BAGAICHA.COM

Home » General » Currently Reading:

दशैं भर्सेज चासोक तङनाम ?

Nov 26, 2009 General 1 Comment

प्रदीप कन्दङ्वा (लिम्बू)

दई ठूला पर्वहरुको जन्जालबाट उम्किएर म भरखर फेरी तङ्ग्रिन खोज्दै छु । चाड पर्वहरुले जति उल्लास र उमङ्ग लिएर आउँछन् र जाँदा त्यतिकै थकान मात्र दिदैनन् ऋणको भारी समेत बोकाएर जान्छन् । यद्यपि चाड आईरहन्छ, चाड गईरहन्छ । मानिसको जीवनमा चाड पर्वको के महत्व छ, भनिरहन परोइन । जानेर नजानेर, चाहेर नचाहेर, नियतवस या अन्जानमा हरेक चाडले कुनै न कुनै धर्म या  सम्प्रदायसँग अटुट् सम्बन्ध बनाईरहेको हुन्छ । अर्को साँस्कृतिक पाटो पनि छ । सास्कृति र धर्म पनि परस्परमा अन्योन्याश्रृत सम्बन्ध राख्दछन् । गोरे बहादुर खपाङ्गीको नेतृत्वमा नेपालका आम आदिवासी जनजातिहरुले तथाकथित नेपाली मात्रको महान चाड दर्शैको विरोध र बहिस्कार गरे तर विडम्बना, एक चिम्टि अक्षेताको भरमा नेपालका शासकले गोरे बहादुरको जीवनभरीको कमाई ओम स्वाहा बनाइदिए । आज गोरे बहादुरको अस्तित्व आदिवासी जनजातिहरुको स्मृतिमा विस्मृत प्रायः भइसकेको छ सँगसँगै नेपालका तमाम आदिवासी जनजातिहरुले एउटा अपुरणीय क्षति समेत भोग्नुपरेको छ । गोरे बहादुर नेपाली शासकहरुको पहिलो शिकार भने अवश्य होइनन् र निश्चित छ अन्तिम पनि होइन । तर हामीले बुझ्नुपर्छ, अब उप्रान्त हामीलाई गोरे बहादुर बन्नु छैन । हामी क्रिसमसमा रमाउन सक्छौं, विदेशी नयाँ वर्षमा रमाउन सक्छौं, नेपालका क्षेत्री बाहुनहरु लोछार, चासोक तङ्नाम, साकेला, छट पर्व आदिमा आएर राम रमाईलो गर्न सक्छन् हामी मात्र दशैंको विरोध किन गरिरहेका छौं । प्रश्न स्वाभाविक रुपमा पैदा हुन्छ । तर नेपालमा लोछार र दशैंमा के भिन्नता छ ? चासोक तङ्नाम र दशैंमा के फरक छ ? साकेला र दशैंमा के फरक छ ? प्रश्न अरु जटिलरुपमा पैदा हुन्छ । हिजोसम्म नेपालको राज्यसत्ताले नेपाललाई विश्वको एकमात्र हिन्दुराष्ट्र र दशैंलाई नेपाली मात्रको एक महान चाडको मन्त्र घोटेर पिलायो । नेपालको वास्तविक सामाजिक र धार्मिक अनेकतालाई सत्ताको बर्कोले छोपेर केवल एक भाषा एक भेष, एक जाति एक देशको मूलमन्त्र जपायो । कसैले छातिमा हात राखेर भनोस के नेपालको सामाजिक धराताल त्यो हो ? होइन भने सविंधानतः नेपाल धर्मनिरपेक्ष राष्ट्र भइसकेको अवस्थामा समेत दशैं किन राज्यबाट संरक्षित छ ? चासोक तङनाम किन छैन ? छट पर्व किन छैन ? साकेला किन छैन ? यो के को भेदभाव हो ? दशैंको विरोधमा यो मात्र कारण छैन, इतिहासमा यस्ता थुप्रै कालखण्डहरु देखिए कि दशैं नमान्दा हाम्रा पुर्खाहरुले शासकको हातबाट अन्यायपूर्वक मृत्यु वरण गर्नपर्‍यो । गाईको मासु खाँदा शासकको गोली खानुपर्‍यो । आज एउटा बाहुनलाई जनई लगाए बापत मृत्युदण्ड दिइयो भने उसको स्थित कस्तो हुन्छ । दशैं मान्दा आज एउटा बाहुनलाई गोली ठोकियो भने के हुन्छ ? यि आदि कारणहरुलाई नजिर बनाएर हामीले दशैंको विरोध होइन संरक्षणवादको विरोध गर्दा क्षेत्री बाहुनहरु हामीलाई साम्प्रदायिक सदभाव भड्काएको आरोप लगाउँछन् । वास्तवमा साम्प्रदायिक को छ यहा ? आफ्नो अनुहार ऐनामा हेर्न आग्रह गर्दछु म । दशैंको होईन संरक्षणवादको विरोध किन, वास्तवमा यि माथिका उधृताशंबाट मात्रै यो प्रश्नको पुरा पुरा निदान हुन सक्दैन, अरु थुप्रै कारणहरु सँगसँगै जोडिएर आउँछन्,  यसबारेमा पहिला पनि लेखिएको र पछि पनि लेखिनेछ । आज नजिक आइरहेको किरात लिम्बू जातिको महान चाड चासोक तङनामको बारेमा केही लेख्न गइरहेको छु ।

