BAGAICHA.COM

Home » General » Currently Reading:

लिम्बुजातिको अमूर्त सांस्कृतिक सम्पदा संरक्षण

Mar 29, 2015 General No Comments

- डी.बी. आङ्बुङ लिम्बु

सम्पदा सामूहिक सम्पत्ति हो । यो कुनै समुदाय, जाति वा राष्ट्र र विश्वकै सम्पत्ति हुन्छ । यी सम्पदाहरू एक क्षण वा पुस्ताको मात्र नभई युगौंयुगका लागि हुन्छन् । सम्पदाहरू प्राकृतिक र मानव निर्मित सांस्कृतिक हुन्छन् ।सांस्कृतिक सम्पदालाई मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको रूपमा बुझ्न सकिन्छ। अमूर्त सांस्कृतिक सम्पदाले नै मूर्त र प्राकृतिक सम्पदाको पनि अस्तित्व धानेको हुन्छ ।त्यसो त, संस्कृतिलाई भौतिक र अभौतिक संस्कृतिको रूपमा पनि बुझ्न सकिन्छ तर, संस्कृतिसम्बन्धी विश्वप्यापी अध्ययन र संरक्षणका लागि कार्य गर्ने संस्था ‘‘संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ‘युनेस्को’’ले यसलाई मूर्त र अमूर्त संस्कृति वा सांस्कृतिक सम्पदाको रूपमा व्याख्या गरेको छ । यसकारण, यस आलेखमा विशेषतः यही युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि २००३ को आधारमा लिम्बुजातिको अमूर्त सांस्कृतिक सम्पदाहरूलाई पहिचान गर्ने तथा संरक्षणका उपायहरू पहिल्याउने कोसिस गरिएको छ ।
१ संस्कृति परिचय
हामीले भनिरहने ‘संस्कृति’ को खास अर्थ के हो ? संस्कृति भन्ने बित्तिकै कुनै सांस्कृतिक कार्यक्रम गरी नाचगान गर्नुलाई मात्र बुझिएको पनि हुनसक्छ ।खासमा, संस्कृतिको अर्थ एक्दमै व्यापक र गहन भएको पाइन्छ ।
(क) मानवशास्त्री ई. बी. टेलर (1871) का अनुसार– ‘‘संस्कृति भनेको मानिसले समाजको सदस्यको रूपमा आर्जन गर्ने ज्ञान, विश्वास, कला, कानुन, नैतिकता, प्रथा तथा अन्य सामथ्र्यता र बानी–व्यवहारहरूको समग्रता हो ।’’
(ख) मानवशास्त्री क्लाइड क्लकहन (1949:160)ले संस्कृतिकलाई मानिसको समग्र जीवनशैली, समुदायबाट वैयक्तिक रूपमा आर्जन गर्ने सामाजिक विरासत; सोच्ने, अनुभूतिगर्ने, विश्वास गर्ने शैली वा तौरतरिका; सामूहिकता र वास्तविकतामा व्यवहार गर्ने शैली, समुच्चित सिकाइको सङ्ग्रह, तात्कालिक समस्याहरूप्रतिको विशेषीकृत अभिमुखीकरण; सिकिएका व्यवहारहरूको निर्देशनात्मक अधिनियमका लागि संयन्त्र, बाह्य वातावरण र अरु मानिसहरू सबैसँग समायोजन वा अनुकूलनका लागि अपनाइने तौरतरिका वा विधिहरू; इतिहासको वेग वा गति; तथा यसबाट उब्जिएका निराशा, उपमा, मानचित्र वा निकालिएका कुरा अथवा मूल आसयका रूपमा आएका प्रतीक वा व्यवहारहरूको समग्रताका रूपमा व्याख्या गरेका छन् ।
