BAGAICHA.COM

Home » General » Currently Reading:

“बान्तावा” भाषा, विस्तार र संरक्षण:

May 25, 2016 General No Comments

tilak walahang
तिलक वालाहाङ राई
मानिसका आवाज तथा शारीरिक हाउभाउहरूलाई बोलीबाट व्यक्त गरिने परिपाटी तथा एकअर्कामा विचार आदानप्रदान गर्ने प्रमुख साधनलाई “भाषा” भनिन्छ । मानव उत्पतिका साथसाथै यस पृथ्वीमा सृष्टि भएका भाषाहरू मोटामोटी ६ हजार ९ सय ९२ वटामध्ये ६ हजार ५ सय भाषाहरू प्रयोगमा छन् । करिब २ हजार भाषाहरू, १ हजार भन्दा कम्तिले बोल्ने गर्दछन् । विश्वमा सर्वाधिक बोलिने भाषाहरूमध्ये चिनिया मन्दारिन भाषा पहिलो, स्पेनिस भाषा दोश्रो, अंग्रेजी भाषा तेश्रो र हिन्दी भाषा चौथोमा पर्दछन् । माथि दिइएका ६ हजार ५ सय जीवित भाषाहरूमध्येका एउटा भाषा हो ‘बान्तावा’ भाषा ।
बान्तावामा भाषालाई ‘यङ’ भनिन्छ । बान्तावा भाषाको उदगम स्थल, एशिया महादेश अन्तर्गत हिमालय पर्वतको काखमा अवस्थित माझकिरात, नेपाललाई मानिन्छ । यसबाहेक, यो भाषाका वक्ताहरू भारत, भुटान, वर्मासम्म फैलिएका छन् । किरात राई समुदायका २४ भाषाहरू मध्ये बान्तावा भाषा सबैभन्दा बढी वक्ताले बोलिन्छ । संसारभरी यो भाषा लगभग ६ लाख जनाले बोल्ने गर्दछन् । बान्तावा भाषा नेपालका भोजपुर, खोटाङ, उदयपुर, धनकुटा, ताप्लेजुङ, ईलाम, पान्थर, तेह्रथुम, झापा, मोरङ, सुनसरी, सप्तरी, काठमाडौं उपत्यकालगायत भारतका सिक्किम, दार्जिलिङ, कालिम्पोङ, नागाल्याण्ड, आसाम आदि ठाउँहरूमा बोलिन्छ । अमेरिका, बेलायत र चीनको हङकङ आदि देशहरूमा यो भाषा प्रयोग गरिन्छ । वल्लोकिरात र माझकिरातका धेरै भूभागहरूबाट बसाइँसराइको अभियानमा पूर्व लाग्नु भएका सबै किरात राईहरूले बान्तावा भाषालाई नै आफ्नो मातृभाषाको रूपमा अगाल्दै आइरहेका छन् ।

