BAGAICHA.COM

Home » General » Currently Reading:

महापापको कर्म, नेटवर्क बिजिनेस

Apr 4, 2010 General 2 Comments

किन्दर राई

मलाई अति इमान्दार लागेको एकजना भाइले धेरै वर्षको अन्तरालमा फोन गरेर भन्यो दाई तपाईसँग एउटा बिजिनेसको कुरा गर्नु थियो कहिले तिर फुर्सद हुन्छ भेटेर कुरा गरौन। हो न हो सानो तिनो आफ्नै बिजिनेस गर्ने भाइले आफ्नो बिजिनेस बिस्तार गर्ने भएकोले सल्लाह गर्ने बिचार गरेछ होला, सोझो मान्छे यही सोचियो। भोलीपल्ट भेट्ने सल्लाह बमोजिम कजवेबे स्थित भिक्टारिया पार्क नजिकको एउटा कमर्सियल बिल्डिग तर्फ लिएर गयो भाईले। उ त्यही बिल्डिंगको १३ तलामा हो, भाइले देखाउँदै भन्यो। भाइको बिजिनेस त पहिले ग्राउण्ड लेभलमा थियो तेसैले शंका लाग्यो।

तर बिजिनेसको प्रकृती धेरै किसिमको हुन्छ। सामान्य उपभोग्य बस्तुको ब्यापार त कैयौ तलामाथि हुनसक्छ भने भाइको बिजिनेस पनि १३ तलामा हुनु स्वाभाविकै होला ठानें। हेर्नुहोस न दाई म यो बिल्डिंगमा कैयौ पटक आएको रहेछु तर यो १३ तलामा नपुगेको रहेछु। भाईमा लुकेको रहस्यमय प्रायश्चितको महसुस गरें मैले। भाईको बिजिनेसलाई केहि मोडिफाइड गरिएको होला, यहि सम्झें। अनि मैले भाइलाई सोधें, “भाइले यहाँ बिजिनेस गर्नु थालेको चाही कति भयो नी ?” “यहाँ लागेको त भरखर हो। उता पहिलेको मा चाही एकजना मान्छे राखेकोछु र म यता अब पुर्णकालीन भएर लाग्ने बिचार गरेकोछु, भविस्य एकदम राम्रोछ।” यसो भनेपछि मैले यतीसम्म थाहापाएँ यो बिजिनेस भाइको साबिकको भन्दा भिन्दै रहेछ।

१३ तलाको एउटा भब्य फ्लाटमा प्रबेश गर्नु भन्दा अगाडि आइडि कार्ड देखाउनु पर्दो रहेछ। कुनै एउटा सेक्युरिटी कम्पनीबाट नेपाली नै सेक्युरिटी गार्ड राखिएको रहेछ। कम्पनीको हलभित्र प्रवेश गरेपछि भाइले कम्पनीको नाम भएको साइबोर्ड देखाउदै कम्पनीको छोटो परिचय दिए। कम्पनीको नाम रहेछ डिसिएचएल। भित्तामा टाँसि रहेको ३ जनाको संयुक्त फोटो देखाउँदै यस कम्पनीको मुख्य बोस भनेर चिनाए। बोस ताइवानको र पार्टनर फ्रान्सको रहेछ। मुख्य हलभित्र प्रवेश गरिसक्दा म एउटा सानोसानो मेलामा प्रवेश गरे जस्तो लाग्यो कताकता मकाउको जुवा घर जस्तो लाग्ने जताततै मान्छेको झुण्ड झुण्ड देखिन्थ्यो र टेबुल वरिपरि गफ गरि रहेको थियो। एकजनाले २,३ जना ४,५ जनालाई पर्ढाई रहेको थियो। एक ठाउँमा भने सानोसानो लेक्चर नै भइ रहेको थियो त्यहाँ सबैजसो चाइनिजहरू थिए। दाइने पटिको तल्लो कर्नर साइडमा नेपाली र इण्डियनहरूको झुण्डहरू थियो। भुइको कार्पेट जताततै नांगो काठ देखिने गरि दोब्रिएको त कतैकतै फाटेको थियो र धुलैधुलोको पत्रहरू घिनलाग्दो गरि देखिन्थ्यो। जथाभावी राखिएका सानासाना र्‍याकहरूमा पुस्तक पत्रिकाहरू लथालिंगसँग छरि रहेका थिए। मलाई लिएर जाने भाइले अली सिनियर भाइलाई बोलायो र परिचय गरायो। त्यो नयाँ र सिनियर भाइले भेट्ने बितिक्कै सोधि हाल्यो , “तपाईलाई यहाँ आईपुग्दा कस्तो लाग्यो ?” मैले जवाफ फर्काउनुभन्दा अगाडि नै रेडिमेड जवाफ आफैले भन्यो, “सरप्राइज, अनौठो, होइन त ? हामीलाई पनि पहिले त्यस्तै लागेको थियो। तर हेर्नुस दाई, मान्छेले बुझेपछि मात्र थाहा पाउँछ यसको कमाल, पारिको चाइनिजहरू त सब यसैको लागि आइ रहेका छन्।”