(ग) मानवशास्त्री क्लिफोर्ड गीर्ट्ज (1973d:89) का अनुसार– संस्कृति भनेको ‘‘ऐतिहासिक रूपमा हस्तान्तरित वा प्रसारित विभिन्न प्रतीकहरूमा सम्मिलित अर्थ या आशयका रूप र परम्परागत अवधारणाका प्रणालीहरू प्रतीकात्मक रूपमा अभिव्यक्त गरिने स्वरूपहरू हुन् जुन माध्यमद्वारा मानसिहरूले आफ्नो ज्ञान तथा जीवनप्रतिको मनोभावलाई सञ्चार गर्दछन्, जीवन्त पार्दछन् र विकास गर्दछन्’’ ।सांस्कृतिक भन्ने शब्द संस्कृतिको विशेषण रूप हो । यसले संस्कृतिसँग सम्बद्ध विशेष कार्यकलापहरूलाई जनाउँदछ ।

(घ) नेपाल सरकारको राष्ट्रिय संस्कृति नीति २०६७ (नेपाल सरकार, २०६७:४) अनुसार संस्कृतिको अर्थ ‘‘विवेकशील मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जना अनुरूपको जीवनशैली नै मानव–संस्कृति हो । मानवले निर्माण व रचना गरेका सिर्जनाहरू भौतिक र अभौतिक गरी दुई किसिमका हुन्छन् । दुबै किसिमका सिर्जनाहरूलाई संस्कृतिका रूपमा सम्बोधन गर्ने गरिन्छ । जाति वा समुदाय विशेषका मानिसहरूको संस्कृतिलाई तत्तत् जाति वा समुदायको संस्कृतिको रूपमा चिनिन्छ । उदाहरणको रूपमा धिमाल संस्कृति, राई संस्कृति र लिम्बू संस्कृति आदि ।
२. सम्पदा चिनारी
डा. क्रिष्टिना अमेस्कुआ (2013:105) का अनुसार, सम्पदालाई भौतिक या अभौतिकता भन्दा पनि स्थिरता र गतिशीलतामा बुझ्नुपर्दछ । हुन त, मूर्त सम्पदाले मानव सिर्जनाका भौतिक उत्पादनहरूलाई नै जनाउँदछ । जुन एकपटक सिर्जना गरेपछि केही समयमात्र रहन्छ वा हस्तान्तरित हुँदैन । तिनीहरूलाई वर्तमान र भविष्यका सन्ततिहरूको उपयोग र आनन्दका लागि श्रद्धा गर्न, पुनर्महत्त्व दिन, संरक्षण गर्न वा बचाउन सकिन्छ । ती चिजहरू विशेष सामाजिक–ऐतिहासिक चिनोहरू हुन् । यसले समयको प्रवाहसँगै हामीलाई अघि बढाउँछ । हामीलई समाहित गराउँछ । तर, यो अनन्तसम्म रहन सक्दैन । तुलनात्मक रूपमा, अमूर्त सांस्कृतिक सम्पदा गतिशील हुन्छ र निरन्तर चलिरहन्छ । यो धेरै सन्ततिहरूसँगै विगतमा रहेजस्तै अहिले पनि जीवन्त रहन्छ । यो एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित भइरहन्छ । यसको आफ्नै हस्तान्तरित हुने क्षमता वा गुण हुन्छ । यसका अभ्यासकर्ताहरूद्वारा समय र परिस्थिति अनुसार यो सम्पदाको अङ्गीकार गर्ने प्रणाली हुन्छ । साथै, परिवर्तित समय र परिस्थिति अनुसार यसका नयाँ तत्त्व र अर्थहरू आत्मसात् गर्ने अवसर पनि हुन्छ । अमेस्कुआ (2013:7-8) कै अनुसार, अमूर्त सम्पदाको व्याख्या उत्तरआधुनिक विचारधाराले प्रभावित सांस्कृतिक सापेक्षतावादी सोचको परिणाम हो । यदि विश्व सम्पदाले बाह्य विश्वप्यापी मान्यतालाई विकास र बढावा गर्दछ भने अमूर्त सांस्कृतिक सम्पदाले युनेस्को महासन्धिको विधि प्रक्रिया अनुसार ‘प्रतिनिधित्वमा आधारित’ सूचीकरण गर्ने प्रणालीलाई उजागर गर्दछ । सांस्कृतिक सम्पदालाई मूर्त र अमूर्त तथा प्राकृतिक सम्पदा गरी तीन भागमा विभाजन गरिएको छ ।