BAGAICHA.COM

Home » General » Currently Reading:

अदिवासी जनजाति र अदिवासी जनजाति महिलाको भूमिका

Oct 1, 2013 General No Comments

bhavana
भावना परिष्कृत सुनुवार
जसरी हामी बिदेशमा गएपछि नेपाली हुनुको महत्व झल्किन्छ र झल्किनु पर्दछ, त्यसैगरी आफ्नो हरेक विशेष मौलिक अस्तित्वको पनि बोध हुनुपर्दछ र आफ्नो विशेषता झल्काउन सक्नु पर्दछ जसले आफ्नो छुट्टै पहिचानको सुन्दरता प्रष्ट्याई समाजको एक थप आयामको विकास गरी विविधताको सुवास र्छन मद्दत गर्दछ । अदिवासी जनजातिलाई बुझ्ने दृष्टिकोण पनि यसैगरी स्पष्ट र गौरवान्वित हुने किसिमको हुनुपर्दछ । धार्मिक, सांस्कृतिक, प्राकृतिक विविधिकरणको एक अङ्गको रूपमा अदिवासी जनजातिको भूमिका पनि विकसित र सुरभित हुन सक्छ । साथै विश्वका प्रत्येक महिलाहरूको साझा आन्दोलनको एउटा प्रवाहको रूपमा अदिवासी महिलाको भूमिका पनि गतिशील हुनुपर्दछ ।
हामी मध्ये कतिलाई चेत छ, गर्व छ आफू आदिवासी जनजाति भएकोमा भने कतिलाई त कुनै सरोकारै नरहेको तीतो लज्जास्पद यथार्थ पनि नभएको हैन । आफूसँग भएको अमूल्य रत्न जस्तो धर्म संस्कृतिको अपहेलना गरी गैर धर्म संस्कृतिमा आफ्नो पहिचान मैलाइ रहेका छौँ । जुन हामी अदिवासी जनजाति महिलाहरूको जातीय धर्म संस्कारभित्र पर्दैन तर लाग्छ बेलायतबासी सबै अदिवासी जनजाति महिलाहरू गैर पर्वमा रमाइ रहेका देखिन्छन् आफ्नो स्वअस्तित्वलाई बिर्सिएर । सद्भाव हुनु, आदर गर्नु छुट्टै कुरा हो तर आफ्नो पहिचान मेटाउने गरी आफ्नो जातीय अस्तित्वलाई धरासायी पार्नु भने पक्कै बुद्धिमानी कुरा हैन र नयाँ पुस्ताको निम्ति पनि हितकर छैन । हर सामाजिक र धार्मिक कुराहरूमा हामी अदिवासी जनजाति महिलाहरूले नै पुरुषहरू भन्दा बढी गैर धर्म र संस्कृतिलाई आफू र आफ्नो समाजमाथि हावी हुने क्रियाकलाप गरिरहेका छौँ ।
यस विषयमा बेलैमा सचेत हुनु जरूरी छ । त्यसैले आजको क्षण हामी दिदी बैनीहरूबीच अदिवासी जनजाति महिला महासंघ बेलायतको यो अधिवेशनको ऐतिहासिक महत्वपूर्ण अवसर पारेर “अदिवासी जनजाति र अदिवासी जनजाति महिलाको भूमिका” विषयमा एक छोटो र सरल चर्चा परिचर्चा उठाउने जमर्को गर्दैछौँ । अदिवासी जनजाति महिलाहरूको भूमिका, राज्यको हरेक अङ्गमा समानुपातिक सहभागिता भन्ने मूल नाराको साथ अघि बढ्दै बेलायतबासी अदिवासी जनजाति नारीहरूको आवाजले शक्ति बिष्फोटको नयाँ संघार पक्कै उघारेर छाड्नेछ भन्ने विश्वासको साथमा ।