बस्ने कुर्सि तर्फलाग्दा नलाग्दै मैले दुबैजनाको आँखा हेर्दै स्पष्टसँग भनि दिएँ, “यो हजारौ मान्छे डुबाएर एकाधजना मालामाल हुने नेर्टवर्क बिजिनेस हो भने चाही मलाई नभन्नु होला है।” “हत्तेरिका काँ तेस्तो हुनु, यो त एकदम राम्रो हो, यो त आफैले गर्नु पर्ने बिजिनेस हो। जति गर्न सक्यो उति फाइदा हुने।” “त्यसो भए ठिकैछ, बुझौन त” मैले भने।

 

बिजिनेसमा बिक्रि गरिने सामानः

एउटा गोलो पिंध भएको गाढा हरियो रंगको आधा लिटर जति घनत्व भएको सिसि देखाउँदै भाइले बिजिनेसको ब्याख्या शुरु गर्यो। यस कम्पनीले प्रवाह गर्ने चारवटा उत्पादनहरू मध्ये यो एउटा बत्ती पनि रहेछ। यसमा बिभिन्न १९ प्रकारको तेल मध्ये एककिसिमको हालेर बालेर केहि क्षण छोडेपछि यसको तातिएको बत्तीको टुटिले तेललाई बाफ बनाएर वरिपरि छोड्दो रहेछ। यसरी तेलको वाफ भनौ वा ग्याँसले वरिपरिका हावा सफा गर्ने, सास सँगै निलीएर शरिरभित्र पसेपछि यसले शरिरमा भएको विभिन्न रोगहरू निको पार्न सक्छ भनेर त्यस भाईले ब्याख्या गरे। आफ्नो श्रीमतिको टाउको दुखेर बेहोसै हुने रोग डक्टरले निको पार्न नसकेको यसले चट्टै निको पारेको कुरा पनि सुनाए। यसलाई दोश्रो बिश्व युद्धमा पनि अस्पतालमा प्रयोग गरेको र र्सार्स लागेको बेला हंगकंगको अस्पतालहरूमा राख्न भनेर फ्रान्स सरकारले उपहार दिएको पनि थियो रे। यसको नाम ल्याम्बर्जे रहेछ। यसलाई एसियाको अन्त कतै किन्न पाइन्दैन खाली यसै कम्पनीले मात्र बिक्रि बितरण गर्दोरहेछ। कतै नसुनिएको कहिल्यै नदेखिएको तर निकै उपयोगि(?) भनीएको जिनिस देख्‍न पाइयो, एकप्रकार राम्रै लाग्यो।

दोश्रो उत्पादनमा आयो वाइन। वाइन सबैले थाहा पाइएको मदिरा तर यो भने फ्रान्समा बनेको AOC ग्रेडको वाइन रे। यो पनि बाहिर तिर कुनै पसलमा पनि पाइन्दैन रे। दाम पनि सोधि हाले, बोतलको ३,४ सय डलर पर्छ होला भने। (पछी थाहा भयो यसलाई त ७ सय पो पर्दो रहेछ यस डिसिएचयल कम्पनिको मुल्यमा) फेरि बिजिनेसमा यो सामान पाएपछि यदी आफु नपिउने भए अरुलाई उपहार दिन सकिन्छ भनेर भाइले सुझाव पनि दिइ हाले।