यसैगरी, कुरिन रिचर्ड (2004:70) का अनुसार, शिल्पकलाका साधनहरू मूर्त भएपनि यसलाई बनाउने कलाले यसलाई अमूर्त सिर्जनामा परिणत गर्दछ । साधनहरू मूर्त हुन् । तर, त्यसलाई बनाउने योजना तथा सीपहरू अमूर्त हुन् । यसले गर्दा मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूलाई संरक्षण गर्ने कार्य पनि महत्त्वपूर्ण हुन्छ । किनभने, कहिलेकहीँ मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने कार्य अन्योन्याश्रित रूपमा जोडिएका हुन्छन् ।विश्व सम्पदामा प्राचीन स्मारक, वास्तुशिल्प र प्राकृतिक स्थलहरू पर्दछन् ।
३. अमूर्त सांस्कृतिक सम्पदा
युनेस्को महासन्धि (2003) अनुसार, अमूर्त सांस्कृतिक सम्पदा वा जीवन्त सम्पदा भनेको हाम्रो सांस्कृतिक विविधताको मुख्य आधार हो र यसले सिर्जनात्मकताको निरन्तरताका लागि सुनिश्चितता कायम गर्दछ ।संस्कृतविद् तुलसी दिवस (सन् २००७:१) ले उल्लेख गरे अनुसार, सन् १९६० को दशकदेखि सांस्कृतिक सम्पदाको अवधारणा नाटकीय ढङ्गले विस्तार भएर आयो । भेनिस चार्टर (१९६४) ले ‘‘स्मारक र स्थानहरू’’ सम्बन्धी सन्दर्भ सामग्री बनायो । र, वास्तुशिल्पी सम्पदासँग सम्झौता ग¥यो, जसलाई तत्कालै भवनहरू, वास्तुकलाहरू, र औद्योगिक क्षेत्रलाई समेट्न विस्तार गरियो । बीसौ शताब्दीमा सम्पदा बन्यो । यसलाई नै मूर्त सम्पदाको रूपमा चिनियो । सन् १९८० को दशकबाट मानवशस्त्रबाट एक्दमै प्रभावित सम्पदा विज्ञहरूले गैर–मूर्त सम्पदाको महत्त्वको बारेमा बहस सुरु गरे । यसैलाई पछिबाट अमूर्त सांस्कृतिक सम्पदाको रूपमा नामकरण गरियो । अमूर्त सांस्कृतिक सम्पदालाई निरन्तर रूपमा विकास भइरहने व्यवहारहरू, अभिव्यक्तिहरू, ज्ञान, सीपहरू, तथा सम्बन्धित साधनहरू र स्थानहरूको समष्टिमा बुझिन्छ । यस्ता सांस्कृतिक सम्पदाले प्रथाजनित नृत्यहरू या कविताजस्ता विशेष अवयवहरूलाई स्वरूप प्रदान गर्दछ । यसलाई प्रायजसो मानिसको लोकजीवनअन्तर्गतका विश्वास, अभ्यास, कथा, हस्यौली र गीत आदिजस्ता कुराहरूले मौखिक या अन्य गैर–संस्थागत माध्यममार्फत् प्रसारित गर्दछन् । यसरी, अमूर्त सांस्कृतिक सम्पदा एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आउँछ र वातावरणीय एवम् सामाजिक अवस्था अनुसार परिवर्तित पनि हुँदै जान्छ । महत्वपूर्ण रूपमा, यसले मानवजातिलाई पहिचान र निरन्तरताको अनुभूतिक प्रदान गर्दछ । यसको गतिशील र तरल प्रकृतिका कारण यसलाई स्पष्टरूपले परिभाषित गर्न पनि कठिन हुन्छ । यस्तोखाले सम्पदालाई सङ्ग्रहित गरिराख्ने मुख्य भण्डार भनेको मानव मष्तिस्क हो र मानव शरीर यसको प्राथमिक साधन हो ।
४. अमूर्त सांस्कृतिक सम्पदा संरक्षण महासन्धि