अदिवासी जनजातिः
अदिवासी र जनजाति पर्यायवाची शब्द नभएर दुइ विपरीत भिन्न अर्थ बोकेको आफैमा एक वृहत शब्द हो । आफ्नो छुट्टै मौलिक पहिचान दिने, भाषा, संस्कार, धर्म र संस्कृति भएका एक राष्ट्रभित्रका र विश्वजगतभरका विभिन्न जात जातिहरू नै अदिवासी जनजातिहरू हुन् भने सम्पूर्ण मानव जातिहरू जनजाति हुन् ।
आफ्नो छुट्टै पहिचान दिने भाषा, लिपी, धर्म संस्कार, रीतिरिवाज भएका र नेपाल भारतको सर्न्दर्भमा हिन्दु वर्णाश्रमको व्यवस्थाभित्र नपर्ने जनजातिहरू नै नेपालको अदिवासी जनजातिहरू हुन् । जसको पहिचान दिलाउने आफ्नै भौगोलिक सीमाना समेत निश्चित हुन्छ । आज विश्वभरमा अदिवासी जनजातिहरूको सङ्ख्या ३७ करोडभन्दा बढी रहेको जानकारी छ । विश्वभरका अदिवासी जनजातिहरूको कथा व्यथा पनि उस्ताउस्तै मिल्दोजुल्दो छ । अदिवासीहरूको मूल धन भन्नु नै आफ्नो मौलिक भाषा, संस्कार, धर्म, भाषा, भेषभुषा, ज्ञान, कला र सीप हो । तर अदिवासीहरूको हरगुण र विशेषतालाई सदियौँदेखि गैर अदिवासी सत्ताधारी जनसमूदायबाट ओझेलमा पार्ने दुष्कार्य भइरह्यो र सबैभन्दा बढी विश्वभरमा नै अदिवासीहरूलाई उपेक्षित गरिएको छ । जसको परिणाम आज हामी अदिवासीहरूको मौलिक ज्ञान, सीप, कला, कौशल र भाषा संस्कार जस्ता अमूल्य निधिहरू मौखिकरूपमा किम्बदन्ती बन्न लागेको र बनि सकेको अवस्थामा छ । यसै गरी आफ्नो प्रकृति, भूमी, जल, जङ्गल, जमिनबाट समेत अलग्याइएको छ । भूमिलाई खनी खोस्री उर्वर बनाउँदै अन्नबाली लगाउने, पशुपालन गर्ने मानव विकासको ऐतिहासिक अवस्थादेखि कुनै एक निश्चित भूभागमा बेग्लै सामाजिक र सांस्कृतिक छाप छोड्न सफल जातिहरू सबै अदिवासी जनजाति हुन् जो आदिम बसोबाससँग सरोकार राख्दछन् । यसैगरी जो उद्यमसँग वा वंशजसँग सम्बन्ध राख्दछ हिन्दु वर्णाश्रमभित्र पर्दछ, उनीहरू जनजाति हुन हाम्रो राष्ट्रको परिप्रक्षमा ।

