BAGAICHA.COM

Home » General » Currently Reading:

सबैको लागी समान बन्न नसकेको एस.एल.सी.

Jul 4, 2012 General No Comments

टोप बहादुर राई

केही दिन यता छापा तथा अनलाइनका मिडिया अनि फेसबुकका स्टाटसहरुमा भर्खर मात्र प्रकाशित फलामे ढोका भनेर समेत चिनिने एस.एल.सी. को परिक्षाफलले एउटा तरङ्ग ल्याएको छ । बोर्ड फष्ट ल्याउने लगायत, जिल्ला, अञ्चल, क्षेत्र अनि विद्यालय फष्ट हुने साथै राम्रो नतिजा ल्याउने कति जनाको नाममा बधाईका विज्ञापनहरु छापिदै छन्, गलाभरि माला र अविरजात्रा । एउटा छुट्टै माहोल, मानौ एउटा महोत्सवकै आयोजना हुदैछ भने उता परिक्षामा अनुत्तिर्ण हुनेहरुको संख्या पनि कमि छैन । उसो त उनिहरुले पनि जाने र सकेसम्म कम्ति मेहनत त अवश्य पनि गरेका थिएनन् होला । यहाँ सफल हुने भन्दा पनि असफल हुनेको संख्या बर्षेनी बढदो छ, आखिर किन ? अनि सफल हुनेहरुलाई बधाई दिने हाम्रा जिब्राहरुले किन असफल हुने हाम्रा भाई बहिनीहरुको दुखेको मनलाई सान्त्वनाका दुई शब्द सम्म दिन चाहि कन्जुस्याई गर्छन् । फल स्वरुप आजसम्म एक दर्जन भन्दा बढिले त आत्महत्या नै गरिसकेको समाचारहरु प्रकाशमा आइरहेका छन् ।

यहाँ सफल र असफल हुनुको दोष जति सबै विद्यार्थी माथि थोपर्नु भन्दा पनि सरकारले सबैलाई समेट्ने प्रकारको समान शिक्षा नीति लागु नगर्नु/नगराउनु नै हो । जो आर्थिक हिसाबले सम्पन्न छ, शहरको बसाई, उसका सन्तानहरु प्राइभेट महङ्गा बोर्डिङ्ग स्कुलहरुमा पढने गर्दछन, महिनाको दशौं हजार फि तिर्ने, रात दिन ट्युसन र कोचिङ्ग क्लासहरु लिने मानौ, उसको सम्पूर्ण समय नै त्यहि पर्ढाईमा खर्चन्छ भने अवश्य पनि त्यो व्यक्ति सफल हुन्छ, राम्रो नतिजा ल्याउन सक्षम हुन्छ, तर हुम्ला, जुम्ला, डोटी, कर्णाली, संखुवासभा, ताप्लेजुङ्ग जस्ता हिमाली, पहाडी गाउँ वस्तीका गरिब परिवारका व्यक्तिहरु जो घरबाट १-२ घण्टा टाढाको एउटा सरकारी विद्यालयमा धाएर, ट्युशन कोचिङ्ग क्लासको त के कुरा विद्यालय समय भन्दा बाहेकको पुरै समय हलो, कोदालो, भारी बोक्ने जस्ता घरयासी कामकाजहरुमा नै खर्चिएर उसले पनि त्यहि फलामे ढोका पार गर्नु पर्छ भने अवश्य पनि उ असफल हुन सक्छ ।

हिजोको विदामा म बेलुका यसो डुल्दै पार्कमा पुग्दा एउटा बाजेलाई भेटे । सामान्य बोलचालकै क्रममा मेरो नातीले पनि एस.एल.सी.मा डिस्टिन्सन ल्याएछ भनि खुसि ब्यक्त गर्नु भयो । मैले बधाई छ भने । तपाईको नाती कहाँ र कुन विद्यालयमा पढनु हुन्थ्योनी ? मेरो प्रश्नको उत्तर दिदै बाजेले भन्नु भयो धरानकै प्रख्यात बुढा सुब्बा सेकेण्डरी बोर्डिङ्ग स्कुलमा । त्यस पछि म डुल्दै जाने क्रममा सेभेन इलाभेन (चौबिसै घण्टा खुल्ला रहने पसल) निर एक जना चिनेको दाईलाई भेटे । उहाँको छोराले पनि काठमाण्डौंको बुढानिलकण्ठ बोर्डिङ्ग स्कुलबाट एस.एल.सी.मा डिस्टिन्सन कटाएछ र त्यसैको खुसियालीमा भर्खर मात्र डिउटीबाट छुटिृ भएर र्फकदै गर्दा साथीहरुलाई बियर खुलाउनु भएको रहेछ । गफकै शिलसिलामा अब के पढाउने बिचारमा हुनुहुन्छनी त ? मेरो प्रश्न भुइमा खस्न नपाउदै वियरको घुट्को स्वाटृ पिउदै खै साइन्स पढेर पछि अमेरिकातिर पाईलट पढ्छु भन्छ…।