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ‘युनेस्को’को २९ सेप्टेम्बरदेखि १७ अक्टोबर २००३ सम्म पेरिसमा सम्पन्न ३२ औं साधारणसभाले अक्टुवर १७ तारेख २००३ मा यो महासन्धि अङ्गीकार गरेको हो ।महासन्धिको धारा १ मा उल्लेख भएअनुसार यसका उद्देश्यहरू (क) अमूर्त सांस्कृतिक सम्पदा संरक्षण गर्नु; (ख) सम्बद्ध समुदाय, समूह तथा व्यक्तिहरूको अमूर्त सांस्कृतिक सम्पदाप्रतिको सम्मान सुनिश्चित गर्नु; (ग) स्थानीय, राष्ट्रियतथा अन्तर्राष्ट्रिय तहमा अमूर्त सांस्कृतिक महत्त्वको बारेमा जनचेतना जगाउनु, तथा एकापसमा कदरको सुनिश्चिता गर्नु, र (घ) अन्तर्राष्ट्रिय सहयोग तथा सहयता उपलब्ध गराउनु रहेका छन् ।युनेस्को महासन्धि २००३ ले धारा २ (१) मा परिभाषाहरू गरेअनुसार– ‘‘अमूर्त सांस्कृतिक सम्पदा भन्नाले प्रचलनहरू (Practices), प्रतिनिधित्वहरू (Represenations), अभिव्यक्तिहरू (Expressions), ज्ञान (Knowledge), सीपहरू (Skills) साथसाथै साधनहरू (Instruments), वस्तुहरू(Objects) , कला वस्तुहरू (Artefacts), र त्यससँग जोडिएका सांस्कृतिक स्थलहरू (Cultural Spaces), जसलाई ती समुदायहरू, समूहहरू तथा कतिपय अवस्थामा व्यक्तिहरू समेतले सांस्कृतिक सम्पदाको अङ्गको रूपमा चिनारी गरिरहेका हुन्छन्, लाई बुझ्नु पर्दछ । यो अमूर्त सांस्कृतिक सम्पदा, एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुँदै, समुदायहरू र समूहहरूद्वारा तिनीहरूको वातावरण, प्रकृति, तथा तिनका इतिहाससँगको अन्तर्क्रियाको पत्युत्तरमा निरन्तर रूपमा पुनरुत्पादन हुन्छ ।युनेस्कोको उक्त परिभाषा अनुसार, ‘‘अमूर्त सांस्कृतिक सम्पदा’’लाई (क) अमूर्त सांस्कृतिक सम्पदाको संवाहकको रूपमा भाषासहितका मौखिक परम्पराहरू तथा अभिव्यक्तिहरू (ख) अभिनय कलाहरू (ग) सामाजिक व्यवहारहरू, अनुष्ठानहरू तथा चाडपर्वका उत्वसवहरू (घ) प्रकृति र ब्रह्माण्डसँग सम्बन्धित ज्ञान तथा व्यवहारहरू (ङ) परम्परागत कलाकौशलताहरूको रूपमा बुझ्न सकिन्छ ।यसैगरी, युनेस्को महासन्धि २००३ अनुसार नै, ‘‘संरक्षण’’ भन्नाले अमूर्त सांस्कृतिक सम्पदाको जीवन्ततालाई सुनिश्चित गर्न लक्षित उपायहरू, खासगरी औपचारिक तथा अनौपचारिक शिक्षाको माध्यमद्वारा तिनको चिनारी, अभिलेखीकरण, अनुसन्धान, संरक्षण, सुरक्षा, प्रवर्द्धन, अभिवृद्धीकरण, हस्तान्तरण लगायत त्यस्तो सम्पदाको विविध पक्षहरूको पुनर्जीवनीकरणलाई समेत सम्झनु पर्दछ ।यो महासन्धिको आखिरी उद्देश्य भनेको सांस्कृतिक विविधता तथा मानव सिर्जनात्मकताका साथै यसको संरक्षणमा विशेष सम्मान अभिवृद्धि गर्नु हो ।युनेस्कोको सन् २००३ मा पारित गरी सन् २०१० मा अङ्गीकार गरिएको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि ती अस्तित्वमा रहेका परम्पराहरूलाई निरन्तरता दिने एक अनुपम संरचना हो ।हामीले हाम्रा अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण युनेस्कोको विधि र प्रक्रिया, आफ्नै सामूहिक पहल र परम्परागत निरन्तरता तथा आधुनिक प्रविधिको सहयोगमा गर्न सकिन्छ ।