त्यसपछि तेश्रो सामानको कुरा आयो, यो चाही शरिरमा मसाज गर्ने मल्हम तेल आदी हो रे। चौथो सामानहरूमा पनि महिलाहरूको सृंगारको सामानहरू रहेछ तर यो चाही बेलायतको राज घरनाले प्रयोग गर्ने गरेको यसलाई यस कम्पनीले हामी जस्ता सर्वसाधारणले समेत प्रयोग गर्न पाउँने बनाइ दिएकोकुरा सहर्षजानकारी गराए भाइले। यो पनि अन्त कतै बजारमा किन्न पाइन्दैन रे।

भनेपछि चार किसिमको सामानमा ब्यापार गर्नु पर्ने रहेछ। १) स्वस्थ्य रहन मदत गर्ने ल्याम्बर्जे भन्ने बत्ति, २) मदिरा वाइन, ३) मसाज गर्न हुने तेल वा मल्हम र ४) महिलाहरूको श्रृगारको साधन।

यी माथीका कुनैपनि उत्पादनहरू हाम्रो दैनिक जिवनमा अत्यावस्यक साधनमा पर्दैनन्। मुल्यको पनि विस्वास नभएकोले यसलाई मैले “फकाउनी सामान” भन्न मनासिब ठानेकोछु। तर यसको बजारमा माग हुन्छ भने ब्यापार गर्नै हुँदैन भन्ने पनि हुँदैन। यदी मुल्य र्सवसुलभ किसिमको छ भने सामान्य उपभोक्तहरूले पनि उपयोग गर्ने नै छन्। त्यसैले १३, १४ हजारको जागिर छोडेर फेरि बोसले बोलाउँदा बोलाउँदै पनि यसैमा फुल टाइम भएर लागेको भन्ने भाइको प्रशंगहरू रमाइला थिए। तर मेरो जिज्ञासा भने एउटै थियो यो बिजिनेसमा लाग्दा लगानी के कसरि कति गर्नु पर्ने हो। मलाई भने लागेको थियो यतिका सोझो र इमान्दार भाइले ल्याएको हुनाले लगानी खासै लगाउनु पर्ने होइन होला, लगाउनै परेपनि यसको साझो-सोझो बिक्रि बितरण हुँदो हो, कमिशन खानु पर्दो हो।

 

लगानी र खटाईः

यहाँ तीन किसिमको लगानी हुँदो रहेछ। त्यसमध्ये २० प्रतिशत कमिशन भएको सबभन्दा सानो लगानीमा ५ हजार तिर्नु पर्ने रहेछ र यसवापत बिजिनेस लाइसेन्स र माथि उल्लेखित सामान पाइन्दो रहेछ। ३८ प्रतिशत कमिशन सहितको मध्यम किसिमको बिजिनेसमा ७० हजार लगानी गरेर ९० हजार बराबरको सामान पाइंदो रहेछ र ५० प्रतिशत कमिशन सहितको तेश्रो किसिमको बिजिनेसमा ३ लाख ३० हजार लगानी पर्दो रहेछ। यी मोटामोटि प्रावधान बाहेक अन्य प्रावधान र नियमहरू थुप्रै पनी रहेका छन्।

अब आयो यस बिजिनेसमा पसेर लाइसेन्स होल्डरहरूको काम। प्रत्येक होल्डरले आफुभन्दा मुनी ५ हजार तिर्ने ५ जना अन्य मान्छे खोज्नेछन्। एकजनाले ५ जना मान्छे खोजेपछि प्रत्येकबाट २० प्रतिशतको दरले एकएक हजार गरि आफ्नो पाँच हजार उकास्नेछन्। एबं रितले ५ जनाले २५ जना, २५जनाले पनि १२५ जना खोज्नेछन्। ति १२५ जनाले पनि ५,५ जनाको दरले ६२५ जना खोज्नेछन्। यसरि आफुभन्दा मुनी एउटा पिरामिडिकल रुप बन्दो रहेछ। यती भनेपछि मैले उहाँहरूलाई सोधें “यो त नेटवर्किंग बिजिनेस नै भयो नी होइन र ?”