अदिवासी जनजाति महिलाको भूमिकाः
अदिवासीको विषय र महत्वको विषयमा धेरैलाई धेरै कुरा थाहा भए पनि आदिवासी जनजाति महिलाको विषयप्रति भने त्यति चासो गएको देखिएको अवस्था छैन । सदियौँदेखि राज्यले अदिवासी र गैर अदिवासी सम्पूर्ण् महिलाहरूलाई समाजको हरपहलमा विभेदले धुजाई धुजाईकन पछाडि पारेको छ । सम्पुर्ण महिलाहरू अनेकोँ सामाजिक विभेदबाट पछाडि पारिएको काल रातलाई चिर्ने प्रयास र महिला मुक्तिको सङ्घर्षले आज केही हदसम्ममा आफ्नो आन्दोलनलाई अगाडि बढाउन त सफल भएका छन् । तर महिला हिंसा र विभेदको दलदलबाट उम्कन भने अझै रत्तिभर सकेको हो भन्ने कुराको पुष्टि पनि हुन नसकेको विकराल अवस्था छ ।
नारी मुक्तिको विषयलाई उठाउँदा नारीहरूलाई र्सवप्रथम समान मानव अधिकार, शैक्षिक, आर्थिक, राजनैतिक, नागरिकता अधिकार र रोजगारीमा समान अधिकार प्रदान गरिँदै उन्मुक्त जीवन जिउन दिनु हो । तर यिनै मुद्दाहरूबीच अदिवासी महिलाहरूको मुद्दा भने समेटिने गरेको छैन । सम्पूर्ण महिलाहरूको साझा मुद्दाले अदिवासी महिलाहरूको सांस्कृतिक पहिचान बोकेको मुद्दालाई समेटन कदापि सक्दैन ।
हाम्रो नेपालको सर्न्दर्भमा अदिवासी जनजाति महिलाहरूको हक, अधिकार सम्पूर्ण महिलाहरूको अधिकारमा मेल खान सक्दैन । आफ्नो मौलिक सीप, कलाको संरक्षण गरिनुका साथै भाषिक र सामाजिक सांस्कृतिक अधिकारको व्यवस्था राज्यबाट अदिवासी महिलाहरूलाई हुनु अत्यन्त जरूरी छ । उदाहरणको लागि अदिवासी महिलाहरू विभिन्न घरेलु सामानहरू आफ्नै हातले बनाउँछन् । हस्तकलामा निपूर्ण यी महिलाहरू परम्परागत पहिरन, बाजा, सजावटका सामग्री, तानबाट धागो काती लुगा बुन्ने बाहेक खाद्य पदार्थ र पेय पदार्थ परम्परागत शैलीबाट तयार पार्थे । तर विभिन्न कारण र बहाना तेर्स्याई अदिवासी महिलाहरूको यी कतिपय जातीय सांस्कृतिक पहिचान दिने अधिकारबाट वञ्चित पारिएका छन् । जसको कारण आफ्नो जन्मसिद्ध अधिकार हननमा परी मौलिक प्रतिविम्व र कलासमेत गुमाई घोर अन्धकारमा आदिवासी महिलाहरू धकेलिएका छन् ।
अब यस्तो अवस्थाबाट पार पाउनको लागि सम्पूर्ण अदिवासी महिलाहरूले एक आपसमा सहकार्य गर्दै आफ्नो लोप भएको गुणहरूलाई झन् उत्थान गर्नतिर अघि बढ्नुको साथै राज्यको हरतह तप्कामा जस्तै सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक र रोजगारमा आफूलाई सक्षम बनाउने योग्यताको हतियार आफै जुर्टाई चलाउनुपर्ने हुन्छ । ग्रामीण घरेलुदेखि शहरिया कामकाजी महिला सबैलाई अदिवासी जनजातिसम्बन्धी चतनाले युक्त बनाउनु अति अनिवार्य भएको छ ।
यसै गरी आफ्नो मौलिक सीप, कलालाई लोप हुन नदिई बचाइ राख्न अदिवासी महिलाहरूले आफै जुट्नुपर्ने हुन्छ । न त अदिवासी पुरुषले, न त समाजको गैर अदिवासीले, न त गैर महिलाहरूले, कसैले पनि अदिवासी महिलाको सांस्कृतिक र समाजसँग जोडिएको विषय र मुद्दामा साथ दिन, मद्दत दिन सक्दैनन् ।
आफू अदिवासी जनजाति महिला हौँ भनी आफ्नो पहिचान राख्नको लागि पहिचानसँग जोडिएको कुराहरूसँग जोडिरहन अत्यन्त आवश्यक छ । समाज जतिसुकै आधुनिक भएपनि, विश्व भूमण्डलीकरणको प्रभाव जति नै झेल्नु परेपनि, हामी आफ्नो धर्म संस्कार, अदिवासी हुनुको मूल मंत्रबाट कदापि विचलित हुनु हुँदैन । यसको निम्ति आफ्नो मातृ भाषाको विरुवालाई आफ्नो सन्ततिहरूमा सारेर भाषालाई जिवन्तता दिने काममा अदिवासी आमाहरूको मुख्य दायित्व हुन जान्छ ।