५. लिम्बुजातिका अमूर्त सांस्कृतिक सम्पदाहरू
नेपाली संस्कृतिविद् तुलसी दिवस (सन् २००७:२–३) का अनुसार कुनै पनि जाति वा समुदायका अमूर्त सांस्कृतिक सम्पदाका कार्यक्षेत्रहरूमा (क) मौखिक परम्परा तथा अभिव्यक्तिहरू (ख) अभिनय कलाहरू (ग) सामाजिक व्यवहारहरू, अनुष्ठान तथा चाडपर्वका उत्वसहरू (घ) प्रकृति र ब्रह्माण्डसँग सम्बद्ध ज्ञान तथा व्यवहारहरू, र (ङ) परम्परागत कलाकौशलताहरू पर्दछन् ।नेपालको लोकसाहित्य र परम्पराको संरचनालाई पछ्याउँदा हामी नेपालको अमूर्त सांस्कृतिक सम्पदालाई (क) मौखिक लोकसाहित्य (ख) प्रदर्शनकारी लोककला (ग) प्रथाजनित लोकसाहित्य (घ) भौतिक लोकसाहित्यमा विभाजन गरेर पहिचान र अध्ययन गर्न सकिन्छ ।यस आधारमा आदिवासी लिम्बुजातिका अमूर्त सांस्कृतिक सम्पदाहरूमा लोकवार्ता,लोककला, शिल्पकला, परम्परागत लोक सङ्गीत, लोकनृत्व, लोक नाट्य लगायतका प्रदर्शनकारी लोककलाहरू, परम्परागत भजन, गाउँखाने कथा, उखान टुक्कालगायत पर्दछन् ।यसैगरी, लिम्बू जातिको परम्परागत आदिवासीय उपचार विधि पनि अमूर्त साँस्कृति सम्पदा नै हो । संस्कृतिविद् क्रिष्टिना क्रेप्स (2005:5) का अनुसार अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी महासन्धिले परिभाषित गरे वमोजिम आदिवासीय उपचार विधिले सैद्धान्तिकि रूपमा अमूर्त सांस्कृतिक सम्पदाको रूपमा हैसियत राख्दछ । यसका साथै, लिम्बुजातिको राजनीतिक थिति, सामाजिक थिति र धार्मिक थितिहरू पनि अमूर्त सांस्कृतिक सम्पदा नै हुन् । मुन्धुम र अनुष्ठानसँग सम्बद्ध ज्ञान तथा प्रचलनहरू; धाननाच र च्याबु्रङ नाचजस्ता गीत, नृत्यहरू र छेलोहान्ने लगायतका खेलहरू; वस्त्र तथा पोशाक सिउने सीपहरू; गरगहना बनाउने र लगाउने कलाहरू, विभिन्न खानाका परिकारहरू बनाउने ज्ञान र सीपहरू पनि लिम्बुजातिका अमूर्त सांस्कृतिक सम्पदाहरू हुन् ।लिम्बुजातिको मुन्धुम र इतिहाससँगसम्बद्ध ऐतिहासिक देवस्थल, तिर्थस्थल,
गढी, माङ्गेन्ना यक्÷लुङ्धुङ तथा उत्पत्तिस्थलहरूसँग जोडिएका विश्वास र सम्बन्धहरू पनि लिम्बुजातिका अमूर्त सांस्कृतिक सम्पदाहरू हुन् ।मुन्धुमविद् बैरागी काँइला (२०५५:घ) का अनुसार, लिम्बूजातिको लागि मुन्धुम भनेको जीवनको आधार नै हो । लिम्बूजातिको सामाजिक, सांस्कृतिक वा नैतिक र धार्मिक धारणा, आस्था र आचरणको चरम परिणति नै अनेक मिथक, गाथा र लोककथाहरूमा अभिव्यक्त भई श्रुतिपरम्पराको रूपमा युगौंयुगदेखि जीवित छ र तिनैको समष्टिलाई मुन्धुम् भनिन्छ । अतः लिम्बुजातिको याक्थुङ मुन्धुम् ‘मानवताको मौखिक एवम् अमूर्त सम्पदाको उत्कृष्टतम् रचना’ हो । यसर्थमा, याक्थुङ मुन्धुम् भन्नु नै लिम्बु जातिको मुख्य अमूर्त सांस्कृतिक सम्पदा पनि हो ।