सबै थरीका राईहरूले किन अँगाले बान्तावा भाषा ?
कुनै समयमा, नेपालको माझकिरातको हतुवागढी राजधानी बनाई बान्तावा भाषी राजाहरू हिन्दु सिंह वालिङ राई, हरिहर सिंह वालिङ राई, सुना वालिङ राई, कर्म वालिङ राई र अट्टल सिंह वालिङ राईहरूले राज्य गरेकाले आफ्ना राज्यमा बान्तावा भाषाको प्रयोग गरेको अनुमान लगाउन सकिन्छ । विेशेष गरेर माझकिरातका हतुवा, आम्चोक र दिल्पा छिनामाखु क्षेत्रमा बसोबास गर्ने गैरराईहरूमा पनि बान्तावा भाषामा सयौवर्ष अघिसम्म राम्रै दखल थियो । हतुवा, आम्चोक, दिल्पा छिनामखु र अरूण नदी पूर्वका वस्तीहरू लगायत भारतीय क्षेत्रहरूमा बसोबास गर्ने गैरबान्तावा राईहरू जस्तो- थुलुङ, कुलुङ, खालिङ, चाम्लिङ, साम्पाङ, हायु, कोयु, नाछिरिङ, दुङमाली, वाम्बुले, बाहिङ, छिलिङ, मेवाहाङ, लोहोरुङ, मारापाछे र पुमा आदि सबैले बान्तावा भाषा नै बोल्ने र लेख्ने गर्दछन् । बान्तावा भाषामा तीन भाषिका (लवज)हरू छन् । ती हुन्- हतुवाली, आम्चोके र दिल्पाली । लवज फरक भए पनि शब्दहरू फरक छैनन् । अरूण नदीपूर्व भारतसम्मका अत्यधिक राईहरूले हतुवाली र दिल्पाली लवजमा बोलेका पाइन्छ । २०४६ सालको दोश्रो प्रजातन्त्रपछि किरात राईहरूका भाषाहरू मध्येबाट बान्तावा भाषालाई माघ्यम भाषाको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र काठमाडौंबाट समाचार र गीतहरू प्रसारण शुरू भएको थियो । अहिले क्षेत्रीय प्रसारण कार्यालय धनकुटाबाट बान्तावा भाषामा समाचार लगायत विभिन्न कार्यक्रमहरू प्रसारण भइरहेका छन् । बान्तावा भाषाका प्रथम समाचार वाचकहरू हुन् चन्द्रकला राई र स्वर्गीय श्यामराज राई । बान्तावा भाषाको विकासमा प्रत्यक्ष-परोक्ष अभियन्ताहरू लागिरहेका छन् । अभियन्ताहरूमा प्रा. डा. नोवल किशोर राई, डिक बान्तावा, पदम वालाहाङ राई, चन्द्र हतुवाली, मित्र राई, जय सिवाहाङ, तिलक वालाहाङ राई, निराजन राजालिम राई, दीपक बान्तावा, जि.डी. राई, असीम बान्तावा, मनोज साङसोन राई, प्रभात शिवाहाङ (सिक्किम) र रमेश तेन्चिपा (कालेम्पोङ) आदि हुनुहुन्छ । यो भाषाले ‘राई भाषा’ को नामबाट भारतको सिक्किम राज्यमा राज्य भाषाको मान्यता पाइसकेको छ ।
बान्तावा भाषा, साहित्य तथा संस्कृति संरक्षणका लागि २०६१ साल मंसिर २४ गते बान्तावा भाषामा ‘बुङ्वाखा’ (फूलबारी) द्वैमासिक पत्रिकाको प्रकाशन काठमाडौं नेपलाबाट सुरू भएको थियो । तेश्रो अंकदेखि तिलक वालाहाङ राईको संरक्षकत्वमा पत्रिकालाई मासिक प्रकाशित सुरु गरी हाल १२औं वर्षसम्म यो निरन्तर प्रकाशन भइरहेको छ । बुङ्वाखाको माध्यमबाट, बान्तावा भाषी राईहरू बान्तावा भाषा विकासका खातिर अहोरात्र खटिरहेका छन् । बान्तावा भाषाबाट पिएचडी गर्ने प्रथम व्यक्तित्व प्राध्यापक डा. नोवल किशोर चाम्लिङ राईको कदमले मातृभाषी समुदायको आँखा उघार्ने काम गरेको छ । उहाँको प्रेरणाले अन्य किराती भाषाहरूमा शोध, अध्ययन, अनुसन्धान अघि बढाइरहेका सुखद पक्षहरू यत्रतत्र छन् । बान्तावा भाषा संरक्षण सम्वर्धनका साथै प्रचार प्रसारका लागि बुङ्वाखा परिवारले बान्तावा भाषामा योगदान पुराएका बान्तावा भाषी राईहरूलाई प्रत्येक वर्ष भिन्न भिन्न ठाँउहरूमा सम्पन्न हुने आफ्ना वार्षिक दिवसको कार्यक्रमहरूमा सम्मान गर्दै आइरहेका छन् । बुङ्वाखाको अभियानले गर्दा आज बान्तावा भाषामा साहित्य सिर्जनामा ठूलो टेवा मिलेको छ । बान्तावा भाषा संरक्षण, सम्वर्धन र विकासका लागि, काठमाण्डौंमा ‘बान्तावा शब्दकोष तथा व्याकरण निर्माण समिति’ गठन भई द्रुत गतिमा उद्देश्य पूरा गर्न समितिका पदाधिकारीज्यूहरू खटिरहनु भएको छ । ‘किरात राई बान्तावाखिम’, नेपाल पनि यथासम्भव भाषा खातिर बल गरिरहेको छ । बान्तावा भाषा प्रचारप्रसार र संरक्षणको लागि हङकङमा पनि ‘किरात राई बान्तावा यायोक्लाखिम, हङकङ’को आयोजनामा, १० अप्रिल २०१६ तथा येले दोङ ५०७६ को दिन ‘किरात राई बान्तावा भाषा प्रशिक्षण’ कार्यक्रमको समुदघाटन भव्यरूपले सम्पन्न भई, बान्तावा भाषामा, संस्थाको अध्यक्ष तिलक वालाहाङ राईले संक्षिप्त भाषा कक्षा सन्चालन गर्नु भएको थियो । हङकङमा निकट भविष्यमा बान्तावा भाषा कक्षा सन्चालन हुन गइरहेको छ ।

बान्तावा भाषालाई कसरी संरक्षण र प्रचारप्रसार गर्ने ?
बान्तावा भाषा दीर्घकालीन बचाइराख्‍नको लागि लिखित शब्दभण्डार र व्याकरणहरू अपरिहार्य छन् । यसका साथसाथै बान्तावा भाषामा बोल्ने, लेख्‍ने र पत्रपत्रिकाहरू लगायत विद्यालय र विश्वविद्यालयहरूका पाठ्यक्रमहरूमा समावेश गरिनुपर्छ । बान्तावा भाषामा बोल्दा वा लेख्दा यथासम्भव सतप्रतिशत बान्तावा शब्दहरू नै प्रयोग गर्न गराउन प्रयास गर्ने । आफूलाई शब्दार्थ वा बान्तावामा शब्द नआएमा, बान्तावा भाषाका अभियन्ताहरूसँग सम्पर्क राख्‍ने । बान्तावा भाषामा विविध विषयहरूमा लेख, गीतहरू रचना गर्ने र उचित ठाउँहरूमा प्रचारप्रसार गर्नु गराउन लगाउने । बान्तावा भाषामा शब्दहरू पुराका पुरा छन्, खोजविन गर्नमा अल्से नबनौ । बान्तावा बान्तावा तथा बान्तावाभाषी गैरबान्तावाहरूसँगका भेटघाट वा टेलिफोनमा कुराकानी हुँदा पनि बान्तावा भाषामा नै वार्तालाप गर्ने प्रयास गर्न गराउन प्रोत्साहित गरौ । आफैले सिकौ र अरूलाई पनि सिकाउँ । बान्तावा भाषामा बोल्दा कुरा बिग्रिन्छ कि भनेर कहिले नसोच्नुस, जानीनजानी बोल्ने लेख्ने बानी बसाउँ । बान्तावा भाषामा, आजका सिकारूहरू नै भोलिका अभियन्ता र विद्वानहरू हुन् । आलाङने ।

(लेखक किरात राई बान्तावा यायोक्ला (खिम) हङकङका अध्यक्ष हुन्) ।

Search This Site:

Comment on this Article:







Related Articles