BAGAICHA.COM

Home » General » Currently Reading:

गढीमाईको राँगा, माङसेबुङको चामल र हङकङको कुखुरा

Jan 19, 2010 General No Comments

प्रदीप कन्दङ्वा (लिम्वू)

बाह्र बर्षे गढीमाई मेला र त्यसको उत्कर्षित भयानकताबाट बिक्षिप्त मथिङ्गल घुमिरहेको छ फनफनी, यस्तरी कि मानौं अब बिना रगत तिर्खा स्वयम् तिर्खाइरहन्छ अर्को बाह्र बर्ष । यो बैज्ञानिक चमत्कारको युग, यो प्रबिधि र आविस्कारको युग, यो साइबरकृत विश्वग्राम खै के गरी मानौ ? सबै राँगाहरू नतमस्तक छन् । पशुहरू सबै अवाक छन् । सभ्यता र वैभवताको खुराफाती खुँडा झ्याप कि झ्याप मुक पशुको गर्धनमा उत्रीएपछि समृद्ध जीवनको अभिप्सा चाँहि यतीबेला बेसमारी हाँसीरहेको छ । यी माई, दुर्गा, भगवती, देवी र देवता जती सबै किन खुङखार हुन्छन् रक्तपिपासु । यीनलाई मन्दिर, देवल र आस्थाकेन्द्रहरूबाट बाहिर निकाल र नङग्याउ सरेयाम ति पशुहरूको बिचमा । दुर्गा, देवी र गढीमाईहरूको आधुनीक तर पुर्ण बस्त्रहरण गर र हेर तिनका अंग प्रत्यङ्ग जो पुष्टतामा पशु पन्छिका रगतहरूले भरिएको छ । कि तिनलाई डिजिटल दुर्योधनको जङ्घामा राख र हाँस अट्टाहस हाँस । कि तिनलाई छदाउ त्यो मुक पशुको आलो रगत जस्ताको तस्तै र लगाईदेउ धोती त्यो कथित धर्म, परम्परा, संस्कृति र संस्कारलाई । अर्काको रगत पिएर खुशी हुने यो कस्तो देवत्व हो ? कि यो असिम खुराफाती नाटकको मोचन को गरिरहेको छ ? भगवान माथी आस्था राख्नेहरू ? कि देवी देवता उपर विश्वाश गर्नेहरू ? हुनसक्दछ, जसले भगवानलाई नजरबन्दमा राखिरहेको छ । हुनसक्दछ, जसले आफ्नो आस्थालाई मन्दिरभित्र कैद गरेको छ । त्यहीं हुनसक्दछ यो दुनियाँको सब से खुङ्खार खुराफाती, जो नाटक गर्छ धर्मको नाममा, आस्थाको नाममा, परम्परा र संस्कृतिको नाममा । यो संसार, यो दुनिया, यो ब्रम्हाण्ड, यो चराचर जगत, यी प्राणीहरू सबै सबै भगवानको रचना हो भन्दै तिनलाई मनाउन, तिनलाई खुशी तुल्याउन तिनकै सृजनाको बिभत्स हत्या जसले गर्छ, आफ्नो जीवनको समृद्धार्थ, आफ्नो भाग्यको ढोका खोल्न त्यहीं हो त्यहीं हो यो दुनियाँको सबसे खतरनाक दैत्य, दानव, राक्षस या अरु-अरु जे-जे बिशेषण छन् सबै-सबै । या त फेरी अन्धविश्वाशको भुमरीमा खादारिएको आस्था अर्थात भनौं विश्वाश । के विज्ञानको कसींमा प्रमाणित उत्रीन सक्छ त्यो आस्था, त्यो विश्वाश । हिन्दु परम्परामा बलिप्रथाको पराकाष्ठको नमुना नरमेघ अर्थात मनुस्य बलि देखिएको छ । प्राचिन भारतबर्षमा राजा महाराजहरू अस्वमेघ नरमेघ नामका ठुल्ठुला यज्ञ महायज्ञहरू गर्दथे । हजार घोडा, हजार गाई, हजार हात्तीको बली चढाएर राजाहरू आफूलाई शक्तीशाली भएको दावि गर्दथे त्यसैको अत्याधुनिक झल्को दिएको छ गढिमाई मेलामा काटिएका बिस हजार राँगाहरूले । हामी एक्काइसौं सताब्दिका मान्छे, फुँइ लगाउँछौ, हामी सभ्यताको चरम चुलिमा छौं, हामी चन्द्रमामा ब्रेकफास्ट गर्न जाने सम्भावनाको खोजीमा छौं र संग-सगैं हामी एउटा मुक पशुको बली चढाएर, अनुष्ठानको नाममा रक्तपात मच्चाएर आफ्नो समृद्ध जीवनको भिख मागीरहेका छौं । यो कति विज्ञानसम्मत छ ? यो कती तर्कपूर्ण छ ? विश्लेषण किन हो भईरहेको छैन ।