चासोक याने न्वागी र तङनाम याने चाड अर्थात पर्व बराबर चासोक तङनाम अर्थात न्वागी पर्व अर्थात किरात लिम्वू जातिको महान चाड । यो दुनियामा प्रकृतिभन्दा ठूलो अर्को शक्ति केहि छैन । प्रकृतिभन्दा महान बस्तुपनि अरु केहि छैन । प्रकृति छ र नै यहाँ जीवनको अस्तित्व छ । प्राणी र मनुष्य जगतको तमाम आवश्यक्ताहरु केवल प्रकृतिबाटमात्र पुरा हुन सक्दछ । प्राणी र मनुष्य जगतको भरण पोषण केवल प्रकृतिबाटमात्र सम्भव छ । तसर्थ प्रकृतिभन्दा महान र प्रकृतिभन्दा शक्तिशाली अरु केही छैन यो हामी किरात लिम्बू जातिहरुको अटुट विश्वाश आजपर्यन्त उतिकै जिवित र उतिकै प्रबल रहेको छ । तसर्थ हामी प्रकृतिको पुजा गर्छौ र प्रकृतिलाईनै भगवान मान्दछौं र प्रकृतिको पुजाद्वारानै हामी तागेरानिङ्वाफुमाङसम्म पुग्दछौं । कुनै परलौकिक शक्ति भनेको कसैको निम्ति आस्थाको आधार हुनसक्ला तर विश्वाश र विज्ञानसम्मत त प्रकृतिपुजानै हो जसबाट हामी प्रत्यक्ष लाभान्वित हुन्छौं । तसर्थ चासोकमा हामी प्रकृतिले हामीलाई दिएको अन्न बाली सर्वप्रथम प्रकृतिकै हक बन्न जान्छ भनिकन पाकेको अन्नबाली प्रकृतिलाई अर्पण गर्दछौं । त्यसपछिमात्र हामी मानवजातिले त्यसको उपभोग गर्दछौं । यो न्वागीं पुजा नगरी अन्न उपभोग गरेको खण्डमा अनेक अनिष्ट हुने जनविश्वास पनि रहिआएको छ । यसरी वर्ष दिनको कठोर परिश्रम पश्चात अन्नबाली उठाउँदाको उल्लासपूर्ण दिनहरुलाई हामी चासोक तङनामको रुपमा मनाउँछौं ।  चासोक तङनामले लिम्वूहरुको मस्तिष्कमा चाडको रुप ग्रहण गरेको धेरै भइसक्यो तर यसले उनीहरुको मनमा आजपर्यन्त घर गर्न सकिरहेको छैन । हरेक पर्वको आ-आˆनै धार्मिक र साँस्कृतिक आयामहरु हुन्छन् । धर्म, साँस्कृति र पर्वलाई आपसमा छुट्याएर नियालेको खण्डमा यसको भेदको भेउ पाउन सकिन्छ । यसर्थ आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष भुपेन्द्र चेम्जोङको दशैंलाई नेपालीहरुको सामाजिक पर्वको रुपमा स्वीकार्न सकिन्छ भन्ने दलिलप्रती मेरो औपचारिक असहमती म यही लेखमार्फत जाहेर गर्दछु । हाम्रो आस्थाको केन्द्रमा दुर्गा नामको कुनै नारी शक्तिको स्थान छैन न कुनै नरभक्षी दानवको स्थान छ । दशैंलाई यि दुइवटा कुरासँग छुट्याइदियो भने दशैंमा अरु के बाँकी रहन्छ । कि दशैंमा दुर्गाको पुजा नगरौं टिका नलगाऔं तर मासु भात मजासित खाऔं भन्न खोज्या हो भने त्यो त हामी क्रिसमस, कुङहे फत्चोए आदिमा पनि गरिरहेका छौं नि । पर्व सामाजीक मात्र कदापि हुँदैन यो सामाजीक, साँस्कृतिक र धार्मिक तिनवटा तत्वको समष्टिरुप हो । हो दशैंमा हामी रम्न सक्छौं त्यसलाई सामाजीकरुपमा हामी दशैंलाई स्वीकारीरहेका छौं भन्न मिल्दैन यदि मिल्छभने त्यो स्थिति केवल हामीले क्रिसमस मनाएभन्दा फरक किसिमको कदापि होइन । दशैं तिहार क्रिसमस आदि आएजसरीनै चासोक तङनाम पनि आउँछ चाडको रुपमा वर्षमा एकै पटक मात्र तर यो मंकिहिलमा मात्र किन आउँछ ? पुर्व निश्चित स्थान र स्थितिमा मात्र किन आउँछ ? मान्छेको