BAGAICHA.COM

Home » General » Currently Reading:

विश्व शक्ति संघर्षको नयाँ रणभूमि

Jan 16, 2010 General No Comments

नेपाल राष्ट्र जन्मकाल देखि यही भूभागमा अखण्ड रुपमा कायम छ । विगत्‍मा अहिलेको जस्तो विदेशी चलखेल जस्ता कुरा थिएनन्‍ । यसैबेला किन नेपालको आन्तरिक राजनीतिले एक भन्दा वढी बाहिरी शक्तिहरूको दवाव खेप्नु परेको र ? नेपालमा स्थिर प्रणाली रहेका बेला र राजनीतिक परिवर्तन हुने क्रममा पनि विगत्‍मा विदेशी शक्तिहरूको चासो नेपालमा यति धेरै भएको देखिन्न ।

अन्तर्राष्ट्रिय शक्ति समीकरणमा आफ्नो प्रभूत्व अझ बलियो बनाउन र त्यस्तो प्रभूत्वको मारबाट जोगिन फरक शक्तिहरूले नेपालमा काम गरिराखेका छन्‍ । यी सबैको आ-आफ्नै स्वार्थ छन्‍ यहाँ । किन यसबेला नै यस्तो भएको भन्ने बुझ्‍न भूराजनीतिबारे ऐतिहासिक तथा रणनीतिक पृष्ठभूमि खोतल्नु पर्ने हुन्छ ।

 

म्याकिण्डरको सिद्धान्त

हालफोर्ड म्याकिण्डर एकजना वेलायती भूगोलविज्ञ थिए । विश्वका प्रमुख राष्ट्रहरूको राजनीति, अन्तर्राष्ट्रिय शक्ति संघर्ष र शक्तिमाथिको प्रभूत्वलाई म्याकिण्डर भूरणनीतिका आधारमा व्याख्या गर्थे । सन्‍ १९०४ मा सार्वजनिक म्याकिण्डरको ‘हार्ट ल्याण्ड’ सिद्धान्तले त्यसबेला युरोप र अमेरिकाका रणनीतिकारहरूको मथिङ्गल हल्लाइदिएको थियो ।

दोश्रो विश्व युद्धको समाप्ति पछि तेश्रो पटक संशोधन गरे पनि म्याकिण्डरले आफ्नो ‘जियोग्राफिकल पिभोट अफ हिष्ट्री’ शिर्षकको ‘हार्ट ल्याण्ड’ सिद्धान्तका आधारभूत मान्यता तथा भावी दिनको अवश्यम्भावी स्थितिबारे आफ्ना अडान परिवर्तन गरेनन्‍ । आजभन्दा एक सय पाँच वर्ष अघि उनले प्रक्षेपण गरे जसरी नै अन्तर्राष्ट्रिय शक्ति समीकरण आज पनि अघि वढेको पाइन्छ ।

पहिलो विश्व युद्धको संकेतसम्म पनि नदेखिएको वेला सन्‍ १९०४ मा म्याकिण्डरले ‘यस कारण, यी राष्ट्रहरू भयंकर युद्धमा सामेल हुनेछन्‍’ भनेर ठोकुवा गरेका थिए । भूगोल, भूराजनीति, त्यसबेलाको सैनिक तथा प्राविधिक क्षमताको स्तर आदिका आधारमा अत्यन्त वैज्ञानिक ढंगले यी भूरणनीतिका विद्वानले प्रक्षेपण गरेकै शैली तथा स्तरमा पहिलो विश्व युद्ध भयो । त्यसवेलाका ठूला विद्वानहरूबीच बहस चले पनि, उनको व्यापक आलोचना भए पनि म्याकिण्डर आफ्नो सिद्धान्त र निश्कर्षबाट टसमस्‍ भएनन्‍ । र कालान्तरमा त्यही भयो जे उनले भनेका थिए ।

दोश्रो विश्व युद्धको समेत भविष्यवाणी गरेका म्याकिण्डरले कहिल्यै सूर्यास्त नहुने वेलायती साम्राज्य यसकारण र यसरी खुम्चिने छ भनेर ठोकुवा गरेका थिए, धेरै वर्ष अघि सन्‍  १९०४ मा, जुन पछि वास्तविकतामा परिणत भयो ।

वेलायती साम्राज्य कमजोर हुने दावी निकै अघि नै गरेर वेलायती शासकहरूबाट खप्की खाएका म्याकिण्डरले संयुक्त राज्य अमेरिकाका बारेमा सय वर्ष भन्दा पहिले गरेका प्रक्षेपणहरू आजसम्म अलिकता पनि तलमाथि परेका छैनन्‍ ।

त्यसबेला जारको रुस रहेको भूगोलमा एउटा नयाँ महाशक्तिको उदय हुने भावी चित्रका साथै बीसौँ शताब्दीको मध्य सम्ममा विश्वव्यापी युद्धमा अमेरिका समेत सामेल हुने बताएका थिए, म्याकिण्डरले । मुनरो डक्ट्रिन त्यागेर विश्व शक्ति संघर्षमा खुला रुपमा मैदानमा आउने अमेरिका अर्को महाशक्ति बन्ने र युरोपेली शक्तिहरू कमजोर भएर जाने भविष्यवाणी यी रणनीतिकारले धेरै अघि गरेका थिए ।

पहिलो विश्व युद्ध पछि अमेरिकी सामरिक रणनीतिलाई व्यापक प्रभाव पार्न सफल यी वेलायती विद्वानले गरेको अर्को दावी पनि अनौठो तर स्वभाविक ढंगले सही प्रमाणित भयो । रुस भन्ने देश रहेको ठाउँमा एउटा महाशक्ति खडा हुने तर त्यो एक शताब्दी (एक सय वर्ष) पनि नबाँच्ने म्याकिण्डरको हिसाब अनुरुप नै सन्‍ १९१७ मा जन्मेको सोभियत संघको पतन सन्‍ १९९१ मा भयो । 