६. युनेस्कोमा अमूर्त सांस्कृतिक सम्पदा सूचीकरण
युनेस्को महासन्धि २००३ को धारा १७ अनुसार तत्काल संरक्षण गर्न आवश्यक अमूर्त सांस्कृतिक सम्पदाको सूची उचित विधि र प्रक्रियाअनुसार बनाई सूचीवद्ध गर्दछ ।सूचीवद्ध गर्ने समितिले यो सूची स्थापना गर्न, अद्यावधिक राख्न र प्रकाशन गर्नका लागि आधारहरू तयार गर्नेछ तथा स्वीकृतिका लागि साधारणसभामा पेश गर्नेछ। साथै, अत्यन्त जरुरी विषयहरूमा समितिले सम्बन्धित पक्ष राज्यसँग सल्लाह गरी सम्बन्धित सम्पदाको विषयलाई सूचीवद्ध गर्न सक्नेछ ।यसरी, युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि २००३ को परिच्छेद ४ धारा १६ र १७ अनुसार मानवताको अमूर्त सांस्कृतिक सम्पदाको प्रतिनिधिमूलक सूचीमा सूचीबद्ध गर्न सकिन्छ ।
७. सांस्कृतिक सम्पदा र पहिचान निर्माण
विद्वानहरू बर्नट (सन् २००१) र लम्मी (सन् २००६) का अनुसार सांस्कृतिक मूल्य–मान्यताको विशेष कोटिको रूपमा सांस्कृतिक सम्पदाको मानव समूहद्वारा उत्पादन र राजनीतिद्वारा पुनर्उत्पादन हुन्छ ।सांस्कृतिक सम्पदाले बहुलवाद र ब्रह्माण्डवादको दुबै सवालहरूलाई सम्बोधन गर्दछ । यी सवालहरूलाई बुझ्नका लागि हामीले सांस्कृतिक सम्पदाका मूल्य–मान्यता तथा यसको पहिचान निर्माणको राजनीतिसँगको सम्बन्धलाई पत्ता लगाउन आवश्यक हुन्छ । यो यस्तो पहिचान निर्माणको राजनीति हो जसले सांस्कृतिक सम्पदालाई अरु समुदायहरूसँगको पृथकता या सम्बन्धनलाई पहिचान गर्न उपयोग गर्दछ भनी विद्वान ड्युरिङ -2011:18_ तर्क गर्दछन् । विद्वान ड्युरिङकै अनुसार, पहिचान निर्माणको राजनीतिले सांस्कृतिक सम्पदालाई सामाजिक सम्बद्धतामा रहेका प्रत्येकसँग उनीहरूको प्रतिष्ठालाई सुधार्नका लागि उपयोग गर्दछ । राजनीतिज्ञहरूले अवश्य पनि आफूलाई त्यो प्रत्येक मूलभुत समुदायको बीचमा आसिन गर्दछन् । यद्यपि, अभ्यासले के देखाउँछ भने संस्कृतिले उनीहरूको पहिचानको निर्माण गर्दछ न कि राजनीतिबाटै स्वतन्त्र रूपमा हुन्छ ।यसरी, आफैद्वारा निर्मित पहिचानहरू उच्चतम् रूपमा स्थितीय र सम्बन्धपरक हुन्छन् ।यसरी, सांस्कृतिक सम्पदाहरूको पहिचान, संरक्षण विकासले कुनै पनि जाति, राष्ट्र वा समुदायको राष्ट्रिय राजनीतिक पहिचान निर्माण गर्न समेत महत्वपूर्ण भूमिका खेल्दछ ।
८. लिम्बुजातिको अमूर्त सांस्कृतिक सम्पदा संरक्षण