यसरी हङकङ, यु.के., अमेरिका, युरोपियन देशहरु जस्ता राम्रो कमाई हुने बाहिरी मुलुकमा आफ्ना आमाबाबा लगायतका परिवारजनहरु भएका, नेपालमै रहे पनि सेना, प्रहरी लगायत बैंक, भन्सार जस्ता दोस्रोबाटोबाट राम्रो आम्दानी हुने सरकारी तथा गैरसरकारी कार्यलयमा उच्च अहोदामा रहेका व्यक्ति तथा परिवारहरुको त एउटा छुट्टै माहौल छ, योजना छ मानौ उनिहरुसंग सबैथोक छ तर विचरा नहुनेहरुको नी त ? गाउँका विद्यार्थीहरु धेरै जसो त फेल हुन्छन् नै, बल्लतल्ल सेकेण्ड डिभिजन, थर्ड डिभिजनमा पास त भयो तर कहाँ पढने ? के पढने ? एक त आमा बाबा अशिक्षित उहाँहरुलाई नै यस बारेमा थाहा हुन्न, छोराछोरीलाई के बाटो देखाउने ? कहाँ लैजाने ? के गर्ने ? अर्को त साथमा टन्न पैसा हुन्न अनि फेरि एस.एल.सी.मा राम्रो मार्क नल्याएका र भनसुन गर्ने मानिस कोही नभएमा राम्रो क्याम्पसहरुले इन्ट्रान्स परिक्षा दिने, पढने मौका नै दिदैनन् । यति बेला मैले एक पटक म आफैलाई सम्झिन पुगे । संखुवासभा जिल्लाको दुरगम गाउँको एउटा विद्यालयमा म राम्रै विद्यार्थी थिए । २०५६ सालको एस.एल.सी. मा म विद्यालय सेकेण्ड भई उत्तिर्ण भए तर मेरो मार्क भनेको मात्र सेकेण्ड डिभिजन (५०%) थियो । यदि म पनि ति बाजेको नाती अनि दाईको छोराको ठाउँमा भइदिएको भए… ? अवश्य पनि तिनिहरुले ल्याएका मार्क ल्याउने थिए होला । ति बाजेका नाती र दाईका छोराले डिस्टिन्सन कटाएर उहाँहरु जति खुसी देखिन्थे सायद मेरो बाबाआमा म एस.एल.सी. पास हुँदा बढि नै खुसी हुनु भयो होला । किन कि गाउँघरको भाषामा डिभिजन भन्ने हुन्न, केबल पास या फेलमा सिमित हुन्छ । बोर्ड फष्ट, डिस्टिन्सन, फष्ट डिभिजन, सेकेण्ड डिभिजन भनेको उहाँहरुलाई के थाहा ?

गाउँका विद्यालयहरुबाट ५%-१०% विद्यार्थीहरुले मरितरि घुडा टेकेर पास त गर्छन, तर कुन विषय लिएर, कुन कलेज पढने ? एस.एल.सी. पास संगै कतिको पढने सपनाहरु त्यतिकै तुहिएर जाने गर्दछ भने कतिले गाउँ ठाउँबाटै १-२ घण्टा धाउँदा भ्याउँने १०+२ मा भर्ना हुन्छन्, अनि केही विद्यार्थीहरु धेरै गए सदरमुकाम यात राजधानीतिर छिरेर होटलमा भाडा माझ्दै १-२ वर्ष दुःखका साथ सरकारी कलेज धाउने गर्दछन् । त्यसपछि कतिले विवाह गरी घरजम बसाल्ने र बाउकै बिडो थाम्दै खेतीपाती तिर लागि पर्छन् भने कति चाही केही कमाउने सपना देख्दै साउदी, कतार मलेसिया जस्ता खाडी मुलुकतिर भासिन्छन् ।

सरी शहरीया हुनेखानेका छोराछोरीहरुलाई एस.एल.सी. एउटा फलामे ढोका होला, जुन पार गरेपछि उनिहरुले आफ्नो भविश्य निर्माणका लागि उच्च शिक्षा हासिल गर्न देश विदेशमा नाम चलेका विभिन्न कलेजहरुमा अध्ययन गर्न जालान् तर गाउँघरका गरिब परिवारका छोराछोरीहरुका लागि एस.एल.सी. फलामे ढोका नभई एउटा डाँडा माथिको डुब्नै लागेको घाम जुन जस्तै हो जहाँबाट उनिहरुले शिक्षाको अरु उज्जल भविश्य देख्ने, टेक्ने, लिने नभई त्यहि अरु १-२ वर्ष थलिएर वा पार गरि हाले तापनि अरु उच्च शिक्षाको अवसरबाट बञ्चित भई त्यहिबाट कतै हराउने, विलाउने, अस्ताउने गर्दछन् ।

Search This Site:

Comment on this Article:







Related Articles