भाईहरू पनि के कम, गुरुहरूबाट हस्तान्तरण हुदै आएको पुर्वतयारी जवाफ दिइ हाले, “होइन दाइ नेर्टवर्क भनेर मात्र हुदैन नी, यिनीहरूको पनि आ-आफ्नै प्रकृति हुन्छ नी। आखेरि यहाँ एउटा मःमः पसल खोलियो भने आफ्नो साथी भाइहरूलाई यसो फोनबाट भनिन्छ नी, मैले मःमः पसल खोलेको छु, यताउती साथीभाइहरूलाई पनी खबर गरेर आउने गर्नु है। , यो पनि त एक प्रकार नेटवर्किंग नै त हो नी, होइन र ? ” तर्कको लागि त हो भन्नै पर्यो।

उहाँहरू श्रीमती सहित पुर्णकालिन रुपमा यसैमा लागि परेको र अब चाँडै प्रति महिना ४० हजार कमिसन आउने लागेको कुराको जानकारी दिए मलाई लिएर जाने भाइले। उहाँहरू बिच म कतिको नजिकको मान्छे वा कतिको बिश्वासिलो मान्छे भन्ने कुरा निकै क्लीयर भएर मात्र कुराको थालनी गरेको त्यो भाइले मलाई बिजिनेसको बारेमा सम्झाउँदा प्रयोग गरेको खेस्रा कागज भने लिएर जान दिएनन्। तर आफ्नो भने आइडि नम्बर समेत सम्पुर्ण बिबरण लिएर राखे।

 

आ-सामको सानो कथाः

यस बिजिनेसको बारेमा चर्चा गर्ने क्रममा अलि जान्ने भाइले यो एउटा कथा पनि सरर्र सुनाउन भ्यायो। कथा यस्तो छ : मुख्य भुमि चिनको आ-सामले हंगकंगको केटासँग बिहे गरेपछि एउटा बच्चा पायो। तर केटा काम नलाग्ने बराला भएकोले उनले निकै दुख पायो। बच्चा र आफ्नो पेट पाल्न एउटा रेष्टुराँमा भाडा माझ्ने काम गर्न थाल्यो। यसै बिचमा ५ हजार लगानी गरेर नेटवर्किग बिजिनेस शुरु गर्ने र खट्न सके बिस्तारै मालामाल हुदै जान सकिने सल्लाह लिएर एकजना मान्छे उसको सर्म्पर्कमा आयो। उनले बडो दह्रो मुटु लिएर ५ हजार लगानि गर्‍यो र आफ्नो साथिहरूलाई पनि लाग्न भन्यो। तर उनको साथिहरूले उनको कुरा सुनेन। केहि महिना पछि उनको कमिशन महिनाको ३०,४० हजार हुन थाल्यो। यसै बिचमा उनी फेरि अधि भाडामाझ्ने भएर काम गरेको रेष्टुराँमा ग्राहक भएर आयो। तर उनका साथिहरूले बिजिनेसमा डुबेको हुनाले त्यहाँ गएको होला भन्ठानेर जिस्क्याउन थाल्यो “आ-साम बिजिनेस गरिस त?” भनेर। एकपछि अर्कोले यसरी जिस्क्याए पछि उनले अन्त्यमा प्रति महिना ३०,४० हजार कमिशन पाएको बैंकबुक देखाई दियो। यसपछि उनका ति सबै जिस्क्याउने साथीहरूको मुखमा बुजो लाग्यो र उनको सामुन्नेमा उभिन पनि सकेन।

यो कथा भनि सकेपछि त्यो भाइले भनेको थियो कि आफुले ५ हजार तिरेर लाइसेन्स र सामान लिए पछि यो पाँच जनालाई आफ्नो मुनी ल्याउनु पाउनु भनेको आफुसँग भएको पाँचवटा मणि (Ruby) आफ्नो मान्छेलाई बाँड्नु जस्तो हो। यसरी मोटामोटि कुरा बुझिसकेपछि बाँकी कुराहरू अर्को पटक बुझ्ने भनेर म त्यहाँबाट हिडेँ। त्यसपछि त्यस भाइले दिनमा एउटा फोन र एसएमएस पर्ठाई रहे। तर मैले टार्दे गएँ। तर त्यो भाइले भनेको कथाले मलाई यो लेख लेख्‍न प्रेरित गरेको हुनाले लेख्न बसें।

ल, ठिकै छ यो बिजिनेस राम्रो हो भने, हामी सबै मान्छे यसमा किन नलाग्ने। तर अब हेरौं यसो गर्दा के हुन्छ।

 

सबैले यस बिजिनेसमा लागे के हुन्छ ?

