । लिम्बूवान तत्कालिन समयमा लिम्बू जातिमात्र भएको देखिए तापनि हाल आएर धेरै जातिहरू रहेकाछन् । त्यस्तै देश संघीय रुपमा आईरहेकोले यो पूर्वी क्षेत्रको नाम लिम्बूवान हुन सान्दर्भिक देखिन्छ । अरुण सप्तकोशी पूर्वको नेपालको ९ जिल्लाहरू लिम्बूवान भएकोले अहिलेको राज्य पूनसंरचनामा उक्त भूमि टुक्रनु हुदैन । भौगोलिक हिसावले पनि यो क्षेत्र पायक पर्दछ । आदिवासीय अग्राधिकार हुनुपर्दछ । साथै सवै जातिहरूसंग लिम्बूवानले समान अवसरले वढ्ने वातावरण वनाउन सक्ने देखिन्छ । हिमाल, पहाड, तराई भएकोले विकास निर्माण र  जातिय सद्भाव कायम रहनेछ । लिम्बू जातिमा उक्त क्षेत्रको परम्परागत रुपमा आगाध र प्रगाढ माया, सम्वन्ध, समरुपी सांस्कृतिक पक्ष  भएकोले उनीहरू लिम्बूवान वाहेक नामको चाह राख्न सक्दैनन् । लिम्बूवानमा हिजो अस्तीसम्म शासकीय भोगचलन गरेकोले र अमानवीय ढंगले लिम्बूवानको अधिकार हनन् गरिएको ईगो उनीहरूसंग रहेकोले उनीहरू लिम्बूवानको लागि दिलोज्यान दिने अवस्थामा छन् । त्यसैले उनीहरूको लिम्बूवानको मागलाई राष्ट्रले सम्मान गर्न उत्तम देखिन्छ । अन्यथा चिरस्थाई अशान्तीको भूमरीमा लिम्बूवान जान सक्नेछ । आफ्नो पूर्खाले विरासतको रुपमा छोडेको भूमिलाई उनीहरू अरुलाई सजिलै हस्तान्तरण अवश्य गर्दैनन् । यो सेन्टीमेण्ट नेताहरूले नितान्त वुझ्नुपर्ने देखिन्छ । खाली जातिय नाम, अग्राधिकार भएमा देश टुक्रिन्छ भन्दै लिम्बूवानको सेन्टिमेण्ट  राम्ररी नवुझी अण्डरस्टीमेट कदापी गर्नु हुदैन । उनीहरूले कट्टरवादी भएर लिम्बू जातिले मात्र लिम्बूवानको राज्य गनुपर्छ भनिरहेका छैनन् । तर राज्यको वागडोर सञ्चालन गरिरहेका पार्टीहरूले, नेताहरूले लिम्बूवानको सेन्टीमेन्ट विपरित कार्य गरे अवश्य दिर्घकालिन असर पर्नेछ । जुन कुरालाई वुझेर भविष्यमा आईपर्ने जातिय द्वन्द्वहरूलाई दूर गर्नुनै नेताहरूको वुद्धिमत्ता ठहर्नेछ ।सेवारो ।

Search This Site:

Comment on this Article:







Related Articles