हामी अदिवासी महिलाहरू आफ्नो पहिचान जगेर्ना हेतु कुनै स्तरबाट पनि पहल गर्दैनौँ भने बाँकी रहेको हाम्रो जातीय अस्तित्व नै बिलाएर जान सक्छ । यसर्थ भाषा, संस्कृति र रीतिरिवाजलाई अगाडि चुलाउँदै र फैलाउँदै लैजाने भूमिका नारीहरूकै मुख्य हुन जान्छ । “हामी त बेलायतमा छौँ, के काम, त्यो पाखे भाषा बोलेर ! अनि नेपाली त पढ्न आउँदैन मेरो नानीलाई, न त बोल्न नै, भो त्यो आफ्नो लिपीको कुरा गरेर मेरेको मुर्दा जगाउने वैदन्गी नवनौ होला ।” सुन्दा अति नमिठो र मन कुँडाउँने छ तर यो दुःख लाग्दो वचन र यस्तै मिल्दो यथार्थतासँग हामी कतिपय साक्षात्कार भइसकेको हुनुपर्छ ।
कुरा जतिसुकै निमिठो भए पनि यसलाई चेतनाको अभावले सृजेको अवस्थाहरू मान्नुपर्ने हुन्छ । हामी अदिवासी महिला र अदिवासी जनजाति के कति कारणले भएका छौँ र हामी को हौँ ? किन महत्त्व छ आफ्नो भाषा र संस्कृति आफ्नो मौलिक पहिचान दिने थाँत थलोको ? यी कुराहरू सबै अदिवासी महिलाहरूले बुझेका छन् भनी ढुक्क बस्ने अवस्था छैन । उसो त हामी राज्यबाट अपहेलित उपेक्षित भएर विभेदको शिकार बन्दै गएका छौँ । अदिवासी पुरुषहरूभन्दा अदिवासी नारीहरू शैक्षिक स्तरमा निकै तल छौँ । पुरातनवादी सोचले ग्रस्त पारी निलेको छ हाम्रो समाजलाई । हिन्दु संस्कारको प्रभाव परेको कारणले नै अदिवासी पुरुषले पनि नारीलाई विभेदको शिकार बनाउन सिपालु भइसकेको ज्वलन्त उदाहरणहरू हाम्रो समाजबाट छुपेका छैनन् ।
जेजति सचेत अदिवासी नारीहरू छन् अब उनीहरूको काँधमा सम्पूर्ण अदिवासी नारीहरूलाई चेतनशील गराउने जिम्मेवारी थपिएको छ । शिक्षा लिनबाट वञ्चित, पुरुषको कमाइमा पर निर्भरता, गैर अदिवासीको संस्कृतिसँग अत्याधिक लगाव, आफूमा भएको अन्याय अत्याचारलाई वा समाजको अन्याय अत्याचारलाई वा समाजमा अन्य नारीहरू माथि भएको हिंसा विभेदलाई खुलेर विरोध गर्न नसक्नु, आफ्नो पहिचान र आत्मनिर्णयको बोध नहुनु जस्ता अनगिन्ति कमी कमजोरीहरू छन् अदिवासी जनजाति नारीहरूसँग । यो सबै कुराहरूमाथि सुधारको पहल गर्नु आजका सचेत अदिवासी महिलाहरूको जिम्मेदारी हो । घरको जग बलियो छ र खम्बाहरू मजबुत छन् भने मात्र घरको आयु टिकाउ हुन्छ ।
समाज एक दुइ व्यक्ति ज्ञानी बनेर शुद्धिकरण हुँदैन । एक दीयोले लाखौँ दीयो बालेर उज्यालो बढाएझैँ बुझेका र उठेकाहरूले सुतेका र अबुझहरूलाई बुझाउनु पर्यो, जगाउनु पर्यो । तब मात्र आफ्नो सामान्यभन्दा सामान्य अधिकारबाट वञ्चित भएका, परम असुरक्षाबाट गुज्रिरहेका अदिवासी महिलाहरूको उत्थान सम्भव छ भन्ने कुरा अदिवासी नारीको भूमिकामा देखिने छ ।
कसैको अस्तित्वलाई समाप्त गर्नु छ भने उसको मर्ममा ताकेर हान्नु पर्छ, उ तेत्तिकै मरेर जान्छ । मातृभाषा नै मानिसको मर्म हो र यो भाषासँग उसको संस्कृति जोडिएको हुन्छ । मानौं शरीरसँग जीवन जस्तै भाषा खोसिएपछि संस्कृति मरेर जान्छ, संस्कृति मरेपछि त समाजको अस्तित्व नै मेटिएर जान्छ ।
विश्वभरका अदिवासी जनजातिमाथि यस्तै कुट्नीति र संयन्त्र रचिएको कुरालाई अब अदिवासी नारीहरूले बिफल बनाउन आन्दोलित हुँदै, अदिवासी जनजातिले उठाएको हर मुद्दा र सवालमा काँधमा काँध मिलाई क्रान्तिकारी ढंगबाट यात्रा जारी गर्नु, सम्पूर्ण अदिवासी जनजाति महिलाहरूले युग सुहाउँदो भूमिकाको निम्ति शङ्खघोष गरी गतिशील हुन अब रत्तिभर बिलम्ब हुनु हुन्न । सबैलाई आफ्नो अस्तित्वमाथिको चेत होस् ।
जय अदिवासी जनजाति महिला संघ युके !
जय अदिवासी नारी !
जय विश्वभरका नारी !

स्तम्भकार अदिवासी जनजाति महिला महासंघ, युकेका सचिव, हुन् ।

Search This Site:

Comment on this Article:







Related Articles