BAGAICHA.COM

Home » General » Currently Reading:

एउटा चर्चित खेलाडीको हातमा हङकङको रिफ्यूजी कार्ड

Oct 21, 2015 General No Comments

topटोपबहादुर याक्खा
हङकङका नेपालीहरु माझ तेक्वान्दो पछिको लोकप्रिय खेल भलिबल । उक्त खेलको प्रत्येक प्रतियोगितामा कुनै न कुनै क्लबले नेपालबाट क्षेत्रिय तथा राष्ट्रिय स्तरका खेलाडीहरु ल्याउँने चलन पनि नयाँ होइन । त्यस्तै गरी केही महिना पहिले मात्रै एउटा संस्थाको क्लबले एक जना क्षेत्रिय स्तरका निक्कै चर्चित खेलाडीलाई ल्याएका थिए । उमेरले २०-२१ वर्ष पुगेका भाइको उत्कृष्ट खेल देखेर बनेका धेरै प्रशंसकहरु मध्ये म पनि एक थिए । खेलाडी भाइको खेल कला, हाइट अनि उमेरले गर्दा पनि सोचेको थिए केही वर्षपछि नै उनि राष्ट्रिय खेलाडी बन्नेछन र आफ्नो साथै देशको नाम उच्च राख्नेछन् । त्यस पछि पनि उनि केही खेलहरु खेल्न हङकङ आए रे भन्ने सुनेको थिए ।
भरखरै बाटोमा अचानक उनै भाइलाई भेट्दा भने म छक्क परें, किनकी यति बेला कुनै भलिबल प्रतियोगिता हुंदैछ भन्ने बारेमा मैले कहि कतै सुनेको थिइनँ र प्रचार प्रसार पनि भएको थिएन । उनलाई देख्न साथ भाइ आराम कुशलै हो भन्ने औपचारिकता निभाउँदै मैले सोधिहाले भाइ कहिले, कुन गेम हुँदैछ र आएको ?
मेरो प्रश्नको उत्तर त मैले ऊबाट पाइँन नै, तथापी भाइको कुरा सुनेर भने म छक्क परेँ । उनि त्यस्तो कुनै प्रतियोगितामा खेल्न नभई आफ्नो भविष्य बनाउँने सपना बुन्दै केही दिन पहिले मात्रै चाइनाबाट बोट चढेर अन्य केहीको साथमा रिफ्यूजीको रुपमा हङकङ भित्रिएका रहेछन् ।
अनि भाइ तिमी त्यस्तो राम्रो खेलाडी, खेल क्षेत्रमै तिम्रो भविष्य उज्वल थियो किन यसरी गैरकानुनी रुपमा हङकङ आएको भनि सोधेँ- मेरो कुरा भूइमा खस्न नपाउँदै भाइले प्वाक्क जवाफ दिई हाले- के गर्नु र दाई नेपालको हालत त्यस्तो छ, अनि फेरि म त कहाँ कुनाको खेलाडी, आफ्ना मान्छे ठाउँमा छैनन, यदि भाग्यबस राष्ट्रिय खेलाडीको रुपमा सेलेक्ट भइहाले पनि एक्लो ज्यानलाई खान लाउनै धौधौ हुन्छ खेलाडी जीवन…।
मसंग भाइको लागि कुनै जवाफ थिएन, अनि भाइलाई हङकङ ल्याउने एजेन्ट को हो ? वहाँ प्रति पनि मेरो कुनै गुनासो छैन । गुनासो छ त केबल नेपाल सरकार प्रति, अनि राम्रोलाई भन्दा हाम्रोलाई माथि तान्ने प्रवृति प्रति । गुनासाहरु धेरै छन संचारकर्मी र संचारका माध्यमहरु प्रति अनि हामी करोडौं जनाताहरु प्रति पनि । किन की फूटबलमा भएको म्याच फिक्सिङको कारण धेरै खेलाडीहरु पक्राउ परेर हाल अनुसन्धानको दायरामा हुँदा कसैले सर्वस्व सहित आजीवन काराबास त कसैले मृत्युदण्डको सजाय समेत होस भनेर विभिन्न सामाजिक सञ्जालहरुमा गालीगलौज गरिरहेका छौं, प्रत्येक समाचारका हेड लाईनहरु तीनै खेलाडी र म्याच फिक्सिङ्ग काण्ड बनिरहेका छन् । तर ति खेलाडीहरुले पाउँने तलब तथा सेवासुविधाहरु चै के कति थियो र छ – हो राष्ट्रका लागि गद्धार गर्ने त्यस्ता खेलाडीहरुलाई सख्त कार्बाही हुनु पर्छ । तर के आज नेपालका कुनै पनि एउटा खेलका राष्ट्रिय खेलाडीले खेल जीवनबाटै आफ्नो भविष्य सुनिश्चित गर्न सक्लान त ?
राष्ट्रका लागि गद्धार गर्ने भनिएका खेलाडीहरुको चर्चा यत्रो भइरहँदा अरबमा पसिना बगाईरहेका, मकाउमा पाले बनिरहेका अनि देश भित्रै पनि गिटृी कुटेर, बालुवा चालेर जिविकोपार्जन गरिरहेका राष्ट्रलाई चिनाउँने, मेडल दिलाउँने ति भाइ जस्तै सयौं हजारौं खेलाडीहरुबारे चै किन सरकार स्वयं अनि आमसंचारजगत देखि हामी जनताहरु समेत मौन छौं ? प्रश्नहरू स्वयंले समाधानको निश्चित बाटोहरू खोजिरहेको छ ।

Search This Site:

Comment on this Article:







Related Articles