BAGAICHA.COM

Home » General » Currently Reading:

गाउँको विकासमा समर्पित “नजर”

Mar 7, 2014 General No Comments

Padma Najar

जन्मस्थान संखुवासभाको माम्लिङ र कर्मथलो रुकुमको झुम्लावाङ हुँदै हाल अमेरीकाको न्यूयोर्कमा प्रवासी जीवन व्यतित गरी रहेकी नेपाली गीतकार चेली पदमा लिंखा मगरको पहिलो सांगीतिक कोशेली हो “नजर” ।

विदेशको निरन्तर परिश्रम, व्यस्त समय अनि बाध्यात्मक परिस्थितिको संघर्षपूर्ण दैनिकीसँगै स्वदेशी सम्झनाका पलहरुमा मन-मास्तिष्कभरि उम्रिएका हार्दिक,कोमल र प्रेमील शब्द हरफहरुले “नजर”को निर्माण भएकोछ ।

“नजर”लाई श्रवण गर्दै जाने क्रममा कतै विगतको उन्मुक्त जिन्दगीमा पुगेर त्यो बेलाको उत्कुण्ठा, चाहना, उत्सुकता, आतुरता र उत्सर्गले मर्माहत भएर एक्कासी प्रीयतम/प्रीयतमालाई अंकमाल गर्न पुगे जस्तो हुन्छ भने कतै प्रेमलाई प्राप्ति नठानेर इश्वरीय आत्मको पवित्र मनमन्दिरमा देवता बनाएर राखिएको भान हुन्छ ।

अर्को पाटोमा राष्ट्रभक्तिगानले नेपाली हुनुको गौरव र कर्तव्यलाई सुमधुर पाराले सम्झाउँछ । यी श्रवणीय कुराहरु यतिमै थाति राखेर यस्को उद्धेश्य र अन्य प्रविधिक पक्षमा प्रवेश गर्नै पर्छ।जस्लाई उल्लेख नगर्दा “नजर”अँधेरो र अधुरो हुन जान्छ । आजभन्दा नौ महिना अघि अर्थात २०७० सालको असारमा “नजर”को शुभमुहुर्त भएको हो । निष्ठा म्यूजिक कम्पनिले उत्पादन र बजार व्यवस्थापन गरेको यस एल्बमको बिक्रीबाट प्राप्त हुने सम्पुर्ण रकम झुम्लावाङ भिलेज फाउण्डेशन (जेभिएफ -नेपाल) अर्थात झुम्लावाङ गाउँ संस्थापनाद्धारा संचालित झुम्लावाङ सामुदायिक स्वास्थ्य केन्द्र संचालन कोषमा जान्छ । सिआरबिटी र पिआरविटीबाट प्राप्त रकम स्वत संस्थाको खातामा गएर जम्मा हुने ब्यवस्था पनि भएकोछ । एल्बम(सि.डि.)बिक्रीबाट आर्जित रकम “नजर” बिमोचन भएकै दिन (ठीक एक बर्षमा) सो संस्थालाई हस्तारण हुन्छ । सहयोगको क्रम यसरी नै चल्नेछ ।

यो शुभकार्यमा उनको श्रीमानको मुख्य हौसला,साथ,सहयोग र माया रहेछ।श्रीमानकै सदिच्छाले “नजर” आएको कुरा पनि प्रष्ट पार्छीन उनी ।

नेपालको राष्ट्रियगान सर्जक व्याकुल माइला (प्रदीप कुमार राई) प्राज्ञ ,कवि श्रवण मुकारुङ्, वरिष्ट संगीतज्ञ अम्बर गुरुङ्,कवि तथा पत्रकार सचित राई लगायत अन्य धेरै व्यक्तित्वहरुले “नजर”को बारेमा धेरै कुरा बोलि सकेकाछन् । संगीतकार राजेश थापाको एकल संगीत रहेको “नजर”मा चर्चित/स्थापित गायक/ गायिका उदय सोताङ्, राजेशपायल राई,स्वरुपराज आचार्य, दिपक लिम्बु,अञ्जु पन्त, रीमा गुरुङ् होडा, संगीता रानाका सुमधुर र सर्वकालिन स्वरहरु समेटिएकाछन् ।
यसै एल्बमबाट उनको एउटा शब्द रचना(गीत) साभार :

नजरबाट टाढा भाग्यौ कलेजीमा किला ठोकी
छोड्यौ मलाई निष्ठुरी खुशी लग्यौ आफै बोकी

सुन्थें सधैं ईश्वरले नै जोडी बनाई पठाउँछ रे
एकोहोरो माया भए जुनीभरि रुवाउँछ रे
छायाँ बनी पछ्याइरहें लत्याइदियौ पाइला रोकी
छोड्यौ मलाई निष्ठुरी खुशी लग्यौ आफै बोकी

दोष मेरो के थियो र हृदयमा दियौ चोट
चोखो मनले माया गरें कुन्नि केमा देख्यौ खोट
कर्मै पनि के हो यस्तो मेरो मात्रै खोटो हो कि
छोड्यौ मलाई निष्ठुरी खुशी लग्यौ आफै बोकी

शब्द रचना: पदमा लिंखा मगर
संगीत: राजेश थापा
स्वर: स्वरूपराज आचार्य

Najar

यति मार्मिक,कोमल र प्रेमील गीत लेख्ने पदमा गजल लेखनमा पनि स्तरीय दर्जामा गनिन्छिन्।
उनको यो गजल राखें यहाँ-

हर मेरा सपनीमा, आउने मान्छे तिमी नै हौ।
मधुर धूनमा प्रीतको गीत, गाउने मान्छे तिमी नै हौ।

जिन्दगीको गोरेटोमा, ठोक्किएर चोट लाग्दा-
उठाएर मलम पट्टी, लाउने मान्छे तिमी नै हौ।

कल्पनाको सारथीमा, बहकिइ हण्डर खाँदा-
हराएको मुस्कान खोजी, ल्याउने मान्छे तिमी नै हौ।

इन्द्रेणीको रंग बेरी, मीठो सपना सजाउँ भन्दा-
थाहै नपाइ यो मुटुमा, छाउने मान्छे तिमी नै हौ।

यसरी आफ्नो जन्मभूमि नेपालप्रति कला/ कौशलको माध्यमबाट योगदान गर्ने प्रतिभाशाली गीतकार पदमालाई यो पङ्तिकार र बगैंचा डट कमको तर्फबाट बधाई एवं सफलताको शुभेच्छा छ ।

बज्र कुमार थुलुङ् राई

Search This Site:

Comment on this Article:

Related Articles