अमेरिकी शक्ति

भौगोलिक अवस्थितिका हिसाबले, सधैँ लडाइँ गरिरहने युरोप भन्दा टाढा रहेको संयुक्त राज्य अमेरिका महाशक्तिका रुपमा विश्वभर एकछत्र बन्न पुग्ने मात्र होइन, वाशिङ्गटनको यो प्रभूत्व केही सय वर्ष (कम्तीमा चार सय वर्ष) कायम रहने प्रक्षेपण म्याकिण्डरको थियो ।

वाशिङ्गटनको शक्तिलाई चुनौति दिएर उसलाई कमजोर पार्ने वा समाप्त पार्ने प्रयास हुने तर ती कुनै प्रयास सफल नहुने त्यसबेलाको रणनीतिक विश्लेषण गएको एक सय वर्षसम्म सही सावित भएको देखिएको छ ।

दोश्रो विश्व युद्ध पछि, समुद्री शक्ति माथि प्रभूत्व, पृथ्वीभरका सामरिक-रणनीतिक क्षेत्रहरूमा पकड र खनिज स्रोतमाथि नियन्त्रण, शक्ति संघर्षका प्रमुख आधार बन्न पुगेका थिए । झण्डै आधा शताब्दीको प्रत्यक्ष र छद्‍म भिडन्तमा अन्ततस: एउटा महाशक्ति सोभियत संघ पराजित भयो । र दोश्रो विश्व युद्धका बेला आफूलाई चुनौति दिन अघि सर्नेहरूलाई समाप्त पारे जस्तै पेण्टागनले पश्चिम एशियामा अर्को प्रतिष्पर्धी महाशक्ति सोभियत संघलाई समाप्त हुन वाध्य पारिदियो ।

भौगोलिक तथा रणनीतिक अवस्थिति मात्र होइन, अन्यत्रको तुलनामा लामो राजनीतिक स्थायित्व, द्रुत प्राविधिक प्रगति, एकता र दूरदर्शिता जस्ता तत्वले समेत काम गरेको छ, अमेरिकी शक्ति बिस्तारमा ।

नयाँ रणभूमि

शीत युद्धको समाप्तिसंगै अन्तर्राष्ट्रिय शक्ति संघर्षको रणभूमि बदलिएको छ । म्याकिण्डरका शब्दमा ‘क्रिसेण्ट’ तथा क्याप्टेन माहनका शब्दमा ‘रिम ल्याण्ड’ क्षेत्रमा यी दुबै विश्लेषकले भने जसरी नै वाशिङ्गटनका लागि संभाव्य चुनौति अहिले खडा छन्‍, चीन र भारतका नाममा ।

रणनीतिक आधारमा ‘क्रिसेण्ट’ वा ‘रिम ल्याण्ड’ मा रहेका कुनै पनि शक्ति दीर्घकालीन हुने छैनन्‍ र यी ‘शक्ति’ हरूले पृथ्वीभर प्रभूत्व विस्तार गर्ने अवसर तथा समय दुबै पाउने छैनन्‍ । एक सय वर्ष भन्दा अघि गरिएको यस्तो विश्लेषण कहिले, कुन स्तरमा र कसरी देखा पर्ने हो, त्यसका लागि पर्खनै पर्ने हुन्छ । 

यही पृष्ठभूमि बुझेर सोही अनुसार काम गरिराखेको विश्व महाशक्ति आफ्नो स्थिति अझ दरो बनाउन एउटा सानो तर महत्वपूर्ण क्षेत्र नेपालमा आगामी दिनमा झन्‍ प्रभावकारी बन्ने प्रयाशमा छ । अर्कातिर, महाशक्तिको मारबाट बच्न आफू दरो बन्ने प्रयाश ‘संभाव्य महाशक्ति’ हरूले गरिराखेका छन्‍ ।

सात समुद्रपारीको महाशक्ति र हाम्रा छिमेकीका रुपमा रहेका ठूला शक्तिहरूको यो प्रतिष्पर्धाको मारमा यसबेला हामी परेका हौँ । यिनीहरूको प्रभाव र दवाव कति तथा कुन स्तरको छ भन्ने कुराको छनक हामीले गएको तीन वर्षमा पाइसकेका छौँ । विस्तृत तथा पूर्ण परिणाम थाहा पाउन कुर्नै पर्ला । किनभने भोलिको स्थितिकाबारेमा अग्रिम विश्लेषण गर्ने क्षमता कस्तो थियो र छ भन्ने विगत्‍ले देखाइसकेको छ ।

होइन भने, त्यस्तो क्षमता हुन्थ्यो भने, दक्षिण भारतको वेलिङ्गटनमा रहेको सैन्य तालिम प्रतिष्ठानका वेलायती प्रशिक्षक जेनरल डब्लु. डि. ए. लेण्टागे (जेनरल ‘जो’) ले सन्‍ १९५० को अक्टूबरमा देखेको चित्र दिल्लीका शासकले पनि देख्ने थिए र सन्‍ १९६२ को मार भोग्नु पर्ने थिएन कि ! त्यस्तै, राष्ट्रिय स्वार्थका लागि रणनीतिक चालमा दूरदृष्टि हुन्थ्यो भने ‘एक चीन’ भनेर हरेक हप्ता जस्तो कराइराख्नु पर्ने थिएन कि !

दीपक गजुरेल

Search This Site:

Comment on this Article:







Related Articles