युरोपको मध्ययुगीन समाज अन्धविश्वाशको भुमरीमा लिप्त थियो । अलौकिक शक्तिप्रति उनिहरूको अन्ध आस्था र अन्धविश्वाशले समाजलाई खर्लप्प निलेको थियो । भगवानको आरधना गरेपछि सब कुरा प्राप्त हुन्छ भन्ने उनीहरूको अगाध विश्वाश थियो । राजालाई उनीहरू भगावानको साक्षत अवतार मान्दथे । उनको बोली देव बच्चन बराबर मानिन्थ्यो । पादरीहरू पनि राजा बराबर शक्तिशली मात्र होइन जाली पनि त्यतिकै हुन्थे । पादरी र राजाको बोली काट्न भगवानको बिरुद्धमा उभिनु जस्तो थियो । यसरी पादरी र राजा मिलेर निर्धा निमुखा जनताको निर्बाध शोषण गर्दथे । तसर्थ युरोपको समाज केही शताब्दिसम्म अन्धकारमा रह्यो । यसले युरोपमा पुनर्जागरण निम्त्यायो । पुनर्जागरणकालमा युरोपबासीहरूले अन्धविश्वाशबाट आफूलाई मुक्त गर्ने पहिलो प्रयास गरे । राजा  पादरी र समाजले अपनाई आएका हरेक कुराहरूलाई विज्ञानको कसिमा जाँचेर हेरे र विज्ञानले प्रमाणित गर्न नसकेको कुराहरूलाई उनीहरूले अस्विकार गरे । अन्ततः युरोपियन समाज उन्नतिको मार्गमा अग्रसर भयो । त्यसोत हामी त्यो अवस्थाबाट भरखरै मुक्त भएका छौं । हामीले मानिदिएको बिष्णुको अवतार प्रकारान्तरले आजतक जिउँदै छन् भने पन्डा पुरोहितहरू पनि रन्थनाइरहेका छन् । समाज रुपान्तरणको कुरा भईरहेको छ यतिखेर एकातिर अर्कोतिर बीसहजार राँगाको बलि चढाइरहेकाछौं हामी । राजनितिक रुपमा मात्र रुपान्तरित समाजले कस्तो उन्नती गर्ला ? हामीसंग जोडिएका सामाजिक संस्कारहरूलाई हामीले पनि विज्ञानको कसिमा घोटेर हेर्ने कि ? जस्तो युरोपियनहरूले ७, ८ सय बर्ष पहिले गरे । बीस हजार राँगाको बलि चढाएपश्चात हाम्रो जीवनमा के अन्तर आयो अब यो जाँच्ने होकि ? हाम्रा संस्कारहरू छन् हामीसंग हाम्रो संस्कृतिको रुपमा । संस्कृति हाम्रो समाजको प्राण हो जीवनको सौन्दर्य । तर संस्कारको नाममा, परम्पराको नाममा हामीसंग धेरै कुसंस्कार र खराव परम्पराहरू छन् । जसले हाम्रो समाज र हाम्रो जीवनलाई कुरुप र भद्दा बनाईरहेको हुन्छ । सदियौंदेखी मान्दै आएको गर्दै ल्याएको भनेर त्यसलाई सदा मानिरहनुपर्छ भन्ने तर्क आफैंमा भ्रामक र तर्कहिन छ ।   यदि त्यो खराव छ र विज्ञानसम्मत छैन भने त्यसलाई त्याग्न हामिले हिचकिचाउनु हुँदैन । जस्तै दाइजो प्रथा, हामीले छोड्दै ल्याएकाछौं, लिम्वूजातीमा प्रचलित सुनौली रुपौली प्रथा हामीले छोड्दै ल्याएकाछौ त्यस्ता अनेक प्रथाहरू हामीले मानिल्याएका थियौं सदियौंदेखी तर हामीले त्याग्यौं तर यो बलिप्रथा चाँहि अझ जब्बर बनेर बसेकै छ । के यो दुर्गा, देवी, माई र भगवतीहरूको शक्तिले गर्दा भएको हो । हुन त हाम्रा भगवानहरू छन् नै त्यस्ता, दुध र लड्डु भने पछि मरिहत्ते गर्छन् हाम्रा गणेश जी अरुको के कुरा गर्ने । धन्य छन् गणेश जी कम्तिमा यिनी ननभेज लिंदैनन् ।