मन मनमा यो चाड किन आउँदैन ? मान्छेको घर घरमा यो चाड किन आउँदैन ? केटा केटीहरुको मनलाई छुन यो चाडले किन सक्दैन ? मोबाइलको एसएमएसहरुमा यो चाड किन आउँदैन ? पत्रिकाको पृष्ठहरुमा किन आउँदैन ? मान्छेको मुखाराविन्दबाट हृयाप्पि चासोक तङनाम भन्ने शुभकामना वाम्य किन झर्दैन ? किन  कि हामीले यो चाडलाई केवल औपचारिकताको घेरा भित्र बन्द गरिदिएका छौं ? हामीलाई लाग्छ मंकिहिलमा भेला भएर दुई चारवटा भाषण गरेर मासु पोली खाएपछि हाम्रो दायित्व समाप्त भयो अथवा चासोक तङनाम सकियो ? के चुम्लुङले चासोक तङनाम आयोजना गरेनभने हामी चासोक नमनाउने ? चासोकको उपादेयता यतिमात्रै हो त ? अवश्य होइन । हामीले चासोकलाई वास्तविक पर्वको रुप दिने प्रयत्न आ-आफ्नो स्थानबाट तदारुकताका साथ गर्नुपर्दछ । चासोक आएको खुशीयाली आपसमा सेयर गर्नुपर्छ । घरमा केटाकेटी र परिवारलाई चाड आएको अनुभुती दिलाउनुपर्छ । जसरी अरुहरु दशैं आउनुभन्दा महिनादिन अगाडिदेखी दशैं मान्ने योजना बनाउँछन्, आर्थिक चाँजो गर्छन, इष्टमित्र र आफन्तहरुसँग भेटघाट गर्ने योजना बनाउँछन् बिलकुल त्यसैगरी होइन तर त्यसरीनै हामीले पनि चासोकलाई ग्रहण गर्न सक्नुपर्दछ । आजभन्दा २ वर्ष अगाडिको चासोक तङनाम मैले घरमै मनाउने निश्चय गरें । योजना मुताविक ८, १० जना साथीभाई भेला भएर राती अबेरसम्म हाक्पारे गाएर सुनेर बसियो । त्यहि साल मैले व्यक्तिगतरुपमा पत्रिकामा शुभकामना छपाएं । यसपटक कम्तिमा ४० वटा एसएमएस पठाएर चासोक तङनामको शुभकामना बाँडे । ‘मैले ठूलो काम गरें’ त्यस्तो बिलकल होइन, यो एउटा परम्पराको थालनी गर्ने कुरा हो । अरु चाडमा हामी यसै त गरिरहेकाछौं । क्रसमसमा मेरी कि्रसमसको एसएमएस आएर मेमोरी कार्ड भरिन्छ । बाटो बाटोमा मान्छेहरु मेरी क्रिसमस भन्दै हिंडिरहेका हुन्छन् । पत्र पत्रिका आदिमा क्रिसमसको शुभकामना छ्याप्छ्याप्ती देख्न पाइन्छ तर चासोक तङनाममा त्यस्तो किन हुँदैन, साकेलामा किन हुँदैन । हामी आफ्नै अस्तित्वबाट भागेर कहाँ जान खोजीरहेकाछौं । अर्काको अस्तित्वलाई मान्न पहिलो शर्त हो आफ्नो अस्तित्वको बचाउ ? जब आफूसँग आफ्नोपन छैनभने अर्काको अस्तित्वमा रमाउनुको के अर्थ हुनसक्छ । त्यो त आफ्नो घर नछाउने अनी अर्काको घरमा गएर ओत लागेको जस्तो पो भयो । अर्को एउटा अत्यन्तै महत्वपूर्ण विषय यो कुरासँग जोडिएर आउँछ, जस्तै चासोकलाई पर्वको रुपमा हाम्रो पुस्तालेनै राम्रोसँग आत्मासात गर्न सकेको छैन भने पुस्तान्तरमा यो पर्वको स्थिति कस्तो रहला । त्यसै त हुर्किरहेको हाम्रो अर्को पुस्ता पश्चिमी र हिन्दी सास्कृतिको चपेटामा नतमस्तक बनेर रमाईरहेको छ । त्यसमाथि राज्यले किनारा तिर धकेलेको सँस्कृति । यस्तो विषम परिस्थितिमा हाम्रो पर्व हाम्रो सास्कृति हाम्रो पहिचान हाम्रो गौरव र हाम्रो भविष्यलाई आजैदेखि आत्मासात गरौं र आफ्नो अस्तित्व आफ्नै निम्ति संरक्षित गरौं ।

Search This Site:

Comment on this Article:







Related Articles