सर्बप्रथम तपाई एकजनाले ५ हजार डलर तिरेर सामान सहित एउटा बिजिनेस लाइसेन्स लिनुहुन्छ। त्यसपछि तपाईले ५ जना मान्छे खोज्नुहुनेछ र पाँचहजार सावाँ पनि लिनुहुनेछ। त्यो ५ पाँचजनाले फेरि २५ जना खोज्नेछन्। उनिहरूलेपनि सावाँ उकास्नेछन् र तपाईलाई पनि केहि कमिशन आउनेछ। त्यो २५ जनाले १२५ जना खोज्नेछन्। १२५ जनाले ६२५ जना खोज्नेछन्।

एवं रितले, यदि यो बिजिनेसमा संसारमा भएका सम्पुर्ण ६ अरब मान्छेले सहभागि जनायो भने पन्ध्रौं स्टेपमा १ अर्ब २२ करोड मान्छेहरू सावाँ उकास्ने र कमिशन खानेहरूमा पर्दछन् भने बाँकी ३ अर्ब ७८ करोड मान्छेहरू ५ हजार तिरेर “फकाउनी सामान” र लाइसेन्स मात्र लिएर बसेको अवस्था हुनेछ। यसपछि त संसार भरिका मान्छे नै सकिएको हुनाले कसैले कसैलाई बेच्ने अवस्था नै रहँदैन। यदि पहिले किनेर माथिल्लो अवस्थामा पुगेकाहरूले पनि पुनः ५ हजार तिरेर सहभागि भई तलकाहरूलाई उकास्ने प्रयत्न गरेर यसलाई चक्रिय प्रणाली अपनायो भने एकपटक यस्तो बिन्दु आइ पुग्नेछ कि संसार भरिको सबै पैसाहरू यस कम्पनीमा जम्मा हुनेछ र यसको उत्पादनले सबैको घर भरिनेछ। माथिल्लो तहकालाई केहि कमिशन बाँडेर यी सबैको रकमहरू यसको मालिकको कम्पनीमा केन्द्रिकृत भएर जम्मा हुनेछ।

यसपछि आ-सामको कथा यहाँ आएर बल्झिन्छ। अब उनको कमिशन आउन बन्द हुन्छ। पहिले कमाएको पैसा सकिन्छ। उनी फेरि त्यही पहिले आफुले काम गरेको रेष्टुरामा काम खोज्दै जान्छीन। पहिले उनले कमाएको देखेर त्यस रेष्टुरामा काम गर्ने सबै कामदार कर्मचारीहरूले ५, ५ हजार तिरेर यस बिजिनेसमा लागेका हुन्छन्। यसमध्ये एकदुइ जनाको मात्र सावा उठेको हुन्छ र बाँकि सबैजना त्यही ३ अर्व ७८ करोड भित्र पर्दछन्। ५ हजार खर्च गरेर त्यही लाइसेन्स त प्राप्त गरेका हुन्छन् कसैले कसैलाई आफ्नो मार्फ बिजिनेसमा तान्नु पर्ने मान्छे पाउँदैन। बिजुलीको बिल तिर्न धौधौ भएकोबेला त्यहि ग्यस फाल्ने बक्ती, चिया पिउन नसकेको बेला त्यही कहिले काँही मात्र पिउँने गरेको वाइन, नुहाउने साबुन नभएको बेला अनेकका सृगारका सामानहरू घरमा भित्रिएको हुनेछ। उनिहरू लगायत ३ अर्व ७८ करोड मान्छेको घरमा यो हालत हुन्छ। अब त्यहाँ भएका सबैले उनलाई गुनासो गर्दछन र उनको पालो उनिहरूको अगाडि झोक्राएर बस्ने हुन्छ।

 

दिइने सामान, माछालाई बल्छिमा चारोः

यो र अन्य यस्तै बिजिनेसमा दिइने जुन सामानहरू हुन्छन् हाम्रो दैनिक जिवनमा अनिवार्य होइनन् र यसमा तोकिएको मुल्यमा पनि विस्वाश गर्न सकिने आधार हुदैन। त्यसैले यसलाई फकाउनी सामान भन्दा हुन्छ। वाईन नै पिउनुपर्छ भने ७ सय डलर बोतल हालेर पिउँनुपर्छ भन्ने छैन। अर्थशाश्त्रको भावना अनुसार जति सक्दो सिमित साधनहरूद्धारा नै आवस्यकताको पुर्ति गरिनु पर्छ भन्ने सोचाई जस्तो सुकै सामान्य मान्छेमा परेको हुनाले यस सामानको मुल्य र उपादेयता देखेर नै मान्छेहरू पन्छिनेछन्। यो सामान्य आर्थिक अवस्थाको मान्छेको लागि बिलासिताको सामान नै पर्दछन्। यो बिजिनेस केहि गरि पनि नाफामा जान नसकेपछि वा प्रचारमा आउन नसकेपछि बिना बिज्ञापन प्रचारमा ल्याई बिक्री गरेर मालामाल हुने एउटा तरिका मात्र हो। जुन बस्तुलाई बजारमा बिक्री गरिन्दैन त्यसलाई मात्र यस्ता नेटवर्किग बिजीनेसमा बिक्री गर्नुको अर्थ के हो ? स्पष्ट छ, यसो गर्दा यसको मुल्य जति तोके पनि भयो। जुन बस्तुलाई बजार प्रतिस्पर्धा नै नगरि बिक्री गर्न सकिन्छ भने १० डलरको सामानलाई १०० डलरको भनिदिँदा कसले थाहा पाउँछ र ? सामान्य अवस्थामा यसरी यहाँ ५ जना सहाभागिहरू मध्ये एकजनाको सावाँ उक्सेको हुन्छ भने बाँकिहरूले “अनिच्छित” बिलासितको सामानमा बिजिनेस शुरु भएको भ्रममा “अनुपयुक्त मुल्य” तिरेर बसेका हुन्छन्। होइन भने यस्तो कम्पनीहरूले किन मान्छेलाई चाहिने आधारभुत र अनिवार्य समानको बिक्री गर्दैनन् ? खाद्यन्न, लत्ताकपडा आदिको यस्तो बिजिनेस गरेर देखाइदिए हुने थियो नि यदी सही कर्म गर्ने हो भने। वास्तवमा यहाँ प्रयोग भएको जे जस्ता समानहरू छन, यो माछा समाउनलाई बल्छिमा राखिएको चारो मात्र हो जहाँ ८० प्रतिशत माछाहरू मर्छन।

 

चलाक र अगाडिकाले मात्र नाफा गर्छन।

यस्ता प्रायः सबै बिजिनेसमा आफ्नै मान्छेलाई ढाँट्न सक्ने र अगाडि परेकाले मात्र सावाँ उकासेर नाफामा जान सक्छन्। आफ्नो ५ हजार लगानि भई सकेपछि यसलाई उकास्नलाई मात्र भएपनि इमान्दार मान्छे पनि भए नभएको कुराहरू लगाएर झुट बोल्न बाध्य हुन्छन्। यसमा तपाई आफ्नो पुरानो इमान्दारीताको छवि तपाई आफैले थाहै नपाई गुमाइ सकेको हुनु हुनेछ अरु कोहि होइन आफ्नै घरको मान्छेबाट शुरु गरेर। आफ्नै मान्छेले भनेको मात्र पत्याउने सम्भावना भएकोले आफ्नोले आफ्नैलाई यस्तो ब्यावसायमा तान्ने सम्भावना रहन्छ। त्यसमा पनि सिनियरहरूले आफुले ती सामानहरू प्रयोग गरेको र एकदम लाभदायक भएको कुरा भन्न चुकाउँदैनन्। तपाई हामीलाई फुर्क्याएर यति माथि उचाल्छन् कि मानौं हामी बिजिनेस नै नथालि कन करोडपति भइसकेकाछौं। तर यो वास्तवमा आफ्नो फसि सकेको पैसालाई कसरि उकास्ने हो भनेर गरेको एउटा बेदना पनि हो उसको। कसैलाई कुनै पनि ब्यावसायमा लगानी गर्न लगाउनुभन्दा अगाडि यसको सवल पक्ष र जोखिमी पक्ष दुबै बताउनुपर्ने कानुनी प्रावधान हुन्छ तर यहाँ यसको सवल पक्षमात्र उरालेर मान्छेलाई बहकाइन्छ तर यसको कुनैपनि जोखीमी पक्ष बताइएको हुदैन। यो बास्तवमा एउटा कानुनी अपराध पनी हो।

 

सरकारले किन प्रतिबन्ध लगाउँदैन ?