 बलि अर्थात भोग दिने प्रथा जतिकै निन्दनीय र ढोगीं छ यज्ञ, महायज्ञ, होम, कोटिहोम, अनुष्ठान आदिको नाममा चामल, घ्यु लगायतका अन्य मानवपयोगी पदार्थ नष्ट गर्ने काम पनि । पशुपतिमा जति फूल, फल, चामल या भेटि चढाए पनि नेपालको अनुहार कहिले फेरिन सकेन । कि अब बीस हजार राँगाको रगतले नेपाली जनताको अनुहार पखालिन्छ कि हेर्न बाँकि छ । उता माङसेवुङतिर पनि आजभोली बेसमारी चामल र घ्युको खपत हुन्छ रे । म किरात धर्म दर्शनको पक्षपाति हुँ तर किरात धर्मभित्र सुधारको आवश्यकता छ । यथास्थितिमा यो धर्मले अगालेको मार्ग बैज्ञानिक पटक्कै छैन । किरात धर्ममा पनि धार्मिक आडम्बरको गन्ध आईरहेको आभाष हुन्छ । नेपाली समाजको संस्कारगत धरातालबाट किरात धार्मिक दर्शन पृथक रहन सकेको छैन । किरातीहरूले सदियौंदेखि अगिंकार गरिल्याएको प्रकृतिप्रतिको अटल आस्थालाई केन्द्रमा राखेर हेरेको खन्डमा किरात धार्मिक दर्शन अरु धार्मिक दर्शनहरूभन्दा पृथक र अब्बल देखिने छ । प्रकृतिपुजा भन्दा भन्दै पनि किरातीहरूले आफ्नो संस्कारमा बली या भोगप्रथालाई आजपर्यन्त कायमै राखेका छन् । महागुरु फान्गुनन्दले इश्वरमाथी आस्था राख्नेहरूले उनको सृजनाको हत्या नगर्नु भन्ने उपदेश दिएका थिए तर किरात समुदायले यो उपदेशलाई अक्षरस पालन गरेको भने देखिएन फेरी प्रकारान्तरले यसमा बिचलन भने अबश्य आएको छ । त्यसको पछिल्लो उदाहरण हामी हङकङलाई लिन सक्छौं । यहाँको किराती समाजमा कुनै पनि धार्मिक या साँस्कृतिक अनुष्ठानमा भोग, बली, पशु पन्छि हत्या या रक्त अर्पण गरिनु हुन्छ कि हुँदैन भन्ने विषयमा ब्यक्ती बहस चलिरहेको बेला यो बहसले हङकङको राई समुदायमा भने औपचारिक रुपमै प्रवेश पाएको छ । हङकङको राई समुदायले उधौली उभौलीको अवसर पारेर गर्ने गरेको चुलापूजा पनि प्रकृति पूजाभन्दा किमार्थ पृथक छैन तर उक्त अनुष्ठानमा कुखुरा काटेर त्यसको आलो रगत पितृलाई अर्पण गरिन्छ । उद्देश्य यहि हुन्छ कि पितृ खुशी होउन र उनको कृपाले हाम्रो जीवन समृद्ध बनोस । दुई कित्तामा बिभक्त राई समुदायहरूले आ-आफ्नै दलिलहरू पेश गरेका छन् । यसबिचमा बहस निकै गर्माएको खबर समेत बुझिन आएको छ । कुखुरा काटिनुपर्छ भन्नेहरूको भागमा उहि परम्परागत तर्कले स्थान पाएको छ भने काटिनु हुँदैन भन्नेहरूको भागमा कम्तिमा पूजा जस्तो पवित्र अनुष्ठानमा हत्याजस्तो जघन्य कर्म नगरौं भन्ने तर्कले स्थान पाएको छ । यो मामिलामा किरात राईहरू निकै अग्रगामी देखिएको आभाष हुन्छ । बलि या भोग प्रथाले जरा गाडेर बसेको नेपाली समाजमा कम्तिमा राई समुदायभित्र यसले औपचारिक बहसको स्थान पाउनुले अवश्यपनि अग्रगमनको संकेत गदर्छ । भोग बलीप्रथाको बिरोध गर्ने तर मासु बिना भात नरुच्ने महाअभियोग लाग्ला भन्ने डरले म यतिबेला डराईरहेको त छैन तर यसको प्रतिवाद कसरी गर्ने त्यसको चाँजो मिलाउनतिर लागें अब म ।

Search This Site:

Comment on this Article:







Related Articles