लिम्बुजातिको अमूर्त सांस्कृतिक सम्पदा निर्माणको जग उनीहरूको मानवसमाज, संस्कृति र सभ्यताको विकाससँगै भयो । याक्थुङ् पुर्खा सावायोत्हाङ्हरूले लिम्बुजातिको अमूर्त सांस्कृतिक सम्पदा निर्माणको खास जग उठाए । यसको निरन्तरता लिम्बुजातिको परम्परागत सामाजिक तथा राजनीतिक संस्थाका बाहक तुम्म्याङ्हाङ तथा फेदाङ्मा, साम्बा, येबा/येमा, मुन्धुम्साबा, बैदाङ् र अङ्सि लगायतले दिए र दिइरहेका छन् । अहिलेआएर, लिम्बुजातिका अध्येता, विद्धान, लेखक, साहित्यकार, पत्रकार, कलाकार, समाजसेवी र राजनीतिकर्मीहरूको पनि अमूर्त सांस्कृतिक सम्पदालाई संरक्षण र विकास गर्नमा महत्त्वपूर्ण योगदान रहिआएको छ ।लिम्बु समुदायका सचेत व्यक्ति तथा संस्थाहरूको यत्रो कोसिस रहँदारहँदै पनि विविध कारणले अमूर्त सांस्कृतिक सम्पदाको यथोचित संरक्षण र विकास नभई कतिपय लोप हुने अवस्थमा छन् । यस अवस्थालाई मध्यनगर गर्दै लिम्बु जातिसँगसम्बद्ध किरात याक्थुङ चुम्लुङ लगायतका संस्थाहरूले आफ्नो सम्मेलनहरूमा गम्भीररूपमा बहस छलफल गर्दै यस्ता अमूर्त सांस्कृतिक सम्पदाहरूलाई संरक्षण र सम्वद्र्धन गर्नका लागि विभिन्न नीतिहरू अवलम्बन गर्दै आएका छन् ।यिनै बहस, छलफल र नीतिहरूका आधारमा अझ व्यवस्थित् रूपले गहन अध्ययन–अनुसन्धानका साथ व्यवहारिक परिणाम आउने गरी कार्य गर्न अत्यावश्यक छ । विशेषतः मौखिक परम्परामा सिमित रहेका अमूर्त सांस्कृतिक सम्पदाहरूलाई अर्को पुस्तामा हस्तान्तरण हुनेगरी यसका संयन्त्रहरूलाई सुचारु गर्न आवश्यक छ । सहजै हस्तान्तरण हुन नसक्ने सम्पदाहरूलाई आधुनिक प्रविधिको सहायताले अभिलेखीकरण, रेकर्डर छायाङ्कन गरी राख्नु जरुरी छ । यस कार्यमा लागिरहेका कलाकार र विद्धान अध्येताहरूको आपसी समन्वय तथा सामूहिक सहकार्यमा अझ प्रभावकारी ढङ्गले ती अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वद्र्धन गर्न सकिन्छ । यसका साथै, अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि २००३ अनुसार प्रक्रियागत रूपमा सूचीकरण गरेर लिम्बुजातिका अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्वद्र्धन गर्नु त छँदैछ । यद्यपि, यो कार्य पनि त्यति सहज र सरल भने छैन । यसमा संसारभर रहेका सबै लिम्बुजातिहरूको आपसी समन्वय र सामूहिक सहकार्य जरुरी छ । यसो हुनसके यही अमूर्त सांस्कृतिक सम्पदाहरूको माया र माध्यमले संसारभर रहेका सबै लिम्बुहरूको आपसी सम्बन्ध अझ सुमधुर हुँदै जानेछ ।लिम्बुवानी पहिचान अझ प्रगाढ हुँदै जानेछ ।

साभार:
तान्छोप्पा मासिक, वर्ष २०, अङ्क ३, २०७१ चैत्र,
सम्पादकः अमर
तुम्याहाङ, प्रकाशकः किरात याक्थुङ चुम्लुङ, ललितपुर, नेवाः ।
db limbu

Search This Site:

Comment on this Article:







Related Articles