हजारौंको रकमले एकाधजना मोटाउने पिरामिडिकल नेर्टवर्क बिजिनेसलाई सबै देसले मान्यता नदिए पनि केहि देशले मान्यता दिइ रहेकोछ। अधिकांश जनता ठगिन्छन भन्ने जान्दा जान्दै पनि करको दायरामा आइसकेपछि कार्यवाहि गर्नुपर्ने दह्रो कानुनी आधार नपाएकोले पनि यसो भएकोछ। वास्तवमा यो पुँजिवादको चरम बिकृती हो। देशमा यदी सबैले बहुबिवाह गर्छन भने बहुबिवाह बिरुद्धको कानुन ल्याउन आवस्यक नठानिए झै यस बिजिनेसमा पनि जसरी हुन्छ कमाउको अवधारणा भएको देशमा यस्तो भएको हुनसक्छ। त्यसमा पनी कसैलाई कन्भिन्स् गरेर बिजिनेसमा लगाउँदा ठिकबेठिक छुट्याउने काम आफ्नै हो भनेर सरकार र कानुन नै मौन भएको छ। तर र्सवसाधरण जनतामा यस लगायत सबैकुरामा निर्णय गर्ने पुर्ण क्षमता हुदैन र यो एउटा आधुनिक ठगि अपराध हो भनेर पुर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्दछ। यसतर्फसमाजशास्त्रि, कानुनबिद र अर्थबिदहरूले गहण भएर सोच्नु आवस्यक छ। जुवा तास जस्तै प्रतिवन्ध लगाउनु पर्दछ।

अन्त्यमा सबैको हविगत एकै हो।

यसरी मालामाल भइने भनेर भ्रामक प्राचरमा आएका यस्ता नेटवर्किग बिजिनेसहरू पहिले पनि थुप्रै थिए र फेरि पनि आउनेछन्। सुनिदैछ हंगकंगको नेपाली समुदायको बिच यो र अर्को युनिटिलाइफ(Unity life) भन्ने अर्को नेर्टवर्क बिजिनेस प्रचारमा आइ रहेकोछ। यिनीहरूको प्रकृति फरक भएपनि मुलमन्त्र एउटै हो। झट्ट हेर्दा एकदम राम्रो लाग्दछ। यसको कमजोरि थाहा पाउन गार्हो हुन्छ , किनभने हामिलाई भनिएको नै हुदैन। तर जब उनिहरूले राम्ररी फकाउन थाल्छन यसैबाट थाहा पाउनु पर्ने हुन्छ यो गतिलो काम होइन। आजसम्म गतिलो काममा कसैले कसैलाई कन्भिन्स गर्नु र फकाउनु पर्छ जस्तो लाग्दैन। हाल सम्मको अनुभवलाई हर्ेदा यो सिमित अवधिकोलागि मात्र टिकेकोछ। झुलुक्क झुल्केर हर्राई हाल्ने यस्ता बिजिनेसले केहिलाई केहि अवधिकोलागि केहि माथि उठाएको जस्तो देखिएपनि अन्त्यमा सामान्य जिवनमा पहिलेको आफ्नै पेशामा फर्किनु परेको कट्टुसत्य हाम्रो अगाडि छँदैछ। गोल्ड क्वेस्टमा रातारात धनी हुनलागेको आभास पाएर अब चाँडै अमेरिकामा घर किन्ने हैसियत हुनलागेको नेपालीहरू पुनः कुल्ली काममा फर्केको उदाहरणहरू हाम्रै अगाडि छन्।

 

उपसंहारः

यो वा यस्तै नेर्टवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरू, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल (Bottom level) कोहि न कोहि त परि नै हाल्छन्। सबभन्दा तल पर्नेको सख्याँ सामान्यतः यहाँ माथिको प्रकृतिको बिजिनेसमा ८० प्रतिशत हुन्छ। तल परेका यी ८० प्रतिशतलाई ठगि गरेर आफु चाँडै धनि बन्ने सपना त्यागेर सर्त्कर्ममा लाग्नुहोस र आत्मालाई सुखी र खुसि राख्नुहोस। आगे तपाईको इच्छा, तपाई एकाधजना करोडपति भएर बस्नोस म चाही सेक्युरिटि गार्ड नै गर्न तयार छु। तपाईलाई गार्डको आवस्यक परेमा पनि मलाई चाही यो हाम्रो बिरोधी हो भनेर जागिर नदिए नदिनुस, बरु भोकै मरुँला।

Search This Site:

Comment on this Article